सहरी योजना आयोगको उपाध्यक्षमा बस्नेत नियुक्त

चन्द्रमणि भट्टराई
जेठ १२

काठमाडौं । काठमाडौं महानगरको सहरी योजना आयोगमा सरोज बस्नेत उपाध्यक्ष नियुक्त हुनु भएको छ । महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको प्रबक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । बस्नेत यस अघि आयोगको सदस्य सचिव हुनुहुन्थ्यो । गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम उहाँलाई उपाध्यक्ष नियुक्त गरिएको हो । ऐनले आयोगको अध्यक्ष महानगरको प्रमुख रहने व्यवस्था गरेको छ । बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गरेको छ ।

बैठकमा प्रहरीसँगको साझेदारितामा सहरमा राखिने सिसिटिभि क्यामरा जडान गर्न थप २ करोड ८१ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस अघि यही कार्यक्रमका लागि ३ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

बैठकका अध्यक्ष एवं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — वडाका योजना कार्यान्वयन गर्दा महानगरसँग समन्वय गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आग्रह गर्नुभयो । महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगर सभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउनोस्, मेयर शाक्यले थप्दै भन्नुभयो — धेरै काम वडाबाटै गर्नुपर्छ भन्ने मेरो चाहना हो । वडाबाटै काम भए पनि केन्द्रमा जानकारी चाहिँ हुनुपर्छ ।

बैठकमा प्रमुख शाक्यले जेठ २२ स्मार्ट टेक्नोलोजी कम्पिटिसनको समापन कार्यक्रम आयोजना गरिने जानकारी गराउनुभएको थियो ।

 

यसमा तपाइको मत