आउँदो आर्थिक बर्षका लागि महानगरको प्रस्तावित आयव्यय, १५ अर्ब ५० करोड ७० लाख १२ हजार

क्षेत्रगत कार्यक्रममा सबैभन्दा बढी पूर्वाधार बिकासमा ५ अर्ब ९८ करोड ३० लाख २४ हजार रुपैयाँ बिनियोजन

DSC_4873चन्द्रमणि भट्टराई
असार १०

काठमाडौं । आर्थिक बर्ष २०७६/०७७ का लागि महानगरले १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको आय व्यय प्रस्ताव गरेको छ । मंगलबार प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ५ औं सभाको दोश्रो बैठकमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक बिधेयक र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले बिनियोजन बिधेयक प्रस्तुत गर्दै आय व्यय प्रस्ताव गर्नुभएको हो । यो खर्च अनुमान चालु आर्थिक बर्षको बिनियोजित रु १३ अर्ब २ करोड १२ लाख ३७ हजारको तुलनामा १९ प्रतिशतले धेरै हो । सभामा उपप्रमुख श्रेष्ठ खड्गीले बजेट मन्तव्य राख्नुभएको थियो ।

DSC_4998प्रस्तावित बिनियोजन बिधेयकमा सबैभन्दा बढी पूर्वाधार बिकासका लागि रकम छुट््याइएको छ । कुल बजेटको ३९ प्रतिशत अर्थात् ५ अर्ब ९८ करोड ३० लाख २४ हजार रुपैयाँ यस क्षेत्रका लागि बिनियोजित भएको छ । यसमा उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरु समेटिएका छन् । त्यसपछि धेरै बजेट छुट््याइएको सामाजिक विकास क्षेत्र हो । खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृति प्रबर्धनका कार्यक्रमहरु समेटिएको यस क्षेत्रका ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट बिनियोजन भएको छ । यो रकम कुल बजेटको २४ प्रतिशत हो । सस्थागत विकास तेश्रो ठूलो बजेट बिनियोजन भएको क्षेत्र हो । यस क्षेत्रका लागि ३ अर्ब ५९ करोड १८ लाख ५० हजार रुपैयाँ अर्थात् कुल बजेटको २३ प्रतिशत बजेट राखिएको छ । सेवा प्रवाह तथा सुशासन जस्ता पक्षसहित यस क्षेत्रमा अभिलेख व्यवस्थापन, नागरिक वडापत्र, मानव संसाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, आन्तरिक तथा अन्तिम लेखा परीक्षण, राजस्व परिचालन, संस्थागत क्षमता विकास, पूँजीगत सम्पत्तिको सञ्चालन र सम्भार खर्च, कार्यालय सामान तथा सेवाहरु, सेवा तथा परामर्श खर्च, कार्यक्रम सम्बन्धी खर्चहरु, अनुगमन र मुल्याङ्कन, भ्रमण अन्तर्गत हुने खर्चहरु, स्थिर सम्पत्तिको उपभोग खर्च, आन्तरिक ऋणको व्याज, सेवा शुल्क आदि पर्दछन् ।

जग्गा बिकासका लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार छुट््याइएको छ । त्यस्तै उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तिय र सहकारी क्षेत्र रहेको आर्थिक बिकासका लागि ६९ करोड ७ लाख ७४ हजार रुपैयाँ र वातावरण तथा विपद व्यवस्थापनतर्फ वाताबरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको ब्यबस्थापन, वन तथा भू (संरक्षण, बारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका लागि ३९ करोड १५ लाख ४५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

DSC_4917प्रस्तावित बजेटमध्ये आन्तरिक श्रोतबाट ७ अर्ब ५६ करोड ६ लाख ३७ हजार रुपैयाँ अर्थात् अनुमानित आम्दानीको ५२.५८ प्रतिशत रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै बाह्य श्रोतबाट ४ अर्ब १८ करोड ९० लाख ८ हजार रुपैयाँ, महानगरपालिकाको नाममा बैंकमा रहेको मौज्दातबाट २ अर्ब ६२ करोड ९० लाख ९७ हजार रुपैयाँ र आफूमातहतका आयोजनाहरुबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ गरी १५ अर्ब ५० करोड ७० लाख १२ हजार आय हुने अनुमान गरिएको छ ।

चालु आर्थिक बर्ष २०७५/०७६ मा कुल राजस्व असुलीको अनुमान १३ अर्ब २ करोड १२ लाख ३७ हजार राखिएको थियो । जसमध्ये आन्तरिक श्रोतबाट ४ अर्ब ९० करोड २१ लाख ५७ हजार रुपैयाँ, नगद मौज्दातबाट १ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ र बाह्य श्रोतबाट ५ अर्ब ६५ करोड ५२ लाख असुली गर्ने अनुमान गरिएको थियो । त्यसै गरी काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुबाट ९८ करोड ८० हजार आम्दानी हुने आशा गरिएको थियो । यसमध्ये चालु आर्थिक बर्षको बैशाख मसान्तसम्मको अवधिमा आन्तरिक आयतर्फ ३ अर्ब ३९ करोड २ लाख १२ हजार रुपैयाँ र अन्य श्रोतबाट २ अर्ब ८४ करोड ५५ लाख ७८ हजार गरी जम्मा रु ६ अर्ब २३ करोड ५७ लाख ९० हजार रुपैयाँ कुल राजस्व प्राप्त भएको छ । यो संख्या अनुमानित आम्दानीको ५१.५ प्रतिशत हो । यसमा काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका आयोजनाहरुको आम्दानी समाबेश गरिएको छैन ।

नगर सभा सञ्चालन गर्दै सभाका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले आउँदो आर्थिक बर्षमा राजस्वको दर नभइ दायरा बढाउने नीति रहेको उल्लेख गर्नुभयो । त्यस्तै सभाका उपाध्यक्ष एवं महानगरकी उपप्रमुख श्रेष्ठ खड्गीले, बिकासका आयामलाई सन्तुलित बनाउने प्रयास भएको बताउनुभयो ।

नगर सभा हुनु अघि सभा गृहमा बसेको कार्यपालिकाको ३६ औं बैठकले आर्थिक तथा बिनियोजन बिधेयक स्वीकृत गरेको थियो । यसरी कार्यपालिकाको बैठकबाट स्वीकृत बिधेयकहरु नगरसभामा प्रस्तुत भएका हुन् ।

यसमा तपाइको मत