२३ वटा गुँला खललाई बाजा संरक्षणका लागि जनही १ लाख अनुदान प्रदान

मूर्त अमूर्त सांस्कृतिक सम्पदा बचाउन तहगत सरकारका बीच समन्वय कम छ, त्यसलाई सुधार्छौ — मेयर शाक्य

DSC_0992चन्द्रमणि भट्टराई
भाद्र २३

काठमाडौं । गुँला पर्वमा बजाइने बाजा संरक्षण गरेर सांस्कृतिक चालचलनलाई निरन्तरता दिन काठमाडौं महानगरले २३ वटा गुँला खललाई जनही १ लाख रुपैयाँ अनुदान रकम प्रदान गरेको छ । सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, संघीय संसद सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधान, संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र गुँला बाजा व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले संयुक्त रुपमा अनुदान रकम वितरण गर्नुभएको हो ।

अनुदान रकम बितरण गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो — मूर्त अमूर्त सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण बिषयमा व्यक्तिपिच्छे फरक धारणा हुँदा लोप हुन लागेका सम्पदा जोगाउन कठिन हुन्छ । मर्मत गर्ने पर्ने अवस्थामा पुगेको सम्पदा बचाउन कठिन हुन्छ । त्यसैले सम्पदाको पहिचान सबैको दृष्टिमा एउटै हुनुपर्छ । मूर्त र अमूर्त सम्पदालाई अलग बनाउँदा जीवन्तता हराउँछ त्यसैले सम्पदाको प्राण भनौ या जीबन्तता बचाउन दुवै (मूर्त र अमूर्त) सम्पदालाई अन्तरसम्बन्धित बनाएर परम्पराबाट चलेकै अनुसार संरक्षण गर्नुपर्छ । उहाँले थप्दै भन्नुभयो — तहगत सरकारबाट पनि आवश्यकताअनुसारको लगानी र दृष्टि पुगेको छैन । यस अभावलाई सुधार गर्न महानगरले समन्वयकारी भूमिका खेल्छ । बाजा बचाउन अहिलेका लागि कम्तीमा केही त होस् भनेर हामीले अनुदान रकम दिएका हौं ।

DSC_0970कार्यक्रममा संघीय संसद सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले मेयर शाक्यको कार्यकामा सम्पदा जोगाउने कोणबाट महत्वपूर्ण काम हुने आशा व्यक्त गर्नुभयो । महानगरभित्र भएका धेरै सम्पदा बचाउनु पर्नेछ । सार्वजनिक ठाउँ पनि सम्पदा नै हुन् तिनको पनि ख्याल गर्नु पर्छ, उहाँले थप्दै भन्नुभयो — राजनीतिक बिषयभन्दा माथि राखेर यी काम तपाईकै (मेयर शाक्यलाई देखाउँदै) पालामा तपाईकै नेतृत्वमा सम्पन्न गर्नुपर्छ । त्यस क्रममा संघीय संसदका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले, बाजा बचाउन महानगरले गुंला बाजा खललाई उपलब्ध गराएको अनुदान रकमको प्रशंशा गर्दै भन्नुभयो — यो उत्कृष्ट काम हो । यस्तै धेरै उत्कृष्ट काम गरेपछि महानगरको इज्जत बढ्छ ।

अब सांस्कृतिक चालचलन लैङ्गिकमैत्री बनाउँदै लैजानु पर्छ । कार्यक्रममा धारणा राख्ने क्रममा महानरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — हाम्रा संस्कारभित्र केही पुस्तान्तरण गर्नुपर्ने काम छन् । ती कामलाई निरन्तर चलाउनु पर्छ । केही सुधार गरेर पुस्तान्तरण गर्नुपर्ने काम छन् । तिनलाई सुधारेर अघि बढाउनु पर्छ । सुधार्नु पर्ने काममा सांस्कृतिक गतिबिधिमा महिलालाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनु पनि हो, उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, गुथि तथा सम्पदा संरक्षणमा चासो राख्ने प्रतिनिधिहरु र स्थानीयको सहभागिता थियो ।

अनुदान प्राप्त गर्ने बाजा खल
१) कसाः तःधं गुथि, जनबहाल २) चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद ३)असं बाज गुथि, असन ४) स्वयम्भू गंला बाजँ खलः स्वयम्भू ५) केशचन्द्र गुंला बाजं खलः, इतुंमबहाल ६) तेबहाः गुंला बाजं खलः, तेबहाल ७) ओम बहाः गुंला बाजं खलः, ओमबहाल ८) थँहिति मानन्धर गुथि, थँहिति ९) न्यागमणि फेदी धाः बाजं खलः, बालाजु १०) रत्नमण्डल महाबिहार सवं संघ, नघः ११) पाक्व पख्द्यां मानन्धर सना खलः, पाको १२) लाय्कुसाः मानन्धर समाज, लाय्कुसा १३) कीर्ति पुण्य महाबिहार, क्वहिति १४) ङत गुंला बाजं खलः, नरदेवी १५) मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः १६) कीर्तिपुण्य महाबिहार, लगन १७) ताम्राकार गुंला बाजं खल, मरु १८) धर्मचक्र महाबिहार बाजं खलः, वँतु १९) त्यंघः कुमाः बाजं खलः, त्यघंः २०) भिंद्य गुथि, कालिमाटी २१) दैसाः त्वाः मानन्धर समाज, दैसा २२) चारुमती गुंला बाजं खल, चावहिल र २३) जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी

यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।

यसमा तपाइको मत