गैरसरकारी संघ संस्था महानगरसँग के चाहन्छन्? धारणा माग्दै सहरी योजना आयोग

भौतिक, सामाजिक तथा आर्थिक समृद्धिका लागि ५ तहको साझेदारि अभ्यास गर्दै महानगर

DSC_2121चन्द्रमणि भट्टराई
साउन १७

काठमाडौं । काठमाडौंलाई कार्य स्थल बनाएर काम गर्ने गैर सरकारी संघ संस्था तथा गैर नाफामुलक पब्लिक कम्पनीहरुले — महानगरभित्र शासन व्यवस्थाको सञ्चार, कानुनी तथा बित्तिय साक्षरता, शुशासन, सीपमुलक तथा क्षमता बिकासका कार्यक्रमसँगै महानगरका सेवा प्रवाहको व्यवस्थापनमा सहयोग गर्न सक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजना गरिएको महानगरभित्रका गैरसरकारी तथा सामाजिक संघ संस्था परिचालन सम्बन्धि अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले यस्तो आशय व्यक्त गरेका हुन् ।

तपाईहरु काठमाडौं महानगरपालिकाभित्र के गर्न चाहनुहुन्छ? ती काम महानगरसँग कसरी सम्बन्धित हुन्छन्? तपाईको योजनामा भएका कामबाट सहरबासी कसरी लाभान्वित हुन्छन्? र तपाईलाई काम गर्न महानगरले के सहयोग गर्नुपर्छ? बिषयमा केन्द्रीत भएर कार्यपत्र प्रस्तुत गर्नोस्, अन्तरक्रियाका शुरुवात्मा सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठले आग्रह गर्नुभएपछि गैरसरकारी संघ संस्थाले कार्यपत्र प्रस्तुत गर्दै महानगरसँगको सहकार्यका बिषयमा धारणा राखेका हुन् । यसरी प्रस्तुति गर्नेहरुमा इनेबल नेपाल, चाइल्ड सेफ नेपाल, नेपाल बिकास समाज, सहरी गरीबहरुका लागि समाज, महिला एकता समाज, मानवताबाद संस्था नेपाललगायत संघ संस्थाकातर्फबाट प्रस्तुति भएको थियो ।

DSC_2135यसरी प्रस्तुत भएका संघसंस्थाहरुले निशुल्क कृतिम थ्रिडि हात निर्माण तथा जडान गर्ने, बालबालिकालाई इन्टरनेटको सुबिधा दिने र जोखिमबाट बचाउने, शिक्षा, वातावरण र सरसफाइमा काम गर्ने, बास अधिकार र जग्गा प्राप्तिका लागि काम गर्ने, कानुनी तथा बित्तिय शिक्षा बढाउन काम गर्ने, मानवताबाद र नैतिकता प्रवर्धन गर्ने काम गर्ने गरेको विवरण सुनाएका थिए । त्यस्तै औपचारिक र अनौपचारिक शिक्षाको बिकास र प्रवर्धनमा काम गरेको, महिला र दलित प्रतिनिधिसँग काम गरेको, क्षमता बिकास र सीप बिकास तथा उद्यमशिलता प्रवर्धनमा काम गरेको विवरण उल्लेख गरेका थिए ।

यी विवरण र काम सुनिसकेपछि सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — आयोगको काम र क्षेत्राधिकारका बिषयमा चर्चा गर्दै आयोगले नीति तथा योजना निर्माण तथा बिकास अनुसन्धान र सुपरीवेक्षणको काम गर्ने बताउनुभयो । कार्यान्वयन सम्बन्धित बिभाग र वडाबाट हुन्छ । हामी त्यसको गुणस्तर सुपरीवेक्षण गर्छौ, उपाध्यक्ष बस्नेतको भनाइ थियो । गैरसरकारी संघ संस्थासँगको सहकार्यको सम्भावनामा कुरा गर्दै उहाँले स्वास्थ्य क्षेत्रको सुधार, प्राथमिक स्वास्थ्य सेवाको बिस्तार,खाद्य सुरक्षा, सहरी बन तथा हरियाली प्रवर्धन, साप्ताहिक बजार व्यवस्थापन, पशु कल्याण तथा छाडा पशुको व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, बिज्ञान र प्रबिधिको बिकासबाट समाज रुपान्तरणका क्षेत्रमा काम गर्न इच्छुक भएको बताउनुभयो । उद्यमशिलता पनि हामीले काम गर्ने क्षेत्र हो तर पहिले जस्तो सौन्दर्यकर्मीको तालिम, अचार बनाउने, चुरा बनाउने जस्ता मात्र नभइ अलि बढी प्राबिधिक क्षेत्रको सीप दिने उपाध्यक्ष बस्नेतले योजना सुनाउनुभयो ।

महानगरले उपभोक्ता हित संरक्षण, महिला, बालबालिका र जेष्ठ नागरिकको हित प्रवर्धन, अनौपचारिक बस्तीको व्यवस्थापन, सहरी गरीबीलगायतका क्षेत्रमा पनि सहभागिता र साझेदारितामा काम गर्न सक्ने देखिन्छ ।

महानगरले यसरी साझेदारिता र सहभागितामा हुने कामलाई ५ तहमा बिभाजन गरेको छ । जसअनुसार स्थानीय समुदायमा आधारित साझेदारिता पहिलो हो भने निजी क्षेत्र र संघ संस्थाहरुसँग गरिने साझेदारिता दोश्रो तहको हो । त्यस्तै गैर सरकारी संघसंस्था तथा गैरनाफामुलक संघसंस्थासँग, बिकास साझेदार र सरकार— सरकारबीच हुने साझेदारितालाई क्रमशः तेश्रो, चौथो र पाँचौ तहको साझेदारिताका रुपमा राखिएको छ ।

आजको अन्तरक्रिया यसैभित्र पर्ने गैर सरकारी संघसंस्थाहरुको हो । आजको अन्तरक्रियामा २१ वटा संघ संस्थालाई आमन्त्रण गरिएको थियो । यो कार्यक्रम भोलि पनि चल्नेछ । भोलिको अन्तरक्रियामा २३ वटा संघसंस्थालाई बोलाइएको छ । यसरी अन्तरक्रियामा सहभागिता जनाउन इच्छुक संघ संस्थाहरुलाई सार्वजनिक सूचनाबाट आव्हान गरिएको थियो ।

 

 

यसमा तपाइको मत