इन्द्रजात्रा अवलोकन गर्न अन्तरराष्ट्रिय ३ सहरका मेयर काठमाडौंमा, २ जना भोलि बिहान आउने

यस पटकका इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना सहभागी हुने

DSC_2599

थिम्पुका मेयर किन्ले दोर्जे र उहाँकी धर्मपत्नी त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको बिशिष्ट कक्षबाट बाहिरिँदै

चन्द्रमणि भट्टराई
भाद्र २६

काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न आज अन्तरराष्ट्रिय ३ वटा नगरका प्रमुख तथा उपप्रमुख काठमाडौं आइपुग्नुभएको छ । आज बिहान ११ बजे चीनको ल्हासाका मेयर गुहेओ गुहेओ र लाञ्जाउ कमिटि अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङ् प्रतिनिधिमण्डल सहित अन्तरराष्ट्रिय बिमानस्थलमा आइपुग्नुभएको थियो भने १२ बजे भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे आइपुग्नुभएको थियो । ल्हासा नगरबाट मेयरसहित ४ जना, लाञ्जाउबाट उपाध्यक्षसहित ६ जना र थिम्पुबाट मेयरसहित ३ जनाको टोली काठमाडौं आएको हो । उहाँहरुलाई महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलको बिशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो । त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले इन्द्रजात्राको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षमा जानकारी गराउनुभएको थियो ।

DSC_2644
बिमानस्थलमा पाहुना व्यवस्थापनका लागि खटिएका अधिकारीहरु

जात्रा अवलोकनका लागि भोलि बिहान भारतको नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा र बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकनको नेतृत्वमा टोली काठमाडौं आइपुग्ने, महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

मेयरहरुसहित चीनको सियान नगरबाट ३ जना, छेन्दुबाट ४ जना, सेञ्जेन ४ जना, नान्जिन नगरबाट ६ जना, लाञ्चाउबाट ६ जना, जापानको मात्सुमोतो नगरबाट २ जना, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग नगरबाट २ जना र बोल्डर नगरबाट ३ जनाको टोली जात्रा अवलोकनका लागि काठमाडौं आइ पुगिसकेको छ । उहाँहरुलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीले बिमानस्थलमा स्वागत गरेका थिए ।

 

 

यसमा तपाइको मत