घरेलु फोहोर र जलबायु परिवर्तन सम्बन्धि कार्यशाला सम्पन्न

समस्या देखाउने होइन, समाधान दिने बिज्ञ चाहियो — मेयर शाक्य

DSC_6910चन्द्रमणि भट्टराई
जेठ ८

काठमाडौं । सहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो रुपमा व्यवस्थापन गरेर जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले —सहरमा यस्ता समस्या छन् भनेर देखाउनेभन्दा यो समस्याको समाधान यो हो भनेर देखाउने बिज्ञको खाँचो रहेको देखाउनुभयो । कुनै एउटा बिषय दियो भने घण्टौंसम्म बोल्न सक्ने क्षमता हुन सक्छ । समस्याका चाङ् लगाइदिन सक्ने प्रवृत्ति हुन सक्छ । धेरै बिकल्प देखाउने पनि गर्न सकिन्छ । तर, यो समस्याको समाधान गर्न सक्ने यो नै उपयुक्त बिकल्प हो भनेर देखाउन सक्ने बिज्ञ पाउन सकिएन । मेयर शाक्यले अनुभव सुनाउँदै भन्नुभयो — आम नागरिकसँ जोडिएका समस्या समाधानमा बिकल्प दिने जोकोहीलाई पनि स्वागत छ । तपाईँको सुझावलाई हामी नीतिमा उल्लेख गर्छौं, बजेट व्यवस्था गरेर कार्यान्वयन गर्छौं, आउनुहोस् सुझाव दिनोस् ।

वातावरणीय सुधारका लागि हाी बिद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं । केही बिज्ञ भन्छन् — काठमाडौंमा बिद्युतीय सवारी चलाउन हुँदैन । बिज्ञबाट आएका यस्ता धारणाले काममा अलमल गराइदिन्छ । मेयर शाक्यले सहरी व्यवस्थापन वातावरणीय मुद्दामा कुरा गर्दै — सवारी जाम कम हुनासाथ बायु प्रदुषणमा कमी आएको उल्लेख गर्नुभयो । सहरी समस्या बहुपक्षीय सम्बन्धका हुन्छन् । हामी जिम्मेवारपूर्वक समस्याको समाधानमा जुटेका छौं ।

गोष्ठीमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — सहरी आचरण क्रमशः बनिबनाउ बस्तुको उपभोगमा अभ्यस्त बन्न थालेको छ । प्लाष्टिकजन्य बस्तु मानिसको अभिन्न अङ्ग भइसक्यो । फोहोर मैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर व्यवस्थापन हुने होइन । यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्छ । सहरी समस्या गोलमटोल छन् । समस्या प¥यो भने अरुलाई देखाउन मिल्ने र राम्रो भयो भने आफूले जस लिन सजिलो अवस्था छ । गोष्ठीमा धारणा राख्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — सडक सञ्जाललाई उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो । सडक कस्ले खन्छ? किन खन्छ? खनेपछि किन पुर्दैन? नागरिकलाई थाहा नै हुँदैन । सहरका सडक बिगार्ने धेरै निकाय छन् तर धुँवा उड््यो भने महानगरले गाली खानुपर्छ । अब हामी सहरी सेवा र पूर्वाधारमा सीमा लगाएर जिम्मेवारी छुट््याउने सोचमा छौं । यसले केही सुधार हुन्छ कि, न्यौपानेले आशा व्यक्त गर्नुभयो ।

गोष्ठीमा वातावरणबिद् भुषण तुलाधरले नगरपालिकामा उत्पादन हुने फोहोरले जलबायु परिवर्तनमा पारेको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै — जैबिक जोहोरबाट ३.६ प्रतिशतले हरित गृह ग्याँस उत्सर्जन हुने बताउँदै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका पूर्व कानुन अधिकृत दिपेन्द्र ओलीले — फोहोरमैला व्यवस्थापनका लागि प्रचलित कानुन र वातावरणीय सुधारका लागि यसको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै — फोहोरमैलाको दिगो व्यवस्थापन गर्न तथा फोहोरबाट पर्न सक्ने वातावरणीय नकारात्मक असर कम गराउन परिपक्व कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व वातावरणमन्त्री गणेश शाह र फोहोरमैला व्यवस्थापन केन्द्रका पूर्व महाप्रवन्धक सूर्यमान शाक्यले — दायित्व नलिने प्रवृत्ति र आपसी समन्वय बिना काम गर्ने परिपाटीले व्यवस्था बिग्रिएको धारणा राख्नुभयो । महानगर सहरी व्यवस्थापनमा वातावरणीय पक्षले समस्या सृजना नगरोस् भन्ने चाहन्छ, गोष्ठीमा वातावरण व्यवस्थापन बिभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले भन्नुभयो — एकजनाले मात्र गर्छु भनेर नहुने रहेछ ।

गोष्ठीमा सरकारी कार्यालय, सुरक्षा निकाय तथा फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यसमा तपाइको मत