सार्वजनिक जग्गामा अव कुनै पनि संरचना बनाउन नदिइने — मेयर शाक्य

वडा नं. ३ को साढे ६ आना जग्गा सार्वजनिक उपयोगमा फिर्ता

चन्द्रमणि भट्टराई
फागुन २१

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका कुनै पनि सार्वजनिक जग्गामा भवन, मन्दिर वा सामाजिक कामका नाममा कुनै पनि भवन बनाउन नदिइने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउनु भएको छ । सोमबार वडा नं. ३ को वडा भवनसँगै जोडिएको साढे ६ आना जग्गा र सो जग्गामा बनेको एकतले भवन, निजी उपयोगबाट सार्वजनिक सम्पत्तिका रुपमा आएको घोषणा गर्दै प्रमुख शाक्यले, यसरी सार्वजनिक भएका जग्गालाई खुल्ला स्थानका रुपमा राखिने प्रतिवद्धता जनाउनु भयो । २०७२ सालको भूकम्पले हामीलाई ठूलो पाठ पढाएको छ, टोल या समाजमा हुने सामुहिक हितका काम स्थानीय विद्यालय वा पाटी प्यालेसमा गरे पनि हुन्छ उक्त अवसरमा बोल्दै मेयर शाक्यले भन्नुभयो — सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन र आपत् विपद्मा आश्रय लिन पनि खुल्ला स्थानको संरक्षण गर्न जरुरी भएको हो ।

कार्यक्रमका अवसरमा मेयर शाक्यले सार्वजनिक जग्गामा निर्मित भवन भत्काउन शुरुवात् गरेर सार्वजनिक जग्गा संरक्षण अभियानको थालनी समेत गर्नुभयो । अभियान थालनी हुनु अघि आयोजना गरिएको नागरिकको भेलालाई सम्बोधन गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गर्नुभयो ।

महानगर क्षेत्रभित्र प्रशस्त सार्वजनिक जग्गा छन् । वडा नं. ३ मा मात्र पनि २०० रोपनीभन्दा बढी जग्गा छ । त्यसमध्ये आज व्यक्तिगत उपयोगबाट सार्वजनिक उपयोगमा साढे ६ आना जग्गा फिर्ता भएको हो । कार्यक्रमका विषयमा जानकारी दिँदै वडा नं. ३ का वडाध्यक्ष दीपक के. सी. ले भन्नुभयो — आज फिर्ता भएको जग्गा करीव ७ करोड मुल्य बराबरको हो । यससँगै विश्व हिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायत्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्काल फिर्ता ल्याउँदैछौं ।

वडा नं. ३ मा भएको करीव २०० रोपनी सार्वजनिक जग्गामध्ये १३६ रोपनी क्षेत्रफल रानीबारीले ओगटेको छ । यसबाहेक चालु आर्थिक बर्षमा वडाले १ अर्व मूल्य बराबरको सार्वजनिक जग्गा सार्वजनिक उपयोगमा फिर्ता गराउने लक्ष्य राखेको छ ।

यसमा तपाइको मत