हुने काम भए एक छिन नरोक्नु, नहुने भए कसैले नगर्नु — मेयर शाक्य

वडा सचिव, इञ्जिनियर र लेखापाललाई अभिमुखीकरण

DSC_5220चन्द्रमणि भट्टराई
भाद्र ०५

काठमाडौं । चालु आर्थिक बर्षका लागि तर्जुमा गरेका नीतिको मर्मबमोजिम बिकास निर्माण, सेवा प्रवाहलगायतका कार्य सञ्चालन गर्नु पर्ने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — हुने काम भए एकछिन पनि नरोक्न र नहुने काम भए कसैले पनि नगर्न आग्रह गर्नुभएको छ । एउटा गर्न मिल्दैन भनेको काम अर्कोले हुन्छ भन्नुले नियत राम्रो देखिँदैन । भन्नेले नबुझेको हुन सक्छ तर लाभग्राहीमा यसको नराम्रो असर पर्छ । भदौ ४ र ५ गते वडाका सचिव, इञ्जिनियर र लेखापालका लागि सञ्चालन गरिएको ‘आ. व. २०७६÷०७७ बजेट नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धि’ अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भन्नुभयो — नीतिलाई आफ्नो—आफ्नो ढङ्गले व्याख्या गरेर होइन, सबैको समान बुझाइ बनाएर कार्यान्वयनमा लैजानु पर्छ । एउटै काम एउटा वडामा हुने, अर्कोमा नहुने । जनप्रतिनिधिले हुन्छ भन्ने, कर्मचारीले हुँदैन भन्ने वा कर्मचारीले हुन्छ भन्ने, जनप्रतिनिधिले हुँदैन भन्ने गरियो भने नागरिकले सास्ती पाउँछन् । अर्कोतिर सेवामा एकरुपता पनि हुँदैन । त्यसैले बुझ्नु भएको छैन भने आपसी छलफल गर्नोस् । म पनि तपार्इँभन्दा टाढा छैन, मलाई नै सोधे पनि हुन्छ । उहाँले थप्दै भन्नुभयो — तर, मसँग आइपुग्नु पर्ने अबस्था छैन । वडाका समस्या वडामै समाधान गर्ने गरी अधिकार र श्रोत पठाएको छु ।

DSC_5763प्रमुख शाक्यले श्रोत व्यबस्थापनको प्रसङ्ग उठाउँदै भन्नुभयो — महानगरले चालु आर्थिक बर्षका लागि बिनियोजन गरेको रकमको अधिकांश भाग वडा तहबाटै कार्यान्वयनमा जाने हो । तपाईले यसको गम्भीरतालाई महसुस गरेर काम गर्नुपर्छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — वडाबाट राम्रो काम भयो भने, सेवाग्राहीप्रति असल व्यवहार भयो भने जनताले सरकार राम्रो भयो भन्छन् । त्यहाँबाट नराम्रो व्यवहार भयो भने सरकारलाई गाली गर्छन् । वडामा बसेर काम गर्नु भनेको सरकारको जनतासँगको सम्बन्धि स्थापित गर्ने ठाउँमा बसेर काम गर्नु हो । त्यसैले वडामा बसेर काम गर्नेले सम्वेदनशील हुनुपर्छ । जनताका सानातिना समस्यालाई तुरुन्तै र सजिलै समाधान गरिदिनोस् । उहाँले थप्दै भन्नुभयो — अरुलाई दोष देखाएर आफू राम्रो बन्ने प्रवृत्ति छ भने त्यसले राम्रो गर्दैन । अब सुधार नगरि हुँदैन ।

४ गते वडा १ देखि १५ सम्म र ५ गते वडा १६ देखि ३२ सम्मका अधिकारीलाई बोलाएर सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा महानगरका निर्देशक बसन्त आचार्यले बजेट नीति कार्यान्वयनका कानुनी अवस्थाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो भने सम्पदा तथा पर्यटन बिभागका प्रमुख राम थापाले सार्वजनिक निकायहरुको योजना सञ्चालनमा अनुगमन र मुल्याङ्कन सम्बन्धि प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै बित्त बिभागका प्रमुख बुद्धरत्न मानन्धरले, योजना कार्यान्वयनमा बित्तिय अनुशासनका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

एउटै नीतिबाट वडामा जाने योजना कार्यान्वयन गर्दा — एउटा वडामा एउटा पाराले र अर्को वडामा अर्कै पाराले काम नहोस् । महानगरभित्र सञ्चालन हुने योजना कार्यान्वयनमा एउटै बुझाइ होस् भनेर तालिम आयोजना गरिइको मानव संशाधन महाशाखाका प्रमुख बखतबहादुर साउदको भनाइ छ ।

यसमा तपाइको मत