इन्द्रजात्रा व्यवस्थापनमा महानगर व्यस्त

व्यवस्थापनमा समितिलाई अगाडि लगाएर सबैले सहयोग गरौं — मेयर शाक्य

DSC_0877चन्द्रमणि भट्टराई
भाद्र २३

काठमाडौं । इन्द्रजात्रालाई सुरक्षित र व्यवस्थित बनाउन काठमाडौं महानगरले सरोकारवालाहरुसँग कहिले छुट्टाछुट्टै र कहिले सामुहिक भेट वार्ता गरेर व्यवस्थापन रणनीति तयार गरिरहेको छ । यसै क्रममा आज मध्यान्नसम्ममा २ वटा बैठक सम्पन्न भइसकेका छन् । पहिलो बैठक नेवा जारण मञ्चले आयोजना गरेको थियो । त्यस बैठकमा बोल्दै मेयर शाक्यले शाक्यले — जात्रामा सहभागी हुँदा सामुहिकताको भावना राखेर सहभागी हुन अपिल गर्नुभयो । मेयरको अपिलमा इन्द ्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य, लाखे, पुलुकिसि, श्रीकुमारी, श्री गणेश, श्री भैरव, श्री हल्चोक आकाश भैरव गुठीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

बैठकमा मेयर शाक्यले इन्द्रजात्राको दिगो व्यवस्थापनका लागि अक्षय कोष खडा गर्ने प्रयास भइरहेको बताउनुभयो । अहिलेका लागि ५ करोड रुपैयाँको कोष बनाएर र त्यसको सञ्चालन व्यवस्थापनका लागि कार्यबिधि निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।

बैठकमा जागरण मञ्चका संयोजक सुजिव वज्राचार्य, सरसफाइ अभियानका संयोजक राजमान मानवले स्थानीयको उत्साहजनक सहभागिताले जात्रा जीवन्त हुने बताउँदै सबैले मिलेर जात्राको गरिमा बढाउनु पर्ने धारणा राख्नुभयो ।

सुरक्षा व्यवस्थापनमा चासो

इन्द्रजात्रामा आउने श्रद्धालुहरुको सुरक्षालाई बलियो बनाउन आजै प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहालसहित सुरक्षा निकायका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न भएको छ । संघीय संसद, कृष्णगोपाल श्रेष्ठ, रामबीर मानन्धरसहितको बैठकमा, उपाकु मार्गमा श्रद्धालुहरुले निर्वाध हिंड्न पाउने वातावरण, जात्रामा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरेर आउने माथिको निगरानी, रथ यात्रा हुने मार्ग तथा त्यस आसपासका गल्ली र चोकमा हुन सक्ने सुरक्षा जटिलताका बिषयमा कुराकानी भएको थियो । जात्राका अवसरमा हुने गतिबिधिलाई निर्वाध सञ्चालन गर्न सवारी आवागमनले समस्या पारेको छ । त्यसैले जात्राका दिन सम्बन्धित क्षेत्रमा आवागमन निषेध गर्ने बिषयमा निर्णयमा पुग्न जरुरी छ, मुख्य छलफलका रुपमा उठेको थियो ।

बैठकमा बोल्दै मेयर शाक्यले भन्नुभयो — यो जात्रामा सहभागी हुन कसैलाई निम्ता दिनु पर्दैन । स्वतस्फूर्त रुपमा आउने हो । त्यसैले यहाँ जो पनि आउन सक्छन् । त्यसमा श्रद्धालुहरुको गरगहना र पैसामा आँखा लगाएर आउने पनि हुन सक्छन् । यसमा गम्भीर हुनुपर्छ । मेयर शाक्यको मतमा सहमति जनाउँदै संघीय संसद सदस्य रामबीर मानन्धरले — श्रद्धालु गहनासहित सजिएर जात्रामा आउने भएकोले गहना लुटपाट हुन सक्ने खतरा पूर्व अनुमान गर्न सक्नु पर्ने बताउनुभयो भने कृष्णगोपाल श्रेष्ठले — सानातिना घटनामा उत्तेजित नहुने वातावरण तयार पार्न सबैले सचेत हुनुपर्ने बताउनुभयो ।

जात्रामा सहभागी हुने महिलाको सुरक्षामाथि बिशेष ख्याल हुनुपर्छ — बैठकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो ।

सबैको कुरा सुनिसकेपछि प्रमुख जिल्ला अधिकारी दाहालले — सुरक्षाका बिषयमा कुनै चिन्ता नगरी अन्य तयारीका काम गर्न आश्वस्त पार्नुभयो । उच्च अधिकारी र जात्राको स्थानीय सुरक्षाका हामीले रणनीति तयार पारिसकेका छौं । जात्रामा हुने गतिबिधि र उत्पन्न हुन सक्ने परिणाम हामीलाई अनुमान छ । प्रमुख जिल्ला अधिकारीको भनाइ थियो ।

यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ । महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अनुसार चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुनेछ ।

अबलोकन टोली भाद्र २६ गते (सेप्टेम्बर १२) काठमाडौं आइपुग्नेछ भने भाद्र ३० (सेप्टेम्बर ३०) स्वदेश फर्किनेछ । यसबीचमा टोलीलाई जात्राको अवलोकन गराउने, काठमाडौं भक्तपुर र ललितपुरका दरबार तथा सम्पदा क्षेत्र र चन्द्रागिरीबाट काठमाडौंको अवलोकन गराउने कार्यक्रम तय भएको छ । जात्रामा आउने भगिनी सहरका प्रमुखहरुलाई गद्दी बैठकबाट अवलोकनको व्यवस्था गर्ने र प्रतिनिधिलाई शिवपार्वती डवली अघिल्तिर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

 

 

यसमा तपाइको मत