स्वीकृत कार्यक्रम लक्षित समयमा सम्पन्न गर्न प्रमुख शाक्यको बिभागीय प्रमुखहरुलाई आग्रह

आन्तरिक समन्वयलाई बलियो बनाउने संयन्त्र आवश्यक

 

DSC_3990चन्द्रमणि भट्टराई
कार्तिक ०५

काठमाडौं । मंगलबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बिभागीय प्रमुखहरुसँग बैठक राखेर नगर सभाबाट स्वीकृत कार्यक्रमलाई लक्षित समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ । हामीले चाह्यौ भने सक्छौं । चीनका महामहिम राष्ट्रपतिको नेपाल भ्रमणका समयमा प्रमाणित गरेका छौं । प्रमुख शाक्यले भन्नुभयो — तपाईहरु सक्षम हुनुहुन्छ । गर्न सक्नुहुन्छ । आत्मबिश्वाश राखेर नगर सभा र कार्यपालिकाबाट स्वीकृत कार्यक्रमलाई तीब्रताका साथ कार्यान्वयनमा लानुस् । केही द्विबिधा भए मलाई सोध्नोस् । हामी नेपाल पर्यटन बर्षको पूर्व सन्ध्यामा छौं, उहाँले थप्दै भन्नुभयो — नेपाल पर्यटन बर्ष सफल बनाउन काठमाडौंको ठूलो योगदान हुनेछ । पर्यटक काठमाडौं आइपुग्ने बित्तिकै नेपालको स्वच्छ छवि, सुरक्षित बास र आनन्ददायक यात्राको महसुस गर्न सकुन् ।

प्रमुख शाक्यले प्राप्त उपलब्धी जोगाउने कुरामा जोड दिँदै भन्नुभयो — राष्ट्रपति भ्रमणका क्रममा हामीले सडकलाई जस्तो बनायौं । त्यसको अवस्थामा गिरावट आउनुहुँदैन । विगतका उपलब्धी जोगाउन र स्वीकृत कार्यक्रम कार्यान्वयनमा ल्याउन तपाईलाई कस्तो समस्या छ, भन्नोस् ।

बैठकमा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले, ३ दिनमा तीनकुने पार्क बनाउनु र टेकु ट्रान्सफर स्टेशनलाई शुन्य फोहोर बनाउनुलाई तत्कालका उपलब्धीका रुपमा चर्चा गर्नुभयो । यस्ता धेरै काम महानगरले गरेको छ । ती कामलाई संस्थागत गर्न तपाईमा जाँगर चाहिन्छ । जागिर खानका लागि होइन आत्मसन्तुष्टि पाउनका लागि काम गर्नुभयो भने मेयरले जनतासँग गर्नुभएका प्रतिबद्धता पनि पूरा हुन्छन् । जनताका अपेक्षा पनि पूरा हुन्छन् । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले — चीनका राष्ट्रपतिको भ्रमणपछि प्रधामन्त्रीले सरोकारवाला मन्त्रालयका सचिवहरुसँग गरेको बैठकको प्रसङ्ग सुनाउँदै भन्नुभयो — काममा खटिने तपाईहरु सबैलाई प्रधानमन्त्रीले धन्यवाद भन्नुभएको छ । एअरपोर्टदेखि सोल्टीमोड, त्रिपुरेश्वरदेखि शितलनिबास र दरबारमार्ग आसपास क्षेत्र सधै दुरुस्त राख्नु पर्नेमा उहाँको जोड छ ।

बैठकमा बिभागीय प्रमुखहरुले बिभागले सम्पादन गर्नुपर्ने काम, ती काम अघि बढाउन तत्काल देखिएका समस्या र समाधानका उपायका बारेमा आफ्नाआफ्ना धारणा राख्नुभएको थियो । त्यस क्रममा महानगरका कामलाई चुस्त दुरुस्त तथा छिटो छरितो बनाउन संगठन संरचना र जनशक्ति व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने, जिम्मेवारी लिएर काम गर्ने कर्मचारीको आत्मबल बलियो हुने संयन्त्र बनाउनु पर्नेलगायतका सुझाव प्राप्त भएका थिए । त्यस्तै बिभागहरुसँग हुने कार्य सम्पादन सम्झौताका शर्त र यसको परिणाम तथा सूचकका आधारमा मुल्याङ्कन पद्धतिको बिकास गर्ने जस्ता बिषय पनि उठेका थिए ।

 

 

 

 

यसमा तपाइको मत