वडा २९ मा जेष्ठ नागरिक भवनको शिलान्यास

७ करोड लागतमा तयार हुने भवन १८ महिनामा निर्माण सम्पन्न गरिने

DSC_5777चन्द्रमणि भट्टराई
जेठ ६

काठमाडौं । महानगरको वडा २९ मा बीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिलान्यास भएको छ । सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा संघीय संसद सदस्य प्रकाशमान सिंह र महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो । भवन निर्माणका लागि क्षेत्र नं. १ का संसद प्रकाशमान सिंहले संसद कोषबाट ५० लाख उपलब्ध गराउनु भएको छ भने महानगरले वडालाई पठाएको रकमबाट ठूला आयोजनामा खर्च हुने रकमबाट ५० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ । यससँगै प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ र गणेश दुलालले भवन निर्माणका लागि थप रकम प्रदेशबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै संसद सदस्य प्रकाशमान सिंहले — भवन निर्माण कार्य समयमा नै सम्पन्न गरेर सरकारले तोकेको समयमा काम गर्छ भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गर्नुभयो । संसद बिकास कोषका बिषयमा उठेका चर्चाप्रति संकेत गर्दै उहाँले भन्नुभयो — संसदले पाउने पैसा गोजीमा आउने पनि होइन, जहाँ मन लाग्यो त्यहाँ खर्च गर्न पनि पाइँदैन । त्यसैले यसको आलोचना गर्नुपर्दैन ।

DSC_5767शिलान्यासपछि धारणा राख्ने क्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, बिकास गर्न श्रोतको कमी नहुने उल्लेख गर्नुभयो । धेरै व्यक्तिलाई लाभ पुग्ने योजनामा सबै मिलेर काम गर्ने हो भने, परिवर्तन देखाउन समय लाग्दैन । भ्रम फैलाउने प्रवृत्तिले हुने काम पनि नहुने अबस्थामा पुगेको छ । हामी वृद्धाश्रम बनाउँदैनौं । बाबुआमाको रेखदेख सन्तानले गर्नुपर्छ, मेयर शाक्यले थप्दै भन्नुभयो — हामी हरेक वडामा एक÷एक वटा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र खोल्ने नीतिमा छौं । आउनुहोस्, मिलेर काम गरौं ।

त्यसै क्रममा प्रदेश सभा सदस्य गणेश दुलाल र दिपेन्द्र श्रेष्ठले स्थानीय पूर्वाधार र सामाजिक बिकासका काममा प्रदेशबाट उपलब्ध हुने श्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — नागरिक सहभागिताबिना दिगो बिकास सम्भब नभएको उल्लेख गर्नुभयो । एकातिर काम गर्दै जाने, अर्कोतिर बिगार्दै जाने पद्धतिको अन्त्य गरेर बिकासलाई दिगो बनाउने महानगरको दिशामा साथ दिन आग्रह गर्नुभयो । भवन निर्माणका बिषयमा जानकारी दिँदै वडाध्यक्ष कुश ढकालले — करीब २ रोपनी क्षेत्रफलमा भुइँतलासहित साढे चार तलाको भवन निर्माण गरिने बताउनुभयो । वडामा ठूला योजना सञ्चालन गर्न महानगरले पठाएको रकममध्ये ५० लाख रुपैयाँ भवन निर्माणका लागि उपलब्ध गराइनेछ । वडाध्यक्षको भनाइ थियो ।

कार्यक्रममा जेष्ठ नागरिक महासंघका अध्यक्ष एवं कलाकार मदनदास श्रेष्ठले — जेष्ठ नागरिकको सम्मान गर्ने संस्कारले सामाजिक व्यवस्था मिलाउन सजिलो हुने बताउनुभयो भने जेष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष प्रभातमणि (प्रवीण) ओझाले भवन निर्माणमा सहयोग गर्न संसद सदस्यहरुलाई आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । भवन निर्माण गर्दा जेष्ठ नागरिकको आवतजावत तथा अन्य क्रियाकलापलाई मध्यनजर गरी जेष्ठ नागरिकमैत्री बनाइने सेवा केन्द्रले जनाएको छ ।

Tags

#Ward_29

यसमा तपाइको मत