मेयर शाक्यसँग जापानीज राजदूतको शिष्टाचार भेट

आगमछेँ पुननिर्माण, फोहोर व्यवस्थापन, नेपाल पर्यटन बर्ष २०२० र इन्द्रजात्राको गरिमा कुराकानीका मुख्य बिषय

DSC_7726चन्द्रमणि भट्टराई
असोज १

काठमाडौं । नेपालका लागि जापानको राजदूत मासामिचि साइगोले बुधबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रिय सभा गृहको बिशिष्ट कक्षमा उहाँहरुबीच करीब आधा घण्टा कुराकानी भएको थियो ।

DSC_7739कुराकानीका क्रममा मेयर शाक्यले — जापान र नेपाल दुई देशसँगै जापान र नेपालका नगर—नगरबीचको सम्बन्धमा असर हुने कुनै पनि काम कसैबाट नहुने बताउनु भयो । राजदूत साइगोले — जापान सरकारको सहयोगमा बसन्तपुरमा निर्माणाधीन अबस्थामा रहेको आगमछेँ पुननिर्माणका बिषयमा फरक—फरक ठाउँबाट फरक—फरक कुरा आएपछि आफू अन्यौलमा रहेको बताएपछि मेयर शाक्यले आपसी सम्बन्धको कुरा उठाउनुभएको हो । आगमछेँसँग सम्ब्न्धि राख्ने पक्ष धेरै हुनुहुन्छ, त्यो सत्य हो । उहाँहरु सबैलाई समन्वय गर्ने काम महानगरले गर्नेछ, मेयर शाक्यले राजदूत साइगोलाई आश्वस्त पार्नुभयो । आगमछेँ पुननिर्माणका सम्बन्धमा प्राबिधिक समूहले काम गरिरहेको छ । उहाँहरुको सुझाव प्राप्त भएसँगै आपसी समन्वय गरेर, आफ्नो पदावधि सकिनु अघि नै आगमछेँको पुननिर्माण पूरा गर्ने मेयर शाक्यको भनाइ थियो ।

भेटका क्रममा राजदूत साइगोले — आगमछेँसहित काठमाडौंमा भएका सांस्कृतिक मूर्त अमुर्त सम्पदाबाट आफू प्रोत्साहित रहेको बताउनुभयो । इन्द्रजात्राको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो — कुमारी रथ यात्रा गर्दा रथबाट फूल फाल्ने रहेछन् । यसरी फालिएको एउटा फूल मैले पनि भेटेको छु । फूल अलि ओइलाएको छ तर त्यसलाई जोगाएर राखेको छु । त्यसै प्रसङ्गमा उहाँले भन्नुभयो — जात्रा अवलोकन गर्न हाम्रो देशको मात्सुमोतो नगरबाट प्रतिनिधि मण्डल आएको थियो । अब नेपाल पर्यटन बर्षमा पनि जापानीजहरुलाई नेपाल आउन सहजीकरण गर्छौं ।

भेटका क्रममा राजदूत साइगोले — जापानको वातावरण मन्त्रालयले आयोजना गर्ने फोहोर व्यबस्थापन सम्बन्धि प्राबिधिक कार्यक्रममा निम्तो दिनुभयो । यसरी निम्तो दिँदै उहाँले थप्नुभयो — काठमाडौंको फोहोर व्यवस्थापनमा प्रबिधिको प्रयोग गर्न हामी इच्छुक छौं । राजदूतको यस्तो प्रस्ताव सुनेपछि मेयर शाक्यले भन्नुभयो — यस अघिका भेटमा पनि मैले भनेको छु । फोहोर व्यवस्थापनमा लगानी व्यवस्थापन गर्ने काम अहिले लगानी बोर्डले गरिरहेको छ । त्यहाँबाट टुङ्गो आएपछि हामी सहकार्य गर्न सक्छौं कि सक्दैनौं बल्ल भन्नु सकिन्छ । अहिले भन्न सक्ने अवस्था छैन ।

भेटका क्रममा कार्यपालिका सदस्यहरु तथा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 

यसमा तपाइको मत