चीनको नान्जिन नगर र काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने आशय पत्रमा हस्ताक्षर

सहरी व्यवस्थापनसँगै संस्कृति आदान प्रदान र पर्यटन प्रवर्धनमा सिकाइ आदान प्रदान हुने

DSC_5011चन्द्रमणि भट्टराई
असार ११

काठमाडौं । चीनको नान्जिन नगर र नेपालको काठमाडौं महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्न आशय पत्रमा हस्ताक्षर भएको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको सुखद भविष्यका लागि आपसी सिकाइ तथा नान्जिन सहरको संस्कृति र पर्यटन प्रवर्धन कार्यक्रममा यस सम्बन्धि हस्ताक्षर भएको हो । आशय पत्रमा महानगरकातर्फबाट उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी र नान्जिन नगरकातर्फबाट संस्कृति तथा पर्यटन सभाका अध्यक्ष लङ् सियाङ्ले हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा चीनको निउसोहाङ् संस्कृति तथा पर्यटन क्षेत्र र नेपालको अरनिको समाजबीच रणनीतिक सहयोग ढाँचा सम्बन्धि पत्रमा हस्ताक्षर भयो ।

समारोहलाई सम्बोधन गर्दै उपप्रमुख श्रेष्ठ खड्गीले आपसी हितलाई ध्यानमा राखेर भगिनी सम्बन्ध स्थापना गर्न लागिएको बताउनुभयो । भौतिक बस्तु आदान प्रदान गर्नु मात्र सम्बन्ध स्थापनाको उद्देश्य होइन । यसबाट जनतासम्म लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछन् । उहाँले थप्दै भन्नुभयो — सूचना सञ्चार तथा सूचना प्रबिधि, संस्कृति र पर्यटन तथा आपसी हित प्रवर्धनमा बिचार निर्माणबाट पनि लाभ प्राप्त गर्न सकिन्छ । आपसी सम्बन्ध र नान्जिन नगरको सम्बन्ध स्थापनाको रणनीतिका बिषयमा चर्चा गर्दै संस्कृति तथा पर्यटन सभाका अध्यक्ष सियाङ्ले — काठमाडौंसँग पर्यटनका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड पर्यटन बर्ष २०२० को तयारीमा छ । यसबेला हामी पर्यटन प्रबर्धनका हरेक बिषयसँग चासो राख्छौं । आउनोस् साझेदारिता अघि बढाउँ, समारोहमा पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले मिलेर काम गर्ने योजना सुनाउनुभयो । त्यस्तै नेपालका लािग चीनको राजदूताबासका संस्कृति शाखा प्रमुख सिडान बाइ मुले — गएको बर्ष १ लाख ५० हजार चिनियाँ नागरिक नेपाल घुम्न आएको तथ्याङ्क उल्लेख गर्दै यसलाई संस्थागत गर्न सके, आपसी सम्बन्ध नागरिक तहमा पुग्ने बिश्वाश व्यक्त गर्नुभयो ।

त्यस क्रममा निउसोहाङ् संस्कृति तथा पर्यटन क्षेत्रका महानिर्देशक झ्याङ् बिनले — आफ्ना क्षेत्रमा भएका पर्यटकीय सम्भावनाका बिषयमा प्रस्तुत गर्दै आफूसँग भएको ज्ञान, सीप र क्षमता काठमाडौंसँग बाँड्न तयार रहेको उल्लेख गर्नुभयो ।

समारोहपछि लिटिल रेड फ्लावर कला केन्द्रका बालबालिकाले नृत्य कला प्रस्तुत गरेका थिए ।

 

 

यसमा तपाइको मत