हाँडीगाउँको पर्यटकीय पूर्वाधारका लागि गुरुयोजना बनाइने

भ्रमण बर्ष २०२० लाई सम्पदाको संरक्षण, प्रवर्धन र स्थानीयबासीको आयसँग जोड्ने — मेयर शाक्य

DSC_4882चन्द्रमणि भट्टराई
भाद्र २

काठमाडौं । हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्न महानगरबाट आर्थिक र प्राबिधिक सहयोग हुने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, स्थानीयले महसुस गरेको आवश्यकता पूरा गर्न महानगर तयार रहेको बताउनुभएको छ । आइतबार आयोजना गरिएको ‘हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवर्धन एवं बिकासका लागि आयोजित कार्यशाला गोष्ठी’ मा बोल्दै उहाँले भन्नुभयो — सहरी योजनामा युवा इञ्जिनियरहरु हुनुहुन्छ । डिजाइन बनाउनु प¥यो भने उहाँहरुले सहयोग गर्नुहुन्छ । यसको बिकासका लागि आर्थिक सहयोग चाहिलो भने, हाम्रो वडाध्यक्ष (वडाध्यक्ष रमेश डंगोललाई देखाउँदै) मार्फत योजना लिएर आउनोस् । तपाईँले महानगरको जिम्मामा परेको भनेर महसुस गरेको ठाउँमा हामी सहयोग गर्छौ ।

DSC_4827सम्पदा संरक्षण गर्नुपर्छ । यसको उपयोगितामा पनि ख्याल गर्नुपर्छ । मेयर शाक्यले सम्पदा क्षेत्रमा भएका पाटी तथा सत्तल भाडामा लगाएर पैसा उठाएको देखेको उल्लेख गर्दै भन्नुभयो — जुन संरचना जुन प्रयोजनका लागि बनाइएको हो । प्रयोग पनि त्यसै कामका लागि गर्नुपर्छ । हामी यस बिषयमा गम्भीर छौं । सम्पदा संरक्षण र उपयोगका कुरा गरिसकेपछि मेयर शाक्यले — सम्पदा जोगाएर पर्यटन बिकासका लागि प्रवर्धनात्मक काम गर्ने र यस कामसँग स्थानीयको आय हुने कार्यक्रम सञ्चालन गरिने योजना सुनाउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले — हाँडी गाउँका सम्पदाको पुननिर्माणका लागि प्रदेश सरकारकातर्फबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मौलिक सामाग्रीलाई यथास्थानमा राखेर पुननिर्माण गर्न गुरुयोजना बनाउन सुझाव दिनुभयो ।

DSC_4893कार्यक्रममा प्रा. डा. सुदर्शनराज तिवारी र डा. यज्ञनाथ आचार्यले हाँडी गाउँको सांस्कृतिक महत्व र पर्यटकीय सम्भावनाका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस क्रममा डा. आचार्यले भन्नुभयो — आजभन्दा ४० बर्ष अघि यस वडामा ९ वटा पोखरी थिए, अहिले एउटा बाँकी छ । ५ वटा ढुङ्गेधारा थिए, अहिले एउटा छ । चोक चोकमा इनार थिए, अहिले माली गाउँमा एउटा मात्र बाँकी छ । बिभिन्न समय र पर्वमा १४ प्रकारका बाजा बजाइन्थे अहिले ११ थरीका बाजा मात्र बाँकी छन् । यी त उदाहरण मात्र हुन् । यस्ता धेरै सम्पदा मासिएर गए, अब पनि जोगाउनतिर नजाने हो भने हाँडीगाउँको सभ्यता पुस्तकमा मात्र बाँकी रहन्छ । लिच्छवीकालीन नगर सम्भताको केन्द्र मानिने हाँडीगाउँ स्वतन्त्र राज्य व्यवस्थाबाट सञ्चालित थियो, उहाँले थप्दै भन्नुभयो — ६० मिनेट घुम्दा शिव शक्ति र भक्तिका स्थान, बास्तुकला, चित्रकला, मूर्तिकला, चैत्य, बिहारजस्ता सम्पदा नियाल्न पाउने ठाउँ अन्त कतै पनि छैन ।

कार्यशालामा कार्यपत्र प्रस्तुत गर्दै प्रा. डा. तिवारीले भन्नुभयो — हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रुपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरु भएको प्रमाण पाइन्छ । उहाँले सन्दर्भ सामाग्री उल्लेख गर्दै भन्नुभयो — इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरुको जग यसै क्षेत्रमा मात्र छन् । कार्यपत्रहरुमाथि टिप्पणी गर्दै संस्कृतिबिद् प्रा. दिनेशराज पन्तले — हाँडीगाउँ लिच्छविकालीन नेपालको राजधानी भएको ठाउँ भएकोले यसको अबस्थितिलाई त्यही कालको झल्को दिने खालका बनाउन सुझाव दिनुभयो ।

यस स्थानसँग केही लोककथन र तथा भनाइहरु पनि जोडिन्छन् । यसको उदाहरणका रुपमा गहना पोखरीलाई लिन सकिन्छ । गहना खोज्ने पोखरी कुनै बेला आगो निस्किरहने तलाउ थियो । त्यहाँ सुनको पेटिका प्रकट हुन्थ्यो । त्यो पेटिकालाई कसैले लिने प्रयास ग¥यो भने ऊ तलाउमा डुब्थ्यो । त्यहाँबाट फर्कनै सक्दैनथ्यो । त्योे पेटिकाको सुन भावी बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो भन्ने गरिन्छ । यसलाई अग्निवमन गर्ने नागहरुले सुरक्षा दिएर राखेका थिए ।

DSC_4826त्यसबेलादेखिका सांस्कृतिक सम्पदा, सामाजिक जीवनमा आधारित चालचलन, तीर्थाटन तथा वार्षिक जात्रा पर्वहरु हाँडीगाउँमा पर्यटन प्रवर्धनका आधार हुन् । यहाँ आउने आन्तरिक हुन् या बाह्य दुवै प्रकारका पर्यटकलाई लिच्छवी कालमा स्थापना भएकोे मनमानेश्वरी, सत्यनारायण, गरुड, भारवीको धारा, अंशुवर्माको वडापत्र रहेको डबली, न्याल्मलोंह, चौखटको चोक्ट्या नारायणको चोक, कैलाशकुट भवनको चमत्कारी तलाउ घुमाउन सकिन्छ । त्यस्तै किराँत कालको हाँडीगाउँ (जसलाई अण्डीपृङ्ग भनिन्थ्यो), टुँछें, नासद्यो (थटाल टोल), नासद्यो (कोटाल टोल), द्योछें (दथुटोलमा) पनि पर्यटकका लागि चाख लाग्दा स्थान बन्न सक्छन् ।

अमूर्त सांस्कृतिक सम्पदातर्फ किराँतकालीन टुडाँलदेवीको जात्रा, लिच्छवीकालीन नारायण जात्रामा पर्यटकलाई सहभागी गराउन सकिन्छ भने परम्परागत वाद्यबादनलाई पनि पर्यटकीय पूर्वाधारका रुपमा लिन सकिन्छ ।

यसलाई प्रवर्धन गर्न सके हाँडीगाउँमा पर्यटक लैजान समस्या छैन । यसका लागि रञ्जना, देवनागरिक र अंग्रेजी लिपि भएका सूचना पाटी राख्ने, ऐतिहासिक र धार्मिक महत्व भएका मूर्ति, शिलालेख तथा कलावस्तु प्रदर्शन गर्ने, यिनीहरुसँग सम्बन्धित कथा पर्यटकहरुलाई राम्ररी बुझाउने संयन्त्र तयार पारिनुपर्छ । त्यस्तै, सुरक्षा, फोहोरमैलाको संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको राम्रो प्रबन्ध चाहिन्छ । पर्यटकका लागि उपयुक्त आगमन र बिश्राम स्थल सवारी पार्किङ् स्थल, शौचालयको सुविधा, आधारभूत पूर्व जानकारी प्राप्त गर्न सकिने अवस्था बनाउन जरुरी छ । यस प्रकारका काम गर्न सहभागिता आवश्यक छ । कार्यक्रममा हाँडीगाउँ सम्पदा समाजका अध्यक्ष गणेश श्रेष्ठले — हाँडीगाउँको प्राचीनता जोगाउन महानगरले छुट्टै मापदण्ड बनाएर लागू गर्नुपर्ने धारणा राख्नुभयो । हाँडीगाउँको मौलिकतालाई पर्यटनसँग जोड्न हामी २०५९ सालदेखि काम गरिरहेका छौं । श्रेष्ठले भन्नुभयो — गुरुयोजना बनाउने र गुरुयोजनाबाहेक कुनै पनि काम नगर्ने अबको हाम्रो गन्तव्य हो ।

हाँडीगाउँको पर्यटन प्रवर्धनका यी काममा स्थानीय सहभागितालाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्ने हो भने हाँडीगाउँ — पर्यटक काठमाडौं आएपछि घुम्नै पर्ने ठाउँमध्येको प्रमुख ठाउँमा सूचीकृत हुनेछ । यसलाई बसन्तपुर, लाजिम्पाट, ठमेलसँगै पशुपति र बौद्धजस्ता नजिकका सम्पदास्थलसँग प्याकेज जोडेर लैजानुपर्छ, कार्यशालाले निष्कर्ष निकालेको थियो ।

यसमा तपाइको मत