वडा सचिव ओमप्रकाशको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार

आर्य घाट पुगेर कार्यवाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठबाट श्रद्धाञ्जली

चन्द्रमणि भट्टराई
साउन १४

काठमाडौं । वडा ८ मा सचिवका रुपमा कार्यरत ओमप्रकाश पौडेलको आज (मंगलबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । आइतबार राती करीब १० बजे असजिलो महसुस गरेर अस्पताल लैजादै गर्दा अस्पताल पुग्नु अघि नै उहाँको मृत्यु भएको थियो । मृतक पौडेलका मामा बद्रीनाथ घिमिरेका अनुसार राती १० बजेबाट शारीरिक रुपमा समस्या शुरु भएको थियो ।

छातीमा असजिलो हुन थालेपछि भाञ्जाले पानी पिउनु भएछ । पानी खाँदा पनि आराम महसुस नभएपछि तल्लो तलामा भाडामा बस्ने भाइलाई आग्रह गरेर स्कुटरमा अस्पताल लगियो । मृतकका मामा घिमिरेले घटना विवरण सुनाउँदै भन्नुभयो — शुरुमा ग्राण्डी जान भनेर हिँडेका रहेछन् । महाराजगञ्ज पुगेपछि अझ कठिन महसुस गरेपछि बाटोमै पर्ने ग्रीन सिटी अस्पताल लगियो । भाञ्जा (मृतक पौडेल) बीचमा हुनुहुन्थ्यो । पछाडि उहाँकी श्रीमति हुनुहुन्थ्यो । अस्पतालको गेटमा पुगेपछि हरिमाया भनेर श्रीमतिलाई बोलाउनुभएको थियो । भित्र पुग्दा डाक्टरले उहाँलाई मृतक घोषणा गरे । त्यसबेला ११ बजेर ३२ मिनेट गएको थियो । शरीर तातो छ तर प्राण छैन, डाक्टरले भनेका थिए ।

२०२६ साल बैशाख १७ गते जन्मनुभएका पौडेलको साउन १२ गते मृत्यु भएको हो । श्रीमति र छोरीका साथमा बस्दै आउनु भएका पौडेलका छोरा अष्ट्रेलियामा कम्प्युटर इञ्जिनियर पढ्दै हुनुहुन्छ । बुबाको मृत्यु भएको खबर सुनेपछि उहाँ आजै काठमाडौं आइ पुग्नुभयो । छोरा आएपछि पौडेलको अन्तिम संस्कार गरिएको हो ।

श्रद्धाञ्जली दिन उहाँको पार्थिव सरीर आज दिनको १२ बजेदेखि ०१ बजेसम्म जय बागेश्वरीस्थित वडा भवनको प्राङ्गणमा राखिएको थियो । त्यहाँ उहाँलाई श्रद्धाञ्जली दिन वडाध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरु जानुभएको थियो ।

महानगरका कार्यवाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आर्य घाटमा पुगेर उहाँलाई श्रद्धाञ्जली दिनुभएको थियो ।

 

यसमा तपाइको मत