महसुस योग्य विकास मेरै पालामा सम्भव बनाउँछु — मेयर शाक्य

प्रविधिबाट नागरिक र सरकारको सम्बन्ध जोड्ने प्रयास हुने

फागुन ४

काठमाडौं । नागरिकलाई सेवामा सन्तुष्टि दिने तथा सुविधामा पहुँच बढाउने कामलाई प्राथमिकतामा राखिएको जनाउँदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — मौलिकता जोगाएर प्रविधिले नागरिकलाई सरकारसँग जोड्ने प्रयासमा लाग्ने बताउनुभएको छ । नागरिकले महसुस गर्ने विकास आफ्नै पालामा सम्भव बनाउने मेयर शाक्यको भनाइ छ । इजरायलको राजधानी जेरुसेलममा सम्पन्न ३२ औं अन्तरराष्ट्रिय मेयर सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्कनु भएका मेयर शाक्यले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो । सो क्रममा मेयर शाक्यले भननुभयो — गरे असम्भव केही छैन । हामीभन्दा पछाडि विकासको बाटो समातेका सहरको समृद्धि माथि पुगिसक्यो । हामी पनि अव तीव्र विकासमा लाग्छौ. । 

मेयर शाक्यसँगै सम्मेलनमा भाग लिन जानुभएका महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले भन्नुभयो — काठमाडौंलाई स्मार्ट सिटी बनाउन लक्ष्य हो त्यसको आधारभूत पूर्वाधार तत्काल परिपूर्ति गर्ने बाटो अवलम्बन गरिनेछ । नागरिकले महसुस गर्न सक्ने विकास महानगरको प्राथमिक योजना हो । 

अमेरिकी कंग्रेसको आयोजनामा फेव्रुवरी ११ देखि १५ तारिखसम्म इजरायलको राजधानी जेरुसलममा सम्पन्न मेयर सम्मेलनका क्रममा मेयर शाक्यले तेल अभिभ नगरका मेयर रोन हुल्दाइलगायत अन्य विभिन्न नगरबाट आउनु भएको प्रमुख एवं प्रतिनिधिहरुसँग भेट गरी सहरी व्यवस्थापनका आपसी अभ्यास र सिकाइका विषयमा जानकारी लिनुभएको थियो भने तेल अभिभ सहरको व्यवस्थापनमा प्रयोग भएको प्रविधिका विषयमा सम्बन्धित कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो । सोही क्रममा इजरायलमा पानी प्रशोधनका क्षेत्रका काम गरिरहेको ताथल कम्पनीका प्रतिनिधिसँग पानी शुद्धिकरणमा प्राप्त उपलब्धीका विषयमा अन्तरक्रिया गर्नुभएको थियो । सम्मेलनका दौरानमा मेयर शाक्यले गएको बुधबार इजरायलस्थित नेपाली राजदूतावासको अवलोकन गरी राजदूत निरञ्जन थापासँग भेट गर्नुभएको थियो ।

सम्मेलनमा विश्वका ३२ वटा सहरका नगर प्रमुख, अन्य सहरका प्रतिनिधि र निजी क्षेत्रका उच्च व्यवस्थापकहरुको सहभागिता थियो । 

मेयर स्वदेश फर्कदा अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्न महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसँगै कार्यपालिका सदस्य एवं वडाध्यक्षहरु र महानगरका अधिकारीहरु पुग्नुभएको थियो ।

सम्मेलनका क्रममा देखेका भोगेका र त्यसबाट काठमाडौंमा गर्न सकिने कामका विषयमा जानकारी गराउँदै मेयर शाक्य । 

मेयर शाक्यलाई स्वागत गर्दै अधिकारीहरु
चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत