सहरमा पानीको खाँचो टार्न आकाशे पानी संकलन भरपर्दो बिकल्प

हुन्छ भन्यो, गरौं भन्यो, लाभ लिने आउँदैनन्, अब आकाशे पानीको कुरा समुदायलाई बुझाउनु पर्छ — उपत्यकाका मेयरहरु

DSC_1625चन्द्रमणि भट्टराई
साउन १४

काठमाडौं । सहरमा चाहिने पानीको व्यवस्थाका लागि आकाशे पानी संकलन बिधि जरुरी छ । यो उपयोगी पनि छ । तर, लाभ लिने सहरबासी सेवा लिन आएनन् । अब समुदाय स्तरमा कुराकानी नगरी हुँदैन, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुखहरुको साझा मत देखिएको छ । गएको शनिवार र आइतबार काठमाडौंमा चलेको राष्ट्रिय आकाशे पानी संकलन कार्यशालामा नगरका प्रमुख, उपप्रमुख र प्रतिनिधिलाई लक्षित गरेर चलाइएको नगरपालिका सत्रमा बोल्ने मेयरहरुको निष्कर्ष यसै बिषयमा केन्द्रीत थियो ।

चाहे उर्जा व्यवस्थापनका लागि होस् या पानीसँग सम्बन्धित जीविकोपार्जनका लागि होस् । पानीको श्रोत व्यवस्थापनका लागि होस् या पानीको सतह सन्तुलनका लागि होस् । अब नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणा अनुसार योजना तर्जुमा गर्नुपर्छ । सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्र र अतिथि बक्ताहरुको धारणा यसै वरिपरि थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उर्जा मन्त्री बर्षमान पुनले भन्नुभयो — हाम्रा पुर्खाले आकाशे पानीको महत्व राम्ररी बुझेका थिए । यसलाई प्रयोग गरेर आफ्नो मात्र होइन, जैबिक बिबिधता पनि जोगाएका थिए । पुर्खाको ज्ञान छोड्दा अहिलेको पुस्ताले पानीबाट दुःख पाएका छन् । अब आकाशे पानीलाई पूर्ण उपयोग गर्नुपर्छ । नीति चाहिने भए नीति बनाउँ, व्यबहार परिवर्तन चाहिए, त्यस प्रकारका कार्यक्रम बनाउँ, तर अब केही गर्नै पर्ने भएको छ ।

दुई दिनसम्म चलेको कार्यशालाको समापनमा खानेपानी मन्त्री बिना मगर आउनुभएको थियो । यहाँको मत पनि उर्जा मन्त्रीको जस्तै थियो । उहाँले भन्नुभयो — घर चलाउन आकाशे पानी जोगाउन जत्तिको सजिलो बिधि अरु छैन । टाढााको मुल खोजेर कुलो वा पाइपबाट आउने पानी कुनै बेला पनि रोकिन सक्छ तर, आकाशबाट घरकै बलेँसीमा झरेको पानी उपयोग गर्न कसैले रोक्न सक्दैन । त्यसैले पनि आकाशे पानी घरायसी कामका लागि उत्तम बिकल्प हो भन्ने मलाई लाग्छ । कार्यशालाको निष्कर्षलाई ७ बुँदे सुझावका रुपमा ग्रहण गर्दै मन्त्री मगरले यसका लागि आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

सम्मेलनमा ३८ वटा संघ संस्थाको सहभागी थिए । कार्यक्रमका बिषयमा जानकारी दिँदै — मूल आयोजक समितिका अध्यक्ष रामदीप शाहले सम्मेलन अवधिमा ६ वटा सत्रभित्र ३० वटा कार्यपत्र प्रस्तुत गरिएको बताउनुभयो । कार्यशालामा करीब ५०० जनाको सहभागिता थियो । सम्मेलन स्थलमा आकाशे पानी संकलन सम्बन्धि जानकारी दिने, सामाग्री उपलब्ध गराउने, प्रबिधिको सिकाउने खालका प्रदर्शनी गरिएको थियो । उच्च शिक्षामा अध्ययन गरिरहेका बिद्यार्थीहरुबीचमा आयोजना गरिएको पोष्टर प्रतियोगिता सम्मेलनका महत्वपूर्ण पक्षमध्येको एक थियो । सम्मेलनमा भाग लिन कोरिया, श्रीलंका, भारतलगायत देशबाट पनि सहभागी आएका थिए ।

DSC_1113महानगरको सहभागिता

काठमाडौं महानगरको सहरी योजना आयोगले गुथिको प्राबिधिक सहयोगमा एउटा सत्र सञ्चालन गरेको थियो । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधि र सरोकारवाला निकायका अधिकारीलाई भेला गराएर, आकाशे पानी संकलनका बिद्यमान अवस्था, यसको प्रभावकारिता र चुनौतीका बिषयमा कुरा गर्नु सत्र चलाउनुको उद्देश्य थियो । । आयोगका उपाध्यक्ष सरोज बस्नेतले सञ्चालन गर्नुभएको सत्रमा किरण दर्नालले — आकाशे पानी निर्देशिकाका बिषयमा, चिरञ्जीवि भट्टराईले — संबिधान र खानेपानी पानी नीतिका सम्बन्धमा र हरिप्रसाद शर्माले — प्रचलित व्यवस्था बिश्लेषण गर्नुभएको थियो । उहाँहरुको कार्यपत्रमाथि टिप्पणी गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — पूर्खाले गरेको काम सिको गरे मात्र पनि पानीको ठूलो समस्या समाधान हुने धारणा राख्नुभयो । उनीहरु आकाशको पानी पोखरीमा जम्मा गर्थे । एक ठाउँमा अट्टाएन भने अर्को ठाउँमा लैजान्थे । खेतीमा बाँड्थे । त्यस खालको सिको हामीले खै त सिकाएको? परम्परामा राम्रा पक्ष प्रवर्धनमा ख्याल गरौं । बरु संघीय संसदमा केही आवाज पु¥याउनु पर्छ भने म तयार छु । त्यसै क्रममा बोल्दै महानगरका कार्यवाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — पानीको खाँचोले जनजीविकामा पार्ने अप्ठ््यारो सहरबासीलाई बुझाउने हो भने यो बिधि जडान गर्न कठिन नहुने तर्क राख्नुभयो । मैले त गरेकी छु, उहाँले आफ्नै प्रसङ्गसँग सहरबासीको आवश्यकता जोड्दै उहाँले भन्नुभयो — घर फरक ठाउँमा होला । घरको आकार प्रकार फरक होला तर पानीको समस्या एउटै छ । यदि समस्या एउटै हो भने घर घरमा मात्र होइन, नगर—नगरकाबीचमै पनि एउटै कार्यक्रमबाट समाधान खोजौं ।

त्यसै क्रममा बोल्दै — गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले समुदायमा आकाशे पानी संकलनको राम्रो नमूना प्रस्तुत गर्न नसकिएको बताउँदै यसबाट लाभ नहुञ्जेल जनतालाई बुझाउन कठिन रहेको बताउनुभयो । परियोजना लिएर आउने पनि छन् । त्यसलाई कहाँ कार्यान्वयन गर्ने भन्नेमा नै दोधार हुन्छ । उहाँको भनाइमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलको मत एउटै थियो । जुन दिनसम्म जनताले आकाशे पानीको महत्व गहिरो गरी जनतालाई बुझाउन सक्दैनौं, त्यसदिनसम्म परिणाममुखी काम गर्न कठिन छ ।

अब अरुलाई कति दोष देखाउनु? आफैं केही गरेर देखाउँ । सत्रमा बोल्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमा डंगोलले — आफूले आफ्नै क्षेत्रमा आकाशे पानी संकलन गरेर जीवन चलाएको देखेको बताउँदै यसलाई अब आफ्नो वडामा कार्यान्वयनमा लिएर जाने प्रतिवद्धता जनाउनुभयो । डल्लु आवास क्षेत्रमा यस प्रकारको प्रणाली जडान गर्न प्रोत्साहनका कार्यक्रम पनि थिए । तर, समुदायलाई राम्ररी बुझाउन नसक्दा, जनताले आफूलाई लाभ हुने ठाउँमा पनि सहभागी जनाएनन् । अब यसलाई सुधारेर काम गर्नुपर्छ, प्रवक्ता डंगोलको भनाइ थियो ।

समुदायले राम्ररी बुझेका छैनन् भने सरकारको स्वामित्वमा भएका ठाउँबाट प्रणाली जडान शुरु गरौं । सम्मेलनमा पूर्व वातावरण मन्त्री गणेश शाहले उर्जामन्त्री पुनलाई — उर्जा मन्त्रालयअन्तर्गतका सबै संरचनामा आकाशे पानी संकलन प्रबिधि जडान गर्न आग्रह गर्नुभयो । काठमाडौंका स्कूल, हस्पिटल, होटल र हाउजिङ्मा आकाशे पानी संकलन गरेर त्यहाँ लाभ हुन थालेपछि मानिसहरु आफैं धमाधम आफ्ना घरमा प्रणाली जडान गर्न उत्सुक हुनेछन् । पूर्वमन्त्री शाहले भनेमा सरकारले केही नीतिगत व्यवस्था गर्नुपर्छ । गुथिका प्राबिधिक सल्लाहकार प्रकाश अमात्य थप्नुहुन्छ — पानी व्यवस्थापनमा निजी क्षेत्रको लगानी र सहभागिता आकर्षित हुने नीतिगत प्रवन्ध थपिनु पर्छ । र त्यो व्यवस्थापनलाई जनताको नजिकमा बसेर कार्यान्वयन गर्नुपर्छ ।

कोरियाबाट सम्मेलनका लागि आएका ग्यावेन छोइले दक्षिण कोरियाको सोल महानगर र नेपालको काठमाडौं महानगरमा पानी वितरणको उस्तै समस्या भएको जनाउँदै दुवै नगरले आपसी सीप आदान—प्रदान गरे दुवैतर्फ लाभ हुने धारणा राख्नुभएको थियो ।

सम्मेलनमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख अशोककुमार व्याञ्जुले धुलिखेलका होटलले आकाशे पानी संकलन गरे करमा कही प्रतिशट छुट दिने व्यवस्था गरेकोले स्थानीय यसप्रति उत्साहित भएको बताउनुभयो । यसबाहेक बनेपा र पनौती नगरलाई जोडेर काभ्रे उपत्यका एकीकृत खानेपानी व्यवस्था लागू गर्न लागेको यसभित्र आकाशे पानी संकलन बिधि पनि समावेश हुने बताउनुभयो । त्यस क्रममा नेपालको खानेपानी तथा ढल निकासको अवस्थाका बिश्लेषण गर्दै, बिभागका महानिर्देशक सुनिलकुमार दासले — खानेपानी र सरसफाइ व्यक्तिको संवैधानिक हकका रुपमा स्थापित गरेको बताउँदै नेपालमा आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत जनतामा र आधारभूत सरसफाइको पहुँच ९९ प्रतिशत जनतामा पुगेको दावी गर्नुभयो ।

DSC_1183 (1)कार्यशालाले सरकारलाई दिएका सुझाव

१. पानीको समस्या र यससँग सम्बन्धित सेवाहरु प्रवाह सुधार गरेर मानिसलाई स्तरीय जीविकोपार्जनको वातावरण बनाउन आकाशेपानी संकलन एउटा गतिलो विकल्प हुन सक्छ । त्यसैले नेपालमा आकाशे पानी संकलनलाई प्रवर्धन गर्न जरुरी छ ।

२. नीतिगत प्रबन्ध त्यतिबेला फलदायी हुन्छन् जुनबेला त्यसको लाभ जनस्तरमा पुग्छ । खानेपानी व्यवस्थापनका कोणबाट केही क्षेत्रहरुमा मानिसको सोचमा व्यापक परिवर्तन हुन जरुरी छ । जस्तै —

— आकाशेपानी घरेलु कामका लागि मात्र नभई खानेपानी र अन्य कामका लागि बहुउपयोगी छ भन्ने धारणाको विकास हुनुपर्छ । खानेपानीको व्यवस्थापन र पर्यावरणीय सन्तुलनका लागि पनि यो महत्वपूर्ण छ ।

— आकाशे पानी संकलनको काम घरायसी, सार्वजनिक तथा संस्थागत सबै तहहरुमा प्रबर्धन गर्नुपर्छ ।

— आकाशेपानी संकलनलाई ग्रामीण क्षेत्रमा मात्र सीमित राख्नु हुँदैन । यसको आवश्यकता अझ शहरी क्षेत्रमा बढी छ र गरिब तथा धनी दुवैका लागि समान एवं लाभदायी छ ।

— आकाशेपानी संकलनको व्यवस्थापन, संरक्षण, पानीको गुणस्तर, विपद व्यवस्थापनका मुद्दाहरुलाई पनि जोड दिनुपर्छ ।

३. विभिन्न अध्ययनहरुले आकाशेपानी संकलन गर्न सकिन्छ र यसको आवश्यकता पनि छ भन्ने दर्शाएको छ ।

— अहिले आकाशेपानी संकलनको बिषयमा जे थाहा छ, त्यो भन्दा बढी प्रविधिहरुको प्रयोग गरी आकाशेपानी संकलनको कामलाई बढावा दिनुपर्छ ।

— आकाशेपानी संकलनको सुविधा प्रदान गर्दै आएका नीजि क्षेत्रहरुलाई आकर्षित गर्न व्यापारिक हिसाबले पनि यो क्षेत्र उत्तम छ भन्ने अवस्था सिर्जना गर्नुपर्छ । यसका लागि विशेष सहुलियत प्रदान गर्नुपर्छ ।

— अन्तराष्ट्रिय सहकार्यमा जोड दिनुपर्छ । आकाशेपानीको क्षेत्रमा सफलता हासील गरिसकेका अनुभवी राष्ट्रहरुको घटना अध्ययनबाट केही सिक्ने, सिकाउने गर्नुपर्छ ।

४. आकाशेपानीलाई जुनसुकै काममा प्रयोग गर्दा पानीको गुणस्तरमा ध्यान दिनुपर्छ । यसकारण पानीको गुणस्तर व्यवस्थापनका लागि अनुगमन अति जरुरी छ ।

५. आकाशेपानी संकलनसँग सम्बन्धित नीति, नियम, निर्देशिकाहरुलाई सरकारले अद्यावधिक गर्नुपर्छ । कार्यान्वयन भए नभएको अनुगमन गनुपर्छ । यसका लागि सबै तहका सरकारको भूमिकालाई स्पष्ट पार्नुपर्छ ।

६. आकाशेपानी संकलनप्रति जनचेतना जगाउन विशेष सचेतना अभियानहरु सञ्चालन गर्नुपर्छ । यो बिषयलाई बिद्यालय शिक्षाको पाठ्यक्रममा राख्नुपर्छ ।

७. नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुसरण गर्नुपर्छ । अहिलेको नयाँ सूचना र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ । अझ काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधानका लागि कोरियन विशेषज्ञता र अनुभवको प्रयोग गरी पहल गर्न सकिन्छ ।

 

यसमा तपाइको मत