साझाको सेमि लो फ्लोर बस प्राविधिक परीक्षणमा

माघ २५
काठमाडौं । साझा यातायातले ल्याएको सेमि लो फ्लो बस अवलोकनकालागि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य वुधकार साझाको केन्द्रीय कार्यालय पुल्चोक पुग्नुभएको थियो । सहरी यातायात प्रणाली सुधारकालागि ल्याइएको यस प्रकारको वसको अवलोकनपछि प्रमुख शाक्यले सेवामा नागरिक सन्तुष्टिलाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । साझाजस्तै अन्य निकाय वा साझेदारसँग साझा मुद्दामा सहकार्य गर्न सकिन्छ मेयर शाक्यको भनाइ थियो । अहिले साझाले यस बसको प्राविधिक परीक्षण गरिरहेको छ ।
सो अवसरमा साझाका अध्यक्ष कनकमणि दीक्षितले महानगरको साझेदारितामा अघि बढेको बस सेवाले नागरिकको मन जितेको धारणा राख्नुभयो ।
सहरी यातायात प्रणालीमा सुधार गरी सहज आवागमनकालागि यस प्रकारको वस ल्याइएको साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेको भनाइ छ । नमूना परीक्षणकालागि यो बस ल्याएका हौं, यसको सञ्चालनपछि आवश्यकता हेरेर सेवा थप गर्ने विषयमा निर्णय गर्नेछौं, प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ ।
ट्रेलरमा ल्याइएको बस
भारतको राजस्थानमा निर्माण गरिएको यस बसलाई काठमाडौंसम्म ट्रेलरमा ल्याइएको हो । ग्लोवल टेण्डरमार्फत माग गरिएको बसको मूल्य भारतीय बजारमा मूल्य १ करोड रुपैयाँ छ । हामीलाई कम्पनीले सहुलियत दरमा उपलब्ध गरायो । पाण्डेले मूल्यका विषयमा स्पष्ट पार्नुभयो ।
दुई वटा ढोका भएको यस बसको पछाडिको ढोका फराकिलो छ । फोल्डिङ् ¥याम्प भएको यस बसमा बालबालिका, जेष्ठ नागरिक र व्हिल चेयर प्रयोगकर्ताले सजिलै प्रयोग गर्न सक्छन् । बसमा ४० जना यात्रु र १ जना चालक बस्ने सिट छ । यसबाहेक ३५ वटा ट्राप ह्याङ्गर छन् । १२ मिटर लामो यस बसमा एक पटकमा बसेर र उभिएर १०० जना यात्रुले यात्रा गर्न सक्छन् ।
यातायात प्रणाली सुधार गर्न महानगरले साझाबाट खरिद गरेको १० करोड रुपैयाँको शेयरबाट खरिद गरिएका ३० गटा बसहरु गएको बर्ष मंसिर १२ गतेदेखि सञ्चालनमा छन् । यससँगै अर्को पटक काठमाडौं महानगरले खरिद गरेको ५ करोड र ललितपुर महानगरले खरिद गरेको १ करोड रुपैयाँबाट थप बस खरिद गर्ने प्रक्रिया अन्तिम चरण पुगको साझाले जनाएको छ । यसरी आउने बस र अहिले सञ्चालनमा भएका बस जोड्दा साझासँग ७५ वटा बस हुन्छन् ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत