घरभित्र दुःख दिने कीरा मार्ने बिषादिमा कडाइ गर्दै महानगर

महानगरक्षेत्रभित्र करीब ५० वटा बिषादि पसल छन्, दर्ता भने करीब १५ वटा मात्रै

DSC_0629चन्द्रमणि भट्टराई
जेठ २७

काठमाडौं । घर, होटलजस्ता मानिस बसोबास गर्ने ठाउँमा आउने कीरा मार्न प्रयोग हुने बिषादि जथाभावी बेचबिखन हुन थाले पछि महानगरले नियमन गर्ने भएको छ । मानिसका घरमा झिँगा, मुसा, उपियाँ, उडुस, माकुरो, लामखुट्टे, बिच्छीजस्ता कीरा आउन थालेपछि बजारमा पाइने बिषादि ल्याएर प्रयोग गर्ने गरिएको छ । यसप्रकारका बिषादि खाद्य पसलमा पनि किन्न पाइन्छ । मानव स्वास्थ्यका लागि यो जटिल खालको समस्या बनेको छ । सोमबार महानगरले आयोजना गरेको इन्डोर पेस्ट एवं पुष्प व्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठीमा बोल्दै कृषि तथा पशु सेवा बिभागका प्रमुख हरिबहादुर भण्डारीले भन्नुभयो — महानगरभित्र इन्डोर पेष्ट (शत्रुजीब) मार्ने बिषादि जथाभावी पाइन्छ । यसप्रकारका बस्तु बेच्नकै लागि करीब ५० वटा पसल सञ्चालनमा छन् तर समस्या के हो भने महानगरमा दर्ता भएका चाहिँ १५ वटा मात्र छन् ।

मानवस्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पर्ने यस प्रकारका बस्तु जथाभावी बेचबिखन गर्न पाइदैन । गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्लान्ट क्वारेन्टाइन तथा बिषादि व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माले, समस्या देखाउँदै भन्नुभयो — समस्या बेच्नेसँग मात्र होइन । मनलाग्दी किन्ने र मनलाग्दी मात्रा तथा समयमा प्रयोग गर्ने उपभोक्तामा पनि सचेतनाको कमी छ । बिषादि ऐनका बिद्यमान प्रबधानमा चर्चा गर्दैै शर्माले, समस्या नियममा भन्दा नियतिमा धेरै भएको टिप्पणी गर्नुभयो । हो, सहरमा बिषादि जथाभावी नै छ । सही मात्रा र परिणाम मिले यसले राम्रै गर्छ नत्र असर गर्छ, बिषादि व्यवसायी संघका पूर्व अध्यक्ष मणिदेव भट्टराईको भनाइ छ ।

गोष्ठीमा प्राबिधिक प्रस्तुति प्रस्तुत गर्दै डा. समुन्द्रलाल जोशीले बिषादिको गुण चिनेर प्रयोग नगर्नाले समस्या बढ्न सक्ने खतरा भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको मत