‘रिचार्ज काठमाडौं’ सरकारी कार्यालय र कर्मचारीको घरबाट शुरु गर्ने योजनामा वातावरण बिभाग

तहगत कार्यक्रम हुन्छन्, शुरुवात्मा कर्मचारीको घरमा मोडेल तयार पार्छौं — बिभागीय प्रमुख श्रेष्ठ

DSC_2561चन्द्रमणि भट्टराई
साउन २१

काठमाडौं । महानगरको वातावरण व्यवस्थापन बिभागले ‘रिजार्च काठमाडौं’ कार्यक्रमको मोडेल सरकारी कार्यालय र कर्मचारीका घरबाट शुरु गर्ने योजना बनाएको छ । विभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — भूमिगत पानीको सतह सन्तुलनका लागि आकाशे पानी संकलन गर्ने र जमिनमुनि पठाउने कार्यक्रमको लक्ष्य हो । आकाशे पानी जम्मा गरेर अरु प्रयोजनमा ल्याउँदा शुद्धिकरणको कुरा आउँछ । हुन त यो पानी घरायसी प्रयोगमा पनि ल्याउन सकिन्छ तर कार्यक्रमको शुरुवात्मा पानी बटुलेर जमिनमुनि पठाउने तयारी हो । उहाँको भनाइ छ । गुथिले सोमबार आयोजना गरेको ‘आकाशे पानी संकलन र पुनभरण सम्बन्धि’ आधारभूत तालिममा बोल्दै उहाँले भन्नुभयो — महानगरको वातावरणीय सन्तुलनका लागि एकीकृत व्यवस्थित कार्यक्रम सञ्चालन गर्छौं ।

पानीको समस्या काठमाडौं र नेपालमा मात्र होइन । यो बिश्वव्यापी समस्या हो । तालिममा पूर्वमन्त्री गणेश शाहले भन्नुभयो — कुन ठाउँमा कति जटिल र कुन ठाउँमा कम जटिल छ भन्ने मात्र हो । पानीको समस्या नभोग्ने कोही छैन । पानी बनाउन मिल्दैन । त्यसैले प्रकृतिले दिएको पानी जम्मा गरेर खाँचो परेका बेला चलाउने व्यवस्था मिलाउनु नै अबको उत्तम बिकल्प हो । काठमाडौं महानगरले अघि सारेको रिचार्ज काठमाडौं कार्यक्रमका बारेमा बोल्दै उहाँले — यसलाई सफल बनाउन सबै लाग्न सके सबैको भलो हुने बताउनुभयो । पहिले पहिले घर कम थिए, बर्षात्को पानी आफैं पनि जमिनमुनि जान्थ्यो अहिले उपत्यकाको धेरै जमिन घरले ढाक्यो । त्यसैले योजना बनाएरै पानी जमिनमुनि पठाउनुपर्छ । नत्र संकट आइलाग्छ ।

तालिममा सहभागीहरुले आकाशे पानी संकलन प्रणाली जडान खर्च, यसको सञ्चालन प्रक्रिया, संकलित पानीको गुणस्तर र उपयोगका बिषयमा प्रश्नहरु राखेका थिए । ती प्रश्नहरुको उत्तर दिँदै गुथिका प्राबिधिक सल्लाहकार — नगरपालिकाले नक्सा पासमा दिएको छुट रकमले जडान खर्च पुग्छ । जडान महङ्गो छैन । आकाशबाट पानी परेका बेला पहिलो पानी बग्न दिएर बाँकी पानी संकलन गर्ने हो । पानीको उपयोग के मा गर्ने हो? त्यो आवश्यकताका आधारमा शुद्धिकरण गर्ने प्रबिधि जडान गर्ने हो भने जुन काममा पनि प्रयोगमा ल्याउन सकिन्छ ।

तालिममा बिद्यार्थी, निर्माण व्यवसायीलगायतका बिभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।

DSC_2555आवश्यकता


बिभिन्न समयमा काठमाडौंको जमिनमुनि भएको पानीको सतह मापन गरिएका छन् । यी मापनले सतहभन्दा पानी भेटिने गहिराई बढ्दै गएको देखाएको छ । गएका बर्षहरुमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का ट््युबेलहरुमा अहिले प्रतिमिनेट ७०० लिटर पानी प्राप्त हुनुले पनि अवस्थालाई देखाउँछ । त्यस्तै ढुङ्गेधारा र इनारमा पानी नआउनुले पनि बिषयलाई पुष्टि गर्छ ।

अर्कोतिर पानी परेका बेला उपत्यकाका धेरै ठाउँहरु डुवानमा पर्ने गरेका छन् । यो क्रममा बर्षैपिच्छे बृद्धि छ । यसका धेरै कारणमध्ये एउटा पानी झरेको ठाउँबाट जमिनमुनि जान नसक्नु पनि एक हो । काठमाडौं महानगरको करीब ८३ प्रतिशत जमिन घर वा कुनै न कुनै प्रकारको संरचनाले ढोकेको अनुमान छ । यस कारण पनि आकाशबाट परेको पानीलाई संकलन गरेर सहरी व्यवस्थापन एवं प्राकृतिक सन्तुलनमा काम गर्नु पर्ने देखिन्छ ।

यस कोणबाट पनि काठमाडौं महानगरले अघि सारेको रिचार्ज काठमाडौं कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक देखिएको छ ।

यसमा तपाइको मत