पर्व लक्षित अनुगमनको क्रम निरन्तर चल्ने

बिकास क्रमश ःहुन्छ, तर उपभोक्ता हितमा तत्काल असर हुने कुरामा आँखा चिम्लिन मिल्दैन — उपप्रमुख खड्गी श्रेष्ठ

 

DSC_9373चन्द्रमणि भट्टराई
असोज १०

काठमाडौं । सहरी सुरक्षा, बिकास वितरण र व्यवस्थापन महानगरका प्राथमिक काम हुन् । यीमध्ये पनि जनताको दैनिक जीवनसँग जोडिएका सवालमा हामीले आँखा चिम्लिन मिल्दैन, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शुक्रबार बसेको बजार अनुगमन समितिको बैठकमा भन्नुभयो — कसैलाई खाँचो छ भन्दैमा मुल्य र गुणस्तरमा ठगी गर्न मिल्दैन । पूर्वाधार बिकास क्रमशः हुँदै जान्छ तर जनचासोका बिषयमा तत्काल सावधानी अपनाउनुपर्छ, उहाँको भनाइ थियो ।

पर्वलगायत अवसरमा मात्र अनुगमनकर्ता सक्रिय हुने र अन्य समयमा निष्क्रिय देखियो भने उपभोक्ताहरुले अनुगमनलाई बिश्वाश गर्दैनन् । त्यसैले अब एक बर्षको नियमित तालिकामा बजारमा भएका हरेक चीजको निरीक्षण गरौं, उपप्रमुख खड्गी श्रेष्ठले जोड दिनुभयो ।

बैठकमा वाणिज्य तथा आपूर्ति बिभागका सहायक सूचना अधिकारी दीपक पोखरेलले बजार गरिउका १० वटा अनुगमनमध्ये ७ वटामा कुनै न कुनै प्रकारका त्रुटी भेटिएको उल्लेख गर्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजम तत्काल जरिवाना गरिनुपर्ने बताउनुभयो । ऐनको दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट बस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि बढीमा ३ लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ । यसरी गरिएको जरिवाना सम्बन्धि सूचना ३ दिनभित्र बिभागमा दिए पुग्छ । बैठकमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले — तत्काल प्रयोगशालाको सेवा लिनु पर्ने वा नपर्ने अवस्था एकिन गरेर अनुगमन गर्दा प्रभावकारी हुने बताउनुभयो । कतिपय बेला प्रयोगशालाको प्रतिवेदन आइपुग्ने बेलासम्ममा बस्तु बितरण मात्र होइन उपभोग पनि भइसकेको हुन्छ । ती सामानलाई त्यतिधेरै समय रोकेर राख्न पनि मिल्दैन, सुवेदीको भनाइ थियो । यसरी गरिने अनुगमनमा सरोकारवाला सबै हुनुपर्छ, ती सबै निकायले प्राप्त गरेको अधिकार प्रयोग गरेर बजार व्यवस्थापन गर्नुपर्छ, बैठकमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले धारणा राख्नुभयो ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाईं संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोग स्थल लगायतका ठाउँहरू वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यवसायिक कारोवारको दर्ता, नविकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनलगायतका व्यापारिक क्रियाकलाप हेरिन्छ ।

बैठकपछि आज सुन्धारा क्षेत्रमा भएका होटल, रेष्टुरेन्ट तथा खाजा घरको अनुगमन गरिएको थियो । त्यस क्रममा सरसफाइ, दर्ता र नविकरण, पोशाक, खाद्यबस्तुको गुणस्तरमा कमजोरी पाइयो, महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भन्नुभयो — सुधारको मौका दिएर छोडियो । अबको अनुगमनलाई सुध्रिने मौका दिनेभन्दा जिम्मेवारी के थियो भन्ने कोणबाट बढी हेरिने भण्डारीको भनाइ छ ।

 

 

यसमा तपाइको मत