सांस्कृतिक सम्पदा क्षेत्रमा पर्यटन पूर्वाधार बिकास, महानगरको प्राथमिकता — मेयर शाक्य

बुद्ध बिहार पुननिर्माणका लागि १ करोड रुपैयाँ अनुदान प्रदान

DSC_4398चन्द्रमणि भट्टराई
साउन ३२

काठमाडौं । सांस्कृतिक सम्पदा क्षेत्रमा पर्यटन पूर्वाधार बिकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — भ्रमण बर्ष २०२० मा नेपाल आउने पर्यटकलाई काठमाडौंको भ्रमण अविष्मरणीय बनाउने बताउनुभएको छ । शनिबार महानगरको वडा २८ स्थित बुद्ध बिहारलाई पुननिर्माणका लागि १ करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै मेयर शाक्यले भन्नुभयो — स्थानीय जीवनसँग जोडिएका धार्मिक तथा सांस्कृतिमक महत्वका बहा, बहिल, द्यो छेँ, क्वापा छेँ, पाटी, सत्तल, मठ, मन्दिर जस्ता भौतिक सम्पदाको संरक्षण गर्नु, जीर्णोद्धार गर्नु तथा पुननिर्माण गर्नु हाम्रो पहिलो काम हो । अब यस्ता सम्पदाको अभिलेख तयार पारेर पर्यटक गन्तव्यका लागि सूची तयार पार्ने हुनेछ । उहाँको भनाइ थियो ।

DSC_4433पर्यटन व्यवस्थापनमा स्थानीय सहभागिताको कुरा गर्दै मेयर शाक्यले — पर्यटनको बसाइ लम्ब्याउन सके, स्थानीयबासीको आय वृद्धि हुने बताउँदै महानगरका कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

त्यस अवसरमा संघीय संसद सदस्यको प्रतिनिधित्व गर्दै भीमसेन दास प्रधानले — बिकासको गतिलाई मिलेर तीब्र बनाउनु पर्ने खाँचो देखाउनुभयो । काठमाडौंबासीमा भएको तीब्र बिकासको इच्छालाई पूरा गर्नु जनप्रतिनिधिको पहिलो जिम्मेवारी हो, प्रधानले सबै जनप्रतिनिधिको एउटै कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रदेश संसदकातर्फबाट बोल्दै जीवन डंगोलले — स्थानीय सम्पदा पर्यटकीय व्यवस्थापनका सम्पत्ति भएको जनाउँदै यिनीहरुको प्रवर्धनमा तहगत सरकार एउटै बाटो हिँड्नु पर्ने बताउनुभयो । अनुदान रकम हस्तान्तरण कार्यक्रममा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, डा. अजयक्रान्ति शाक्य, महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी, वडाध्यक्षसहित श्रद्धालुहरुको उपस्थिति थियो ।

बुद्ध बिहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो । डेढ रोपनी क्षेत्रफलमा भएको बिहारभित्र बनेपामा सञ्चालित बौद्ध बृद्धाश्रमको नगर सम्पर्क कार्यालय, अखिल नेपाल भिक्षु महासंघको नगर सम्पर्क कार्यालय, बौद्ध महिला संघ नेपालको कार्यालय, धर्मोदय सभाको सम्पर्क कार्यालय छन् । बिहारका प्रमुख भिक्षु कोण्डन्य महास्थबीरका अनुसार, २०७२ सालको भूकम्पको कम्पनले जीणै बनेपछि नयाँ भवन निर्माण गर्नुपर्ने अबस्था आएको हो । २०७५ साल बैशाख १० गते शिलान्यास गरेर निर्माण कार्य थालिएको यस बिहारको निर्माणाधीन ३ तले भवनमा एउटा सभा हल, पूजा कोठासहित ७ वटा कोठा हुनेछन् । परम्परागत नेवारी शैलीमा निर्माण भइरहेको यसको लागत ४ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

महानगरले उपलब्ध गराएको रकमबाहेक अन्य रकम दाताहरुबाट प्राप्त भइरहेको प्रमुख कोण्डन्यको भनाइ छ ।

 

 

यसमा तपाइको मत