कुकुर र छाडा चौपायाको जोखिम घटाउन नीतिको तयारीमा छौं — मेयर शाक्य

पशुपंक्षी सम्बन्धि समस्या देखिएमा तुरुन्त सम्पर्क गर्ने अधिकारीको व्यवस्था हुने

चन्द्रमणि भट्टराई
बैशाख १३

काठमाडौं । सहरमा पाइने छाडा कुकुर र चौपाया आफैं पनि जोखिममा छन् । तिनीहरुकै कारण मानिसहरु पनि कहिलेकाहीँ जोखिममा पर्ने गरेका छन् । सहरी व्यवस्थापनमा यिनीहरुको प्रभावमा कुरा गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — नीति र बजेट व्यवस्था गरेरै यिनीहरुको जोखिम घटाइने बताउनुभएको छ । शुक्रबार महानगरको कृषि बिभाग, पशु सेवा महाशाखाले आयोजना गरेको रेविज रोग सम्बन्धि अन्तरक्रियामा बोल्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । महानगरका सडकमा पाइने छाडा चौपायाको पहिचान गर्न अब छिमेकी नगर सिमानामा भएका गाई गोठमा गएर तिनीहरुलाई ट्र्याकिङ् गर्नुपर्छ । मेयर शाक्यको भनाइ छ — ‘सहरमा कुकुर पाल्न सोख गर्ने तर व्यवस्थापनमा गैरजिम्मेवार पशुप्रेमीलाई जिम्मेवार बनाउनुपर्छ । यसका लागि नीति तयार गरिनेछ ।’ पशु पंक्षी डुलिरहने हुनाले कुकुर र छाडा चौपाया व्यवस्थापन गर्ने कामलाई महानगरभित्र मात्र सीमित गरिनु हुँदैन । अन्तरक्रियामा बोल्दै वडा ३२ का अध्यक्ष नवराज पराजुलीले एकीकृत रुपमा कार्यक्रम अघि बढाउनु पर्ने खाँचो देखाउनुभयो ।

रेबिज प्राणघातक रोग हो । नेपालका यो रोगको प्रमुख श्रोत कुकुर नै हो । लक्षण देखिएपछि उपचार सम्भव छैन । अन्तरक्रियामा प्रस्तुती गर्दै डा. माधव दाहालले — नेपालमा बर्षेनी करीब १२५ जना मानिस र करीब १ हजार पशु रेविजकै कारण मर्ने गरेको तथ्याङ्क उल्लेख गर्नुभयो । संख्या सानो हुन सक्छ तर अबस्था जटिल हो । यो त मर्नेको मात्र संख्या हो । कुकुर र अन्य जनावरले टोकेर रेविजको त्रास बोकेर अस्पताल पुग्ने मानिसको संख्या ठूलो छ । उहाँले भन्नुभयो — रेविजको औषधि किन्न टेकु अस्पतालले मात्र बार्षिक करीब २० करोड रुपैयाँ खर्च गर्ने गरेको छ । यसले पनि पुगिरहेको छैन ।

अन्तरक्रियामा महानगरीय सामुदायिक कुकुर व्यवस्थापन ‘मनुमित्र’का समुदाय परिचालन संयोजक बसन्त गौत्तमले काठमाडौंका २६ वटा वडाका सामुदायिक कुकुरलाई बन्ध्याकरण गरिसकिएको बताउँदै आउँदो जेठ महिनाभित्र सबै वडाका कुकुर बन्ध्याकरण सकिने बताउनुभयो । यस अवधिमा ८ वटा रेबिजग्रस्त कुकुर भेटिएका थिए । गौत्तमले अवस्था काम गर्दाको अनुभव सुनाउनुभएको थियो । अन्तरक्रियामा आफा नेपालका सुप्रभात बस्नेतले वडा नं. २ का सामुदायिक कुकुरहरुका कानमा ट््याग झुण्ड््याइएको बताउँदै अब ती कुकुरको अवस्था अभिलेखीकरण हुने बताउनुभयो ।

अन्तरक्रियामा सामुदायिक कुकुरभन्दा घरमा पाल्ने गरिएका कुकुरको दर्ता गरेर तिनीहरुलाई प्रचलित मापदण्डका आधारमा मात्र पाल्न दिइने व्यवस्था गरिनु पर्नेमा जोड दिइएको थियो । घरमा कुकुर पाल्ने अर्काको अगाडि लगेर दिशा पिसाब गराइदिने सहरबासीको आचरण डरलाग्दो समस्या हो । अर्काथरी केही सहरबासी कुकुर पाल्ने तर बाहिर छाडा छोड्ने पनि छन् भने केही सहरबासी निरोगी हुञ्जेल पाल्ने र रोगी भएपछि बाहिर निकालिदिने पनि छन् । अब कुकुर पाल्ने प्रेमीले यी आचरणमा सुधार गर्नुपर्छ । अन्तरक्रिया यसै बिषयमा बढी केन्द्रीत थियो ।

 

यसमा तपाइको मत