चुरोट उपहार दिनु पनि गैरकानुनी

राजधानीका सार्वजनिक स्थलमा धुम्रपानको प्रयोग निस्तेज गर्न चरणबद्ध कार्यान्वयनका कार्यक्रम

चन्द्रमणि भट्टराई
फागुन २३


DSC_1089काठमाडौं । काठमाडौंका सार्वजनिक ठाउँमा सूर्ति र सूर्तिजन्य बस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभइ क्रमशः रोक लगाउँदै जानु पर्ने सुझाव आएको छ । बिहीबार राजधानीमा आयोजना गरिएको ‘राष्ट्रिय बहु क्षेत्रीय सूर्तिजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना बिकासका लागि सुझाव संकलन गोष्ठी’ मा यस्तो सुझाव प्राप्त भएको हो । कानुनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ । तर व्यक्तिमा कानुनी व्यवस्थाको पालनामा ध्यान गएन । अब अस्पताल, बिद्यालय जस्ता क्षेत्र छुट््याएर कुनै एक स्थानमा सूर्तिजन्य बस्तुको बिक्री बितरण तथा उपयोगमा रोक लगाउनु पर्ने र त्यस क्षेत्रमा पूर्ण निषेध भएपछि अन्यत्र स्थानमा गए कार्यान्बयन प्रभावकारी हुने सरोकारवालाले सुझाव दिएका हुन् ।

अहिले बिश्श्वमा सर्ने रोगभन्दा नसर्ने रोग मानवीय मृत्युको कारण बनिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्य अनुसार नसर्ने रोगका प्रमुख ५ कारणमध्ये धुम्रपान, मदिरापान, अस्वस्थ्यकर आहार, निष्क्रिय जीवन लगायत छन् । स्वस्थ्य जीवनको यो चुनौती सामना गर्न सवै एक हुनु पर्नेसमेत गोष्ठीको सुझाव छ ।

गोष्ठीमा बोल्दै महानगरकी कार्यवाहक प्रमुख हरिप्रभा श्रेष्ठ खड्गी — महानगर क्षेत्रभित्रका व्यवसायमा सूर्ति र सूर्तिजन्य बस्तुको कारोबारलाई बस्तुगत तथ्यमा उतारेर नीतिमार्फत नियमन गरिने बताउनुभयो । धुम्रपानले पार्ने प्रभाव डरलाग्दो छ , यसले प्रयोगकर्तालाई मात्र नभइ, उसको नजिकमा रहेको व्यक्तिलाई पनि असर गर्छ । उसले ठूला रोगसँग सामना गर्नुपर्ने भएकोले आर्थिक अवस्था कमजोर बन्छ । कार्यवाहक प्रमुख श्रेष्ठ खड्गीले थप्नुभयो — अब वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र बिद्यालय स्तरीय कार्यक्रम चलाउनुपर्छ ।

गोष्ठीमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. सुनिलराज शर्माले धुम्रपान छोड्न चाहनेलाई बिकल्प दिएर कार्यक्रम बढिरहेको जानकारी दिनुभयो भने बिश्व बैङ्कका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलाम हैदरले नेपालले सूर्तिजन्य बस्तुको नियमनमा प्रगति हासील गर्दै गएको उल्लेख गर्दै संघ सरकारबाट प्राप्त उपलब्धीलाई स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा. भक्त के. सीका अनुसार बिश्वमा हरेक ५ सेकेण्डमा १ व्यक्ति धुम्रपानजन्य रोगकाकारण मरिरहेको हुन्छ । यसबाट बिश्वका बार्षिक करीब ७० लाख व्यक्ति र नेपालमा करीव २७ हजार व्यक्ति अकालमा मरिरहेका छन् । यदि यही अबस्था छोडिरहने हो भने सन् २०३० सम्ममा यही कारण बार्षिक ८० लाख व्यक्तिको मृत्यु हुनेछ । अहिलेको कार्यक्रमले यो संख्यालाई घटाउने हो । धुम्रपान तथा सूर्तिजन्य बस्तुको प्रयोगकर्ताको संख्या घटाउँदै लैजाने र नयाँ प्रयोगकर्ता बढ्न नदिने कार्यक्रम सफल बनाउन तयार गरिएको रणनीति हो ।

DSC_1121सूर्तीजन्य पदार्थ नियमनमा काठमाडौं महानगरपालिका

स्वस्थ सहर कार्यक्रमक सञ्चालन गर्ने विश्वका ५० सहरमध्ये काठमाडौं महानगर एक हो । सहरमा धुम्रपान तथा सूर्तीजन्य बस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ्य एवं स्वच्छ सहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गरिएको हो । नसर्ने रोगको जोखिमबाट मानिसको स्वास्थ्यलाई मुक्त गराउन काठमाडौं महानगरपालिकाले बुलुम्बर्ग फिलानट्रोपिज तथा भाइटल स्ट्राटेजीको सहयोगमा सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य बस्तुको नियमनका लागि १८ महिने कार्ययोजना सञ्चालन गरिरहेको छ । धुम्रमान तथा सूर्तिजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य, वातावरणमा हानी पु¥याउने तथा सामाजिक, आर्थिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा प्रत्यक्ष असर पु¥याउने भएकोले अप्रत्यक्ष कारणबाट हुने प्रत्यक्ष क्षति रोकिने महानगरको अपेक्षा छ ।

धुम्रपान र सूर्तिजन्य वस्तुको असर

धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन, नसर्ने रोगकोकारण हो । सन् २०१३ मा गरिएको नसर्ने रोगहरुको (एनसिडि — नन कम्युनिकेबल डिजिज) जोखिमका चरण सर्वेक्षणअनुसार नेपालका करीब ३०.५ प्रतिशत व्यक्तिले कुनै पनि किसिमको धुम्रपान वा सूर्तीजन्य पदार्थको सेवन गर्दछन् । त्यस्तै करीब ३६.१ प्रतिशत व्यक्तिहरु उनीहरुले प्रयोग गरेको सूर्तिजन्य बस्तुको धुँवाको असरबाट घर वा कार्यस्थलमा प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालका करीब १५ प्रतिशत महिलाहरु धुम्रपान वा सूर्तिजन्य बस्तुको प्रयोग गर्छन् । यो विश्वकै धेरै संख्यामा पर्दछ । सरकारले बि. स. २०४९ देखि सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गरेको छ । सन् २००६ मा नेपाल सरकारले विश्व स्वास्थ्य संगठनका फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसिटिसि) अनुमोदन गरेको छ । यसमा भएका व्यवस्था कार्यान्वयन गर्न सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ समेत जारी गरेको छ ।

ऐनका व्यवस्थाहरु

  • सार्वजनिक स्थानहरु (जस्तै — सरकारी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थल, चलचित्र घर, नाटकघर, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, छात्राबास, रंगशाला, कर्भडहल, पौडी पोखरी, डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर आदि) मा धुम्रपान तथा सूर्ती सेवन गर्न पाइदैन ।

  • निषेधित यी स्थानमा धुम्रपान गरे तत्काल १०० रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

  • नियमनकारी निकायले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने सूचना सबैले देखिने ठाउँमा टॉ‘स गर्नुपर्छ ।

  • सार्वजनिक स्थलमा लाइटर, सलाईलगायतका सामग्री राख्न पाइदैन त्यस्तै फुटकर रुपमा चुरोट, बिंडी वा सिंगारका खिल्ली वितरण गर्न पाइदैन ।

  • विक्रेताले अठार वर्ष नपुगेका व्यक्ति, गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउन पाइदैन ।

  • कोही बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ ।

  • शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द, बृद्ध आश्रम , अनाथालय, र नेपाल सरकारले तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको पसलबाट सूर्तिजन्य पदार्थको विक्री वितरण गर्न पाइदैन ।

  • निःशुल्क रुपमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको वितरण वा उपहारका रुपमा दिन पाइदैन ।

  • सूर्तिजन्य पदार्थलाई बिक्रिस्थलमा सजावट गर्न तथा त्यस्ता पदार्थको प्रदर्शन गर्न पाइदैन ।

  • ऐन विपरीत सूर्तीजन्य पदार्थको बिक्री गरेमा दश हजार (१०,०००/—) सम्म जरिवाना हुनेछ ।

  • सूर्तिजन्य पदार्थको हानीका बारेमा सूचना टाँस नगरेमा ५,०००/- रुपैयाँसम्म जरिवाना हुनेछ ।

यसमा तपाइको मत