चुरोट मात्र होइन, सूर्तिजन्य बस्तुमा नियमन

अस्पताल आसपासको १०० मिटरभित्र सूर्तिजन्य बस्तुको बिक्री र कारोबार गर्न नपाइने

DSC_4514चन्द्रमणि भट्टराई
जेठ ३

काठमाडौं । अस्पताल र आसपास १०० मिटर दुरीभित्र सूर्तिजन्य बस्तुको प्रयोग र बिक्री बितरण रोक्न अहिले सूचनामुलक कार्यक्रम अघि बढाइएको छ । सार्वजनिक कुनै पनि स्थानमा सूर्तिजन्य बस्तुको प्रयोग गर्न नपाइने व्यबस्थालाई क्रमशः कार्यान्वयन गर्दै लैजान अस्पतालबाट कार्यक्रम थालिएको हो । महानगरले नेपाल प्रहरी र महानगरभित्र भएका ११ वटा सरकारी अस्पतालसँगको सहकार्यमा व्यवस्था कार्यान्वयन प्रयास थालेको हो ।

सूर्तिजन्य बस्तुको नियमन सजिलो छैन । समाजका अगुवा मानिसले लुकीलुकी यसको प्रयोग गर्ने भएपछि परिणाम ल्याउन कठिन भएको हो । महानगरको जनस्वास्थ्य महाशाखाले आयोजना गरेको सरोकारवालासँगको छलफलमा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले भन्नुभयो — कतिपय अस्पतालमा त्यहीँका चौकीदार र सफाइमा काम गर्ने कर्मचारीे यस्ता बस्तुको बेचिरहेका हुन्छन् । अर्कोतिर लागू औषध, मद्यपान र सूर्तिजन्य बस्तु व्यवस्थापन गर्ने एउटै कार्यक्रम बनेको छैन । यसभित्रका सम्बन्ध अब छुट््याएर हेर्नुपर्छ, उहाँको भनाइ थियो । अन्तरक्रियामा जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले — सरकारी अस्पताल आसपास क्षेत्रलाई निषेधित बनाएर पछि निजी अस्पताल र अन्य क्षेत्रमा कार्यक्रम बिस्तार गर्ने तयारी रहेको बताउनुभयो ।

DSC_4507छलफलमा शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर प्रेम खड्काले, अस्पताल वरिपरिको १०० मिटरमा सूर्तिजन्य बस्तुको बेचबिखन रोक लगाउँदा होटल, रेष्टुरेन्ट र खाजा घरमा पनि निगरानी बढाउनु पर्ने बताउँदै यो कति सम्भव छ? सोच्नुपर्ने बताउनुभयो । मान्छे बिरामी नभइ सूर्तिका असर बुझाउन कठिन भएको तर्क राख्दै उहाँले सामाजिक सोच रुपान्तरणमा काम गर्नुपर्ने बताउनुभयो ।

समाजले सूर्ति भनेको चुरोट मात्र बुझ्छ । गुट्खा, करेन्ट, खैनी यी सबै सूर्तिजन्य बस्तु हुन् । कार्यक्रममा सामाजिक धारणा र सूर्तिजन्य बस्तु उपलब्धताको अवस्थाका बिषयमा प्रस्तुती गर्दै डा. मुनीराज क्षत्रीले प्रस्तुती गर्नुभएको थियो । सपिङ् कम्प्लेक्स, खाजा घर, जताततै पाइने सूर्ति व्यवस्थापनको चुनौती रहेको उहाँको तर्क थियो । काठमाडौंका ६४० जना व्यक्तिसँग गरिएको कुराकानीमा आधारमा तयार पार्नुभएको सर्वेक्षणको कुरा प्रस्तुत गर्दै क्षत्रीले रेष्टुरेन्टहरुमा ‘हुक्का पाइन्छ’ भनेर प्रवर्धन हुनुलाई गलत कामको संज्ञा दिनुभयो ।

अहिले बिश्वमा सर्ने रोगभन्दा नसर्ने रोग मानवीय मृत्युको कारण बनिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्य अनुसार नसर्ने रोगका प्रमुख ५ कारणमध्ये धुम्रपान, मदिरापान, अस्वस्थ्यकर आहार, निष्क्रिय जीवन लगायत छन् । बिश्वमा हरेक ५ सेकेण्डमा १ व्यक्ति धुम्रपानजन्य रोगकाकारण मरिरहेको हुन्छ । यसबाट बिश्वका बार्षिक करीब ७० लाख व्यक्ति र नेपालमा करीव २७ हजार व्यक्ति अकालमा मरिरहेका छन् । यदि यही अबस्था छोडिरहने हो भने सन् २०३० सम्ममा यही कारण बार्षिक ८० लाख व्यक्तिको मृत्यु हुनेछ । अहिलेको कार्यक्रमले यो संख्यालाई घटाउने हो । धुम्रपान तथा सूर्तिजन्य बस्तुको प्रयोगकर्ताको संख्या घटाउँदै लैजाने र नयाँ प्रयोगकर्ता बढ्न नदिने कार्यक्रम महानगरको रणनीति हो ।

छलफलमा नेपाल प्रहरी अस्पतालबाट डिआइजि डा. मीनराज पाठक, स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख कृष्णबहादुर चन्द, शुक्रराज ट्रपिकल अस्पतालबाट डा. बिमल शर्मा चालिसे, निजामति कर्मचारी अस्पतालबाट रञ्जना नेपाल,सहित सरकारी अस्तापलका प्रतिनिधहरुको सहभागिता थियो ।

 

यसमा तपाइको मत