स्थानीय बिवाद अदालत पठाउँदा समय र सम्पत्तिमा क्षति बढ्छ — मेयर शाक्य

मेलमिलापकर्ताको तालिम शुरु

DSC_8815चन्द्रमणि भट्टराई
जेठ २२

काठमाडौं । स्थानीय मुद्दा अदालत पठाउँदा नागरिकको समय र सम्पत्ति खर्च हुने जनाउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बिवाद सृजना भएकै ठाउँमा व्यवस्थापन गर्ने बिधि प्रवर्धन गरिने बताउनुभएको छ । मंगलबारबाट राष्ट्रिय सभा गृहमा शुरु भएको मेलमिलाप सम्बन्धि आधारभूत प्रशिक्षण कार्यक्रमको शुरुवात् गर्दै प्रमुख शाक्यले — सामाजिक अनुशासन कायम गरेर बिवादलाई शान्तिपूर्ण व्यवस्थापनमा आफ्नो जोड रहेको बताउनुभयो । प्रशिक्षणले व्यक्तिलाई व्यवहारिक र परिपक्व बनाउने भएकोले वडाको शिफारिसमा हरेक वडाबाट एकजना पुरुष र एकजना महिलालाई तालिममा सहभागी गराइएको बताउँदै उहाँले महानगरको सोच समाजमा बिम्बित गर्न आग्रह गर्नुभयो ।

मेलमिलाप सामाजिक सेको काम हो । यसमा दुवै पक्षलाई न्याय दिने प्रयास गरिन्छ । कार्यक्रममा बोल्दै, महानगरका निर्देशक बसन्त आचार्यले मेलमिलापबाट शान्ति स्थापनामा सहयोग पुग्ने बताउनुभयो । सोही अवसरमा बोल्दै नेपाल मेलमिलाप समाजका अध्यक्ष शंकर सुवेदीले — स्वीकृत पाठ््यक्रममा आधारित मेलमिलाप सम्बन्धि तालिम प्राप्त व्यक्तिले मात्र मेलमिलाप गराउन पाउने भएकोले तालिमको संख्या बृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार यो तालिम ४८ घण्टाको हुनेछ । तालिममा एक पटकमा २७ जनाभन्दा बढी व्यक्तिलाई सहभागी गराउन पाइँदैन ।

महानगरले यो तालिम ३ चरणमा सञ्चालन गर्दैछ । कानुन शास्त्रमा अध्ययन गर्ने व्यक्ति भएर मात्र मेलमिलाप गराउन पाइदैन । यसका लागि तालिम नै लिनुपर्छ । तालिमपछि शपथ ग्रहण हुन्छ । त्यसपछि मात्र पक्ष बिपक्षलाई मेलमिलाप गराउन पाइन्छ ।

तालिममा मेलमिलाप गर्ने तरिका, कस्ता मुद्दामा मेलमिलाप गराउन सकिन्छ? स्थितिलाई कसरी सामान्य बनाउने? यस सम्बन्धि कला र औजार सम्बन्धि सीप दिइन्छ । त्यस्तै तालिमकर्तालाई कुनै मुद्दामा पक्ष बिपक्ष तथा मेलमिलापकर्ता बनाएर बिवाद मिलाउने प्रयोगात्मक सीप पनि सिकाइन्छ ।

Tags

#Melmilap

यसमा तपाइको मत