चीनका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौं महानगर र नाञ्जिङ् नगरबीच भगिनी सम्बन्ध

संस्कृति र पर्यटन, बिकास निर्माण र व्यवस्थापन, उद्योग र वाणिज्यलगायतका क्षेत्रमा आपसी सहयोग आदान प्रदान हुने


IMG_5822चन्द्रमणि भट्टराई
असोज २६

 

काठमाडौं । आज नेपालको काठमाडौं र चीनको नाञ्जिङ् नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । चीनका राष्ट्रपति सि चिनफिङ् र नेपालका प्रधानमन्त्री के. पि. शर्मा ओलीको उपस्थितिमा काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नाञ्जिङ् म्युनिसिपल कमिटिकी सेक्रेटरी जेफाङ् एङ्बुआले हस्ताक्षर गर्नुभएको सम्झौता पत्र महानगरका प्रमुख शाक्य र नेपालका लागि चीनका राजदूत छोउ यान्छीबीच आदान प्रदान भयो । दुई नगरकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्तावलाई नेपाल सरकारको गएको असोज २३ गते बिहीबार बसेको मन्त्री परिषद्को बैठकले अनुमोदन गरेको थियो ।

सम्झौताबमोजिम दुई नगरकावीचमा संस्कृति र पर्यटनको संरक्षण तथा प्रबर्धन, बिकास निर्माण र बिकास व्यवस्थापनमा अनुभव आदान—प्रदान, उद्योग र बाणिज्य, शिक्षा, स्वास्थ्य, अर्थ बाणिज्य लगायतका क्षेत्रमा क्षमता बिकास एवं प्रर्वधनात्मक कार्यक्रम सञ्चालन हुनेछन् ।

नाञ्जिङ् र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने बिषयमा गएको असार १० गते आशय पत्रमा हस्ताक्षर भएको थियो । त्यस्त गएको इन्द्रजात्रा अवलोकन गर्न आएका बेला नाञ्जिङ् नगरको अन्तरराष्ट्रिय मामिला कार्यालयका उप महानिर्देशक झ्याङ् बिनले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले नेतृत्वको अधिकारीहरुसँग कर्मचारी स्तरमा भेट गरेर भगिनी सम्बन्ध स्थापना गर्न तय गर्नुपर्ने प्रक्रिया, प्रस्तावित आपसी सम्बन्ध स्थापनाका आधारहरु र सहयोगका क्षेत्रका बिषयमा कुराकानी गरेको थियो ।

आजै सम्झौता पत्रमा उल्लेख भएका सहमतिबमोजिमका काम गर्ने सम्बन्धमा चीनको जिङ्सु प्रोभिन्सका सिपिसि स्ट््याण्डिङ् कमिटिका सदस्य तथा नाञ्जिङ् म्युनिसिपल कमिटिका सेक्रेटरी झान जिनगुइहुवा नेतृत्वको प्रतिनिधि मण्डलले महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसँग भेटेर सम्झौतामा उल्लेख भएका बुँदा कार्यान्वयनका बिषयमा कुराकानी गर्नुभयो । सम्झौताअनुसार हामी काठमाडौंको बिकासमा सघाउन चाहन्छौं । सम्झौता भइसक्यो अब तपाईहरु एकपटक नाञ्जिङ् आउनोस् । त्यतै बसेर हामी कार्यक्रम बनाऔं, सेक्रेटरीले निमन्त्रणा गर्नुभयो । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले — सम्झौतालाई तत्काल कार्यान्वयनमा लगिने बताउनुभयो ।

नाञ्जिङ्सँग सम्बन्ध स्थापना भएपछि काठमाडौंसँग भगिनी सम्बन्ध स्थापना हुने चीनका नगरको संख्या ६ पुगेको छ । यसअघि ल्हासा, सियान, छेन्दु, सेन्जेन र लाञ्जाउसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ ।

चीनका राष्ट्रपति सि चिनफिङ्ले गर्नुभएको नेपालको २ दिने राजकीय भ्रमणका क्रममा भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यससँगै नेपाल र चीनबीच १८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्ज गरी २० वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसरी भएका समझदारीमा टोखा – छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाडौं र तातोपानी—काठमाडांै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालय सञ्चालनलगायतका विषय समेटिएका छन् । पूर्वाधार विकासमा केन्द्रीत समझदारीमा उर्जा तथा जलबिद्युत, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माणसँगै लगानीका क्षेत्रहरु समेटिएका छन् ।

तस्विर ः प्रदिपराज वन्त/ रासस

 

 

यसमा तपाइको मत