काठमाडौंमा विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली सम्मेलन शुरु

बिकासको अवधारणालाई परिवर्तनको खाँचो — गृहमन्त्री थापा


DSC_0424चन्द्रमणि भट्टराई
जेठ २७

काठमाडौं । काठमाडौंमा आजदेखि विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका बिषयक दक्षिण एसियाली सम्मेलन शुरु भएको छ । नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहेको सम्मेलनमा चीन पनि सहभागी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनको शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले — बिकासको अवधारणा परिवर्तन गरेर बिकास बिपद्सँग पनि सम्बन्धित छ भन्ने सोचले काम गर्नु पर्ने धारणा राख्नुभयो । बिपद् बिश्वव्यापी समस्या हो । त्यसैले सम्भावित बिपद्लाई सबैले एकै प्रकारको खतराका रुपमा हेर्नुपर्छ र मिलेर सामना गर्नुपर्छ । गृहमन्त्रीको जोड थियो ।

बिकास निर्माण तथा उपयोग गर्दा उत्पन्न हुने बिपत्तिलाई सचेतनाबाट न्युनीकरण गर्ने उपाय प्रवर्धन गरिरहेको बताउँदै गोष्ठीमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्याञ्जुले भन्नुभयो — समुदायलाई सम्भावित बिपत्तिको सामना गर्न सक्ने बनाउन स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो । स्थानीय तह अधिकार सम्पन्न हुँदा नेपाल सरकार कमजोर हुँदैन, बरु झन् बलियो हुन्छ, यहाँले थप्दै भन्नुभयो — नेपाल सरकारले स्थानीय सरकारलाई क्षमताबान् बनाउन लोभ गर्नुपदैन । उहाँको भनाइमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठको पनि एउटै मत थियो । स्थानीय सरकार बलियो हुँदा नेपाल सरकारले आफूलाई कति बलियो महसुस गर्छ थाहा छैन तर जनता भने निश्चय नै बलिया हुन्छन्, श्रेष्ठले भन्नुभयो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुननिर्माणका धेरै काम भएका छन् । महसुस गर्नुपर्छ, गोष्ठीमा धारणा राख्ने क्रममा जिल्ला समन्वय समिति संघका प्रवक्ता नवराज गेलालले भन्नुभयो — प्राप्त परिणामलाई बढाएर लैजानुपर्छ ।

बिपत्तिको सामना गर्न स्थानीय सरकारसँग योजना चाहिन्छन् । हरेक समस्यालाई त्यहीँबाट समाधान गर्नुपर्छ । कार्यक्रममा बोल्दै युनाइटेड सिटिज लोकल गभरमेन्टका महासचिव डा. बेर्नादी इरावती तजन्द्रावतीले आफू २५ बर्षदेखि नियमित नेपाल आउने गरेको र यस अवधिमा नेपालले धेरै प्रगति गरेको देखेको बताउनुभयो ।

गोष्ठीमा व्हाङ्जाउ पिपुल्स एशोसिएन फर फ्रेन्डसिप विथ फरेन कन्ट्री चाइनाका उपनिर्देशक व्हाङ जि, श्रीलङ्काको अनुराधापुरा नगरका पब्लिक हेल्थ इन्पेक्टर जेभिआरडब्लुजे बन्दारा, बंगालादेशको जेनैदा नगरका सचिव मुस्तक अहमद, पाकिस्तान बञ्जावको लोकल काउन्सिल एशोसिएसनका अध्यक्ष फोजिया खालिद, अल इन्डिया इन्स्टिच्युट अफ सेल्फ लोक गभरमेन्टका महा निर्देशक राजीव अग्रवालले सहभागी देशकातर्फबाट धारणा राख्दै आपसी सोच र अनुभव आदान प्रदानबाट बिपत्तिको सामना गर्ने क्षमता बढ्ने बताउनुभयो । हरेक देशले आफ्ना आफ्नै खालका बिपत्तिको सामना गरेका छन् । ती सिकाइ आपसमा बाँड्न सकियो भने मात्र पनि पूर्वतयारीका लागि ठूलो उपलब्धी हुनेछ, उहाँहरुको जोड थियो ।

आज र भोलि २ दिनसम्म चल्ने कार्यशालामा भूकम्पपछिको पुनर्निर्माणका उपलब्धी र त्यसको दिगोपना लगायतका विषयमा कार्यपत्र प्रस्तुति, प्यानल डिस्कसन, विपद्, पुनर्निर्माण लगायतका विषयका तुलनात्मक अनुभव आदान–प्रदान र भावी रणनीति तय गर्ने कार्यक्रम छ ।

 

यसमा तपाइको मत