गएको आर्थिक बर्षभित्र महानगरमा २५ वटा स्थानीय कानून

DSC_4725चन्द्रमणि भट्टराई
साउन १५

काठमाडौं । गएको आर्थिक बर्ष (२०७५/०७६) मा काठमाडौं महानगरपालिकाले २५ वटा स्थानीय कानुन तयार पारेर कार्यान्वयनमा ल्यायो । यसरी कार्यान्वयनमा आएका कानुनहरुमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक ऐन, २०७५, काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन विधेयक ऐन, २०७५ लगायत छन् । त्यस्तै शिक्षा ऐन, सार्वजनिक खरिद ऐनलगायतका ऐनलाई जनताको जीवनमा प्रत्यक्ष प्रभाव राख्ने ऐनका रुपमा हेरिएको छ । महानगरवासीलाई छिटो–छरितो रुपमा न्याय प्रदान गर्नका लागि विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ जारी गरियो । सवै वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तरमै मेलमिलाप गराई विवाद निरुपण गर्ने प्रक्रिया थालियो ।

महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवर्धन गर्न सहरी क्षेत्रको मुख्य–मुख्य चोकहरुमा सिसि टि.भी. क्यामरा सहितको ट्राफिक लाइट राख्ने कामले यस आर्थिक बर्षमा निरन्तरता पायो । महाराजगञ्जको नारायण गोपाल चोक, नयाँ बानेश्वर चोकका यस प्रकारका बत्ती जडान भए । त्यस्तै कार्यालय व्यवस्थापनलाई पारदर्शी बनाउनका लागि महानगरपालिकाका अधिकांश कार्यालयहरुमा सिसि.टि.भि.क्यामरा जडान गरिए । सहरको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी र सामुदायिक संघसंस्थाहरुसंग सहकार्यलाई निरन्तरता र तीब्रता दिइयो ।

विकास प्रक्रियामा दिगोपन ल्याउन, स्वामित्व र जनसहभागिता बढाउन बिकास प्रारुपलाई बिकेन्द्रीकरण गरियो । वडास्तरीय विकास योजना वडा कार्यालयबाटै सञ्चालन गराउन वडाहरुलाई जनसंख्या, क्षेत्रफल, कर परिचालन र विकासको अवस्थाको आधारमा ३ भागमा वर्गीकरण गराइएको थियो । यसलाई निरन्तरता दिँदै ठूला वडाहरुलाई ३ करोड, मझौलालाई २ करोड र साना वडाहरुलाई १ करोड ५० लाख निःशर्त विकास अनुदान उपलब्ध गराइयो ।

महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको पहिचान गर्ने, अतिक्रमण रोकेर संरक्षण गर्ने कामलाई वडाको अभियानका रुपमा अघि बढाइयो ।

काठमाडौं उपत्यकाको एकीकृत र समन्वयात्मक बिकास राजधानी सहरको बिकास व्यवस्थापनको ठूलो चुनौती हो । यसलाई व्यवस्थित बनाउन काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको संयोजकत्वमा उपइतका २ वटै जिल्लाका प्रमुख र उपप्रमुख सदस्य भएको उपत्यका नगरपालिका फोरम गठन गरियो । यससँगै महानगरले छिमेकी नगरलार्य बिकासमा साथसाथै अघि लैजान नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौं जिल्लाका सबै नगरलाई जनही १÷१ करोड रुपैयाँ उपलब्ध गरायो । पार्क तथा हरियाली र सम्पदा प्रवर्धन र सार्वजनिक जग्गा संरक्षणका परियोजना सञ्चालन यो रकम दिइएको हो ।

ऐतिहासिक र वातावरणीय दृष्टिले महत्वपूर्ण रहेका कमलपोखरी संरक्षण गुरुयोजना, शंखपार्क गुरुयोजना र चेस पार्कको डिजाईन तयार पार्नु छलफल गरी स्वीकृत गर्नु र कार्य प्रारम्भ गर्नु गएको बर्षका उपलब्धीभित्र पर्ने काम हुन् । यससँगै ४७ वटा परियोजनाहरुको सर्भे, डिजाईन, ड्रईङ्ग तथा इस्टिमेट गरेर कार्यान्वयन चरण पु¥याइएको छ । यस बर्ष मेयर उज्यालो कार्यक्रम अन्तर्गत महानगरपालिका क्षेत्रभित्र करिव १५ हजार स्मार्ट सडक वत्ती जडान गरियो भने न्युरोड र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ्ग सञ्चालन शुरुवात् गरियो ।


काष्ठमण्डप पुनःनिर्माण कार्य दु्रत गतिमा अगाडि वढिरहेको छ । रानीपोखरी पुननिर्माण कार्य महानगरपालिको सहकार्यमा प्रारम्भ भएको छ । इन्द्रायणी, कंकेश्वरी, लखतीर्थ, पचली भैरब, कोटेश्वर भगवती मन्दिरलगायत धार्मिक र सांस्कृतिक क्षेत्रहरुको बृहत्तर विकास योजना बनाएर संरक्षण, सम्वर्धन र प्रबर्धनको काम थालियो । हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदा पदमार्गको विकास, संरक्षण र सम्बर्धनका लागि बृहत गुरुयोजना बनाएर त्यस मार्गलाई सम्पदा पदमार्ग घोषणा गरियो । महानगर क्षेत्रभित्र रहेका ऐतिहासिक पोखरी तथा ढुंगेधाराहरुको तथ्याङ्क संकलन गरी संरक्षण र विकास कार्यको थालनी भयो ।

सहरी यातायात सुधारका लागि साझा यातायात सहकारी संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै युरो–४ मापदण्डका २० वटासमेत गरेर ५१ वटा ठुला बसहरु सञ्चालनमा ल्याउन १५ करोड रुपैयाँ लगानी गरियो ।

काठमाडौं महानगरपालिकाभित्रका ७५ बर्ष उमेर पुगेका महिला र ८० बर्ष उमेर पुगेका पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई बार्षिक १२ हजार रुपैयाँ महानगर बिशेष भत्ता उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइयो । यो भत्ता नेपाल सरकारले उपलब्ध गराएको जेष्ठ नागरिक भत्ताबाहेक महानगर आफैंले दिएको सम्मान हो । नेपाल सरकारले दिएको सामाजिक सुरक्षा भत्ता घर–घरमै गएर उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो । यसरी पाको उमेरका नागरिकलाई घरमै गएर नियमित र निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नु महानगरपालिकाका विभिन्न स्थानहरुमा ज्येष्ठ नागरिक मनोरञ्जन तथा सेवा केन्द्र स्थापना गर्नु यस बर्षका उल्लेख्य काम हुन् । परिचय पत्र भएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाउनु महानगरको अर्को महत्वपूर्ण काम हो ।

यसै बर्ष अस्पतालपूर्वको स्वास्थ्य सेवा सहितको अत्याधुनिक प्रविधि जडित एम्बुलेन्स सेवा सञ्चालन व्यवस्थापन गर्न नेपाल एम्बुलेन्स सेवासँग सम्झौता गरेर १० वटा एम्बुलेन्स सञ्चालन शुरु गरियो । त्यस्तै सहरलाई सडक मानव मुक्त शहर बनाउने अभियान अन्तर्गत सडकमा कष्टकर जीवनयापन गरिरहेका सहयोगापेक्षी (मनोरोगी, असहाय, अशक्त) हरुको संरक्षण सेवालाई दिगो र संस्थागत बनाउनका उद्धार प्रयोजनमा सञ्चालन गर्न सवारी साधन खरिद गर्न मानव सेवा आश्रमलाई २० लाख रुपैयाँ उपलब्ध गराइयो । सहरमा बढ्दै गएको धुँवा धुलोको प्रभाव कम गरी सहरलाई क्रमशः नो माक्स सिटिका रुपमा विकास गर्न ५ वटा अत्याधुनिक बु्रमर खरिद गरियो । थप २ वटा बु्रमर खरिद गर्ने प्रक्रियामा छन् । यस्तै प्रधानमन्त्री के.पी. शर्मा ओलीले गर्नुभएकोे मित्रराष्ट्र चीनको राजकीय भ्रमणका क्रममा चीनको छेन्दु नगरपालिकाले पठाउने भनेका २ वटा ब्रमुर पनि आइसकेका छन् ।

भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भबन निर्माण सम्बन्धी मापदण्डमा समयानुकुल संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ ।

करिअर क्याम्पअन्तर्गतको कार्यक्रममा ३२ जना स्नातक तह उत्तिर्ण ईन्जिनियरहरुलाई ६ महिनाको कार्यगत तालिम प्रदान गरियो । उनीहरुले महानगरले स्वीकृत गरेका कार्यक्रमहरुको ड्रइङ् डिजाइन तथा बिस्तृत परियोजना प्रतिवेदन तयार पारेका थिए । यससँगै नविन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवर्धन गर्न १ हजार ४०० बढी युवायुवतीलाई सहभागी गराएर सामुहिक प्लेटफर्ममार्फत “स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा – २०७५” आयोजना गरियो । यसबाट एनि टाइम ट्वाइलेटका सोचमा तयार पारिएको एप्लिेकसन प्रथम भएको थियो ।

 

यसमा तपाइको मत