काठमाडौं महानगर सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐन स्वीकृत

स्थानीय तथ्य र तथ्याङ्क संकलन गर्ने, बिकास आवश्यकता, आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, बिश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मुल्याङ्कनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन आयोगका मुख्य काम

चन्द्रमणि भट्टराई
चैत्र २४

काठमाडौं । नगर सभाका अध्यक्ष एवं काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा, आइतबार राष्ट्रिय सभा गृहमा सम्पन्न महानगरको चौथो नगर सभाबाट ‘काठमाडौं महानगरपालिका सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐन २०७५’ स्वीकृत भएको छ । सभामा यस सम्बन्धि बिधेयक बिधायन समितिका सदस्य सचिव बसन्त आचार्यले प्रस्तुत गर्नुभएको थियो ।

सन्तुलित बिकासबाट दिगो सहरी समृद्धि प्राप्त गर्न नीति तथा योजना निर्माण र सहजीकरणका लागि सहरी योजना आयोग गठन गर्न सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यबिधि ऐन तर्जुमा गरिएको हो । यस ऐन बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठन हुनेछ । यसले स्थानीय तथ्य र तथ्याङ्क संकलन गर्ने, बिकास आवश्यकता, आयोजना तथा परियोजनाहरुको अध्ययन, अनुसन्धान, बिश्लेषण, अनुगमन, सुपरीवेक्षण तथा मुल्याङ्कनबाट स्थानीय नीति योजना तर्जुमा गर्ने तथा अभिलेख व्यवस्थापन गर्नेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ बमोजिम गठन जारी गरिएको यस ऐनमा ७ वटा परिच्छेद, २२ वटा दफा र २ वटा अनुसूची समावेश छन् ।

ऐनको परिच्छेद २ बमोजिम गठित आयोगमा उपप्रमुख आमन्त्रित सदस्यका रुपमा रहनुहुनेछ । कार्यपालिकाको निर्णयबाट आयोगमा एक जना उपाध्यक्ष नियुक्त गरिनेछ । प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने यस आयोगमा प्रमुखबाट नियुक्त ९ जना सदस्य रहनुहुनेछ जसमा १ जना महिला अनिवार्य गरिएको छ । उपाध्यक्ष तथा सदस्य नियुक्त गर्दा आर्थिक मामिला, सामाजिक, सांस्कृतिक, पर्यटन, सम्पदा तथा पुरातत्व, भौतिक पूर्वाधार तथा यातायात, सूचना तथा प्रविधि, सार्वजनिक प्रशासन, सुशासन तथा व्यवस्थापन, मानव संशाधन जस्ता क्षेत्रको प्रतिनिधित्व गराइनेछ । त्यस्तै सहरी बिकास तथा सहरी योजना, कानून, स्वास्थ्य तथा वातावरण, शिक्षा तथा सहकारी, अन्तरराष्ट्रिय मामिला पनि सदस्य नियुक्त गर्ने आधार मानिएको छ ।

आयोगले सम्पादन गरेका कामहरुको प्रतिवेदन आर्थिक बर्ष सकिएको ३ महिनाभित्र प्रमुखमार्फत कार्यपालिकामा पेश गर्नु पर्ने ऐनमा व्यवस्था छ ।

 

यसमा तपाइको मत