४७१ शेयर सदस्य रहेको महानगरका कर्मचारीको सहकारीमा ३ करोड ९१ लाख ९९ हजार ६९७ रुपैयाँ बचत परिचालन

आ. व. २०७५/०७६ मा २ करोड ४० लाख कर्जा लगानी र १ करोड ५१ लाख ७३ हजार ५२२ रुपैयाँ असुली

DSC_9124चन्द्रमणि भट्टराई 
भाद्र २०

काठमाडौं । महानगर कर्मचारी वचत तथा सहकारी सस्था लिमिटेडले आ. व. आ. व. २०७५/०७६ को अन्त्यसम्ममा ३ करोड ९१ लाख ९९ हजार ६९६ रुपैयाँ बचत परिचालन गरेको छ । महानगरमा कार्यरत १३४ जना महिला र ३३७ जना पुरुष गरी ४७१ जना शेयर सदस्य रहेको सहकारीले, शुक्रबार आयोजना गरेको ११ औं बार्षिक साधारण सभामा यो विवरण सार्वजनिक गरेको हो । गएको बर्ष अर्थात् आ. व. २०७४/०७५ को असार मसान्तसम्ममा सहकारीले २ करोड ९७ लाख ७० हजार रुपैयाँ र त्यस अघिको बर्ष अर्थात् आ. व. २०७३/०७४ को अन्त्यसम्ममा २ करोड ३९ लाख १७ हजार ८१३ रुपैयाँ संकलन गरेको थियो ।

साधारण सभामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरका कर्मचारीको सहकारी उदाहरणीय हुनु पर्नेमा जोडदिनुभयो । सहरका हरेकजसो घरमा सहकारी छन् । लाग्छ, सहकारी सञ्चालन गर्नु भनेको व्यापार गर्नु हो । उहाँले सरकारी सञ्चालन अभ्यासको चर्चा गर्दै, महानगरको सहकारीले, सहकारीका प्रचलित सिद्धान्त र व्यहारमा नमूना बन्नुपर्ने सुझाव दिनुभयो ।

सभामा आ. व. २०७६/०७७ का लागि ६८ लाख ५० हजार आम्दानी र ६४ लाख ८१ हजार खर्च प्रस्ताव गर्दै सञ्चालक समितिका अध्यक्ष यादव घिमिरेले — यस अघि शेयर सदस्यले मासिक २ हजार रुपैयाँ बचत गर्दै आएकोमा अबदेखि हरेक दिन १०० रुपैयाँका दरले अनिवार्य बचत गर्नुपर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । सभामा सल्लाहकार समितिकातर्फबाट धारणा राख्दै बलराम त्रिपाठीले — महानगरभित्र सहकारी बिभाग आएपछि अरुलाई नियमन गर्नु पर्ने संस्थाका कर्मचारीले चलाएको सहकारी उत्कृष्ट हुनु पर्ने बताउनुभयो । त्यस अवसरमा सेवा निवृत्त इन्द्रमान सिंह सुवाल, रबिन्द्र पौडेल, साधुराम भट्टराई, हरिकुमार काफ्ले, हरि लम्साल, ज्यापू पोडे, रीता तिमिल्सिना र रत्नकुमारी मगरलाई सम्मान गरिएको थियो ।

सभामा सचिव उत्तम दाहालले प्रस्तुत गर्नुभएको कार्यसमितिको प्रतिवेदनसहित लेखा समिति र स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।

२०६५ सालमा ४५ जना कर्मचारीहरुबाट सुरु गरिएको सहरकारीले शेयर सदस्य कर्मचारीको तलवबाट मासिक रकम काटेर खातामा जम्मा गर्ने गरेको छ । यो रकम शुरुवात्मा ५ सय रुपैयाँ थियो । त्यसपछि १ हजार रुपैयाँ र २०७४ साल पुष महिनादेखि २ हजार रुपैयाँ काटेर जम्मा गर्न थालिएको हो । सहकारीले शेयर सदस्यहरुलाई ऋणबाहेक औषधि उपचार, परिवहन, सञ्चार, किरिया, सुत्केरी खर्चलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।

संस्थामा सञ्चालक समितिसहित ४ वटा समिति छन् । जसमा लेखा, कोष परिचालन सुझाव र सल्लाहकार समिति छन् । त्यस्तै ऋण, शिक्षा र पदपूर्ति गरी ३ वटा उपसमिति छन् ।

यसमा तपाइको मत