आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायकालागि हातेमालो गर्न प्रधानमन्त्री ओलीको आग्रह

६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

फागुन ७
काठमाडौं । प्रधानमन्त्री के. पि. शर्मा ओलीले राजनीतिक परिवर्तनको युगपछि आर्थिक परिवर्तन, समृद्धि, शुशासन र सामाजिक न्यायकालागि हातेमाला गर्न अपिल गर्नुभएको छ । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले — प्रजातन्त्र प्राप्तिको संघर्षमा पटक पटक प्राप्त गर्ने र खोसिने क्रमपछि निर्माण भएको संघीय नेपालमा “सुखी नेपाली र समृद्ध नेपाल” को सपना सार्थक बनाउने समय आएको बताउनु भयो ।  

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीशसहित उच्च प्रशानिक, जंगी तथा प्रहरी, महानगरका मेयर उपमेयरसहित स्थानीय तहका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।
प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रदर्शन गरिएको सांस्कृतिक नृत्य

टुँडिखेलमा समारोह हुनु अघि सहरका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहितको ¥याली टुँडिखेल पुगेको थियो । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्काउटले मार्च पास प्रदर्शन गरेका थिए भने राष्ट्रिय खेलकुल परिषद्कोतर्फबाट रोचक खेलहरु प्रस्तुत गरिएका थिए ।

ज्ञात अज्ञात सहिदहरुप्रतिको सम्मानमा मौनधारणबाट शुरु भएको समारोहमा नेपाली सेनाका दुई वटा हेलिकप्टरमध्ये एउटाले ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७४ अङ्कित व्यानर प्रदर्शन गरेको थियो भने अर्कोले पुष्पवृष्टि गरेको थियो ।

६८ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको समारोह

प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रदर्शन गरिएको सांस्कृतिक नृत्य

समारोहमा प्रधानमन्त्री के. पि. शर्मा ओलीले दिनुभएको मन्तव्यको पूर्ण पाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
माननीय मन्त्रीगण,
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,
विशिष्ट अतिथिहरु,
सञ्चारकर्मी,
र राष्ट्रिय प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाउन उपस्थित समस्त दिदीबहिनी तथा दाजुभाईहरु

नेपाली जनताको संघर्षबाट निरंकुश जहानीया शासनको अन्त्य भई प्रजातन्त्र प्राप्त भएको २००७ साल फागुन ७ गतेको गौरवमय एवं ऐतिहासिक दिनको उपलक्ष्यमा म सम्पूर्ण नेपाली दिदी वहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछु ।

२००७ सालको ऐतिहासिक परिवर्तनका लागि जीवन अर्पण गर्ने अमर योद्धाहरु एवं त्यस पछिको विभिन्न समय क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र, न्यायपूर्ण, समृद्ध र समुन्नत नेपाल राष्ट्रको निर्माणका लागि जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति हार्दिक एवं भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै लोकतन्त्रात्मक पद्दति, मूल्य मान्यता र आदर्शप्रति समर्पित भई जीवन उत्सर्ग गर्नु हुने प्रजातन्त्र सेनानीहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।ड्ड विभिन्न कालखण्डमा खोसिएको नेपाली जनताको अधिकारको पुनस्र्थापना, २०४६ एवं २०६२÷६३ को दुःख, कष्ट,संघर्ष र बलिदानी आन्दोलन तथा नेपाली जनताले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने प्रेरणा २००७ फागुन ७ बाटै प्राप्त भएको हो ।

आज जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तन सहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा हामी प्रवेश गरेका छौं । नेपाली जनताले लामो समय देखी अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ ।

दशकौं देखिका राज्यका केन्द्रीकृत संरचनाहरुलाई संघीयताको ढाँचामा ७ प्रदेश, ७५३ स्थानीय तह सहितको शासकीय पद्धतिमा ढाल्ने कार्य अगाडी बढेको छ । तीनवटै तहका सरकारहरुले आ–आफ्ना अधिकारका सीमा र सम्वन्धमा रही समन्वयात्मक तवरबाट शासन सञ्चालन गर्ने नयाँ अध्यायको सुरुवात भै सकेको छ । सवै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत “सुखी नेपाली र समृद्ध नेपाल” को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको छ ।

जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, िस्थरता, विकास र समृद्धि अवको हाम्रो कार्यदिशा हुनेछ । हाम्रो शासकीय मूल्य मान्यता, संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ । मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सवै नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई म हार्दिक आव्हान गर्दछु ।

विभिन्न आरोह अवरोध पार गर्दै, प्रतिकुल अवस्थामा तत्कालिन निरंकुश शासकहरु र व्यवस्थालाई परास्त गर्दै हामी आजको दिनसम्म आइपुगेका छौं । हामीले प्राप्त गरेको समय सापेक्ष संविधानको कार्यान्वयन निरपेक्ष विकासबाट सम्भव छैन । अव जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महा–अभियान सुरु हुने उद्घोष पनि म यसै समारोहबाट गर्न चाहन्छु । यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुलाई पनि सहभागिता र सहयोगको हार्दिक आव्हान गर्दछु ।

म सवै राजनीतिक दलहरु र आम नेपाली जनतासँग साझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल गर्दछु । नेपाली जनताले युगौ देखि साँचेका सपनाको वैधानिक र वैज्ञानिक रुपान्तरण गर्ने सुवर्ण अवसर हामीलाई प्राप्त भएको छ । यस अवसरमा प्राप्त ऐतिहासिक अभिभारा पूरा गर्न समयमै स्रोत र साधनलाई परिचालन गरी नेपाल र नेपाली जनताको बृहत्तर हित र समृद्धिका लागि जुट्न म सबैलाई पुनः आव्हान गर्न चाहन्छु ।

अन्तमा प्रजातन्त्रको सुनौलो उपहार नेपाली जनतालाई प्रदान गर्न प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति पुनःएकपटक श्रद्धा सुमन प्रकट गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद  

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत