यसपालीको इन्द्रजात्रा अबलोकन गर्न महानगरको निम्तामा १३ वटा अन्तरराष्ट्रिय नगरबाट ५ मेयरसहित ४८ जना पाहुना आउने

पहिलो पटक इन्द्रजात्रा हेर्न बिदेशी पाहुनालाई औपचारिक निम्तो

DSC_5099चन्द्रमणि भट्टराई
भाद्र ३

काठमाडौं । यस बर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा अन्तरराष्ट्रिय नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ । महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयले सोमबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई भेटेर यस सम्बन्धि जानकारी दिएको छ । गएको ७ महिनादेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालेको थियो । यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अबलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४८ जना हुनेछ ।

यस सम्बन्धि जानकारी लिएपछि मेयर शाक्यले भन्नुभयो — हामीले भगिनी सम्बन्ध स्थापना गरेका नगरसँग हाम्रा नागरिकसँग सम्बन्ध बढाउन, आपसी सांस्कृतिक पक्षको आदान प्रदान गर्न र नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धन गर्न यो महत्वपूर्ण अवसर हुनेछ । मेयर शाक्यकाअनुसार यसपटक, कुनै सहरसँग औपचारिक सम्झौता हुने कुनै एजेन्डा छैन । यसपटक काठमाडौं आउने पाहुना पर्यटक जस्तै हुन्, उनीहरुले काठमाडौंको सांस्कृतिक र ऐतिहासिक गरिमा सन्देशका रुपमा आफ्नो ठाउँमा लिएर जानेछन् ।

अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार, जात्रा अवलोकन गर्न आउने पाहुनालाई मुख्यतया, इन्द्रजात्राका मूर्त अमूर्त पक्षको अवलोकन तथा जानकारी गराइनेछ । त्यससँगै बसन्तपुरलगायत काठमाडौंका भित्री सहरी क्षेत्र, स्वयम्भू र बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार स्क्वायर, काठमाडौंको चन्द्रागिरीलगायत स्थानको अवलोकन गराइनेछ ।

अबलोकन टोली भाद्र २६ गते (सेप्टेम्बर १२) काठमाडौं आइपुग्नेछ भने भाद्र ३० (सेप्टेम्बर ३०) स्वदेश फर्किनेछ ।

यस बर्ष इन्द्रजात्रा (कुमारी रथयात्रा) भाद्र २७ गते परेको छ । यो जात्रा भाद्र ३१ गते नानिचा जात्रासँगै समापन हुनेछ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यका अनुसार भाद्र २४ गते बसन्तपुरमा इन्द्रध्वज उत्थान गरेपछि इन्द्रजात्राका औपचारिक कार्यक्रम शुरु हुनेछन् । यहाँ गाडिने लिङ्गो (इन्द्रध्वज) लिन भाद्र १५ गते बनयात्रा शुरु हुनेछ । लिङ्गो लिन भक्तपुरको चित्तपोल गएर गुठीयारहरुले भाद्र १६ गतेदेखि लिङ्गो तानेर ल्याउने काम गर्नेछन् । यसलाई असन ल्याएर नगर प्रवेश गराउने तथा बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ । त्यसपछि २४ गते शुभ साइतमा लिङ्गो उठाइनेछ । व्यवस्थापन समितिका अध्यक्ष शाक्यका अनुसार मिति तय भइसकेको छ तर पञ्चाङ्ग निर्णायक समितिबाट साइत आइसकेको छैन ।

२७ गते कुमारी रथ यात्रा शुरु गरेर बसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ भने र २८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दशअवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।

 

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत