इन्द्रजात्रा शुरु, बिहान ९ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उठाइयो

२७ गतेबाट रथ यात्रा शुरु

DSC_1631चन्द्रमणि भट्टराई
भाद्र २४

 

काठमाडौं । आज बिहान विहान ०९ बजेर १७ मिनेटको साईतमा बसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज –लिङ्गो) ठड््याएपछि यस बर्ष इन्द्र जात्राका कार्यक्रम विधिवत् शुरु भएका छन् । इन्द्रध्वज उत्थान अवलोकन गर्न महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्यहरु जीवनराम श्रेष्ठ, कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सभा सदस्यहरु राजेश शाक्य, डा. अजयक्रान्ति शाक्यसहित काठमाडौंबाट संघीय तथा प्रदेश सभामा निर्वाचित सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु सहभागी हुनुभएको थियो ।

DSC_1406नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेपछि लिङ्गो ठड््याउने चलन छ । इन्द्रध्वजका रुपमा गाडिने लिङ्गो ल्याउन भाद्र १५ गते बिहान ११ बजेर ७ मिनेटको साइतमा गुठीयारहरु भक्तपुर गएका थिए । यसलाई वनयात्रा भन्ने गरिन्छ । त्यसै दिन राती ८ बजेर ०१ मिनेटको साइतमा लिङ्गो काटिएको थियो । त्यसको भोलिपल्टदेखि लिङ्गो ल्याउन थालिएको थियो । त्यस क्रममा भदौ २० गते बिहान ९ बजेर ३५ मिनेटको साइतमा लिङ्गोलाई नगर प्रवेश गराइएको थियो ।

बसन्तपुरमा इन्द्रध्वज ठड्याउनु अघि किलागलका ज्यापु समुदायले परम्परागत तान्त्रिक देवी प्रस्तुत गरेका थिए भने गुर्जुको पल्टनले साईतको तोप पड्काएको थियो ।

यस दिनलाई नेवार समुदायका मानिसहरुले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने गर्छन् । आज बेलुका करीब ८ बजे गणेश र भैरवलाई कुमारी घरमा ल्याउने चलन छ । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो दिने चलन छ । हिजो भदौ २३ गते एकादशीका दिन सरकारतर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिने चलन छ ।

इन्द्र जात्रामा लिङ्गो ठड््याउने परम्परा कसले चलाए भन्ने एकिन नभए पनि रणबहादुर शाहका पालाबाट हालको स्थानमा लिङ्गो ठड््याउन थालिएको र त्यसअघि मरुटोलस्थित अड्को नारायण मन्दिर अघि यसरी नै लिङ्गो ठड््याइन्थ्यो भन्ने भनाइ छ । इन्द्रध्वजलाई उल्लास, विजय र उत्सवका रुपमा हेर्ने गरिन्छ ।

यस बर्ष भदौ २७ गते कुमारी रथ यात्रा शुरु गरेर बसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ । त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति बसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । २८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु र दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।

भदौ ३१ गते हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ०९ ३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षका लािग जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछन् । यस बर्षको इन्द्रजात्रा अबलोकनका लािग काठमाडौं महानगरले भगिनी सम्बन्ध भएका नगरबाट नगर प्रमुख र प्रतिनिधिहरुलाई निमन्त्रणा गरेको छ । महानगरको निमन्त्रणा स्वीकार गरेर ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ ।

 

 

यसमा तपाइको मत