काठमाडौंमा बिजुली बस चलाउन साझामा शेयर बढाउँदै प्रदेश र स्थानीय सरकार

प्रदेश सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरकातर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख रुपैयाँ शेयर लगानी जम्मा गरेर एकमुष्ठ ४५ करोडबाट बिजुली बस खरिद गर्ने योजना



DSC_6955चन्द्रमणि भट्टराई
असार १६

काठमाडौं । काठमाडौंमा बिजुली बस चलाउन साझा यातायात प्रा. लि. मा करीब ४५ करोड रुपैयाँको शेयर लगानी थप हुने भएको छ । प्रदेश सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरकातर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख रुपैयाँ शेयर लगानी थप गरेर एकमुष्ठ ४५ करोड रुपैयाँबाट बिजुली बस खरिद यो् । गर्ने योजना अघि बढेको हो । सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘युरो ४ मापदण्डका सहरी बस सेवा शुभारम्भ र बिद्युतीय बस सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर’ कार्यक्रममा हस्ताक्षरपछि प्रदेश नं. ३ का तर्फबाट ३० करोड रुपैयाँ हस्तान्तरण गरियो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले साझा यातायात प्रा. लि. सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोही प्रयोजनका लागि २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

DSC_7101कार्यक्रममा, काठमाडौं महानगरको ५ करोड तथा ललितपुर महानगरको १ करोड रुपैयाँ शेयर लगानीबाट प्राप्त भएको रकमबाट २० वटा युरो ४ मापदण्डका २० वटा सहरी सवारी सेवा पनि शुभारम्भ गरियो । मुख्य मन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, काठमाडौ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, साझा यातायात प्रा. लि. सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितसहित प्रदेश सभा सदस्य र जनप्रतिनिधिहरुले संयुक्त रुपमा रिवन काटेर सेवा सञ्चालन गर्नुभएको थियो । यसै कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले, बिद्युतीय रकम भुक्तानी (इपेमेन्ट) का लागि ‘यात्रा कार्ड’ को शुभारम्भ गर्नुभयो भने काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले जारी गरेको ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गर्नुभयो । यो ऐन गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाबाट स्वीकृत भएको हो ।

समारोहमा बिजुली बस सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकार, काठमाडौं र ललितपुर महानगर तथा साझा यातायात प्रा. लि. बीच सहमति पत्रमा हस्ताक्षर भयो । उक्त सहमति पत्रमा प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री
कैलाश ढुङ्गेल, काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले — आफ्नो प्रदेशमा भएका नगरहरुलाई धुँवा धुलोमुक्त बनाउन बिजुली बसमा लगानी गरिएको बताउनुभयो । नगरको भौतिक अवस्था सुधारका योजना धेरै छन् । तीमध्ये ब्रमुर खरिदका लागि नगरलाई सहयोग गर्ने योजना पनि छ । मुख्यमन्त्री पौडेलले प्राप्त सहयोगबाट नगरले महसुस योग्य काम गर्ने आशा व्यक्त गर्नुभयो । जनतालार्य सेवा दिँदा सरकारले नाफा वा घाटा हेर्नु हुँदैन । सरकारका जिम्मेवारीभित्र पर्ने सेवा सञ्चालन गर्दा घाटा पनि हुन सक्छ । जनताका लागि गरिने काममा नाफा घाटा हुँदैन । मुख्य मन्त्रीको जोड थियो । त्यस अवसरमा बोल्ने क्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुङ्गेलले — सार्वजनिक यातायात प्रणालीमा सुधार आएपछि जीवनस्तरमा स्वतः सकारात्मक प्रभाव पर्ने टिप्पणी गर्नुभयो ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात प्रणालीको सुधारबाट सहरी जीवन पद्धति, सुरक्षा र सुबिधा व्यवस्थापनमा जनतालाई महसुस गराउने अवस्था बनाउन खोजेको आफ्नो प्राथमिक योजना सुनाउँदै महानगरका प्रमुख शाक्यले — यस काममा प्रदेश सरकारले साथ दिएपछि आफ्नो योजना थप दरिलो बनेको धारणा राख्नुभयो । यहाँको भनाइसँग सहमति जनाउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो — विगतमा गाली मात्र गर्ने नगरबासीले यसपाली प्रशंशा गर्नुहुन्छ भन्ने आशा गरेको छु । राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ । बिद्युतीय बसले अहिलेको पुस्तालाई मात्र होइन, आउँदा पुस्तालाई पनि राम्रो प्रतिफल दिन्छ ।

त्यस अवसरमा बोल्दै, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले, सेवालाई दिगो बनाउन लक्ष्यमा आफू अघि बढेको बताउनुभयो । त्यस्तै शेयर सदस्य एवं वातावरणबिद् भुषण तुलाधरले — प्राप्त उपलब्धीलाई संस्थागत र दिगो बनाउनमा ध्यान दिनुपर्ने बताउनुभयो भने यात्रा कार्ड सञ्चालन गर्ने एन क्लाउडका सञ्चालक दिपेन्द्र श्रेष्ठले — अहिले केही बसलाई प्रयोग गरिएको कार्ड क्रमशः अन्तरजिल्लामा प्रयोग हुन सक्ने गरी बनाउन लागिएको बताउनुभयो ।

यसमा तपाइको मत