अनावश्यक, अव्यबस्थित र अशोभनीय यात्रु प्रतिक्षालय हटाउँछौं, आवश्यक ठाउँमा थप्छौं — कार्यदल संयोजक महर्जन

DSC_0862चन्द्रमणि भट्टराई
फागुन २२

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र सडक किनारामा अनावश्यक र अव्यवस्थित रुपमा राखिएका, सहरलाई कुरुप बनाउने बस स्ट््याण्ड हटाइने भएको छ । बुधबार सहरका यात्रु प्रतिक्षालयको अवस्था र आवश्यकता अबलोकन गरिसकेपछि बस स्ट््याण्ड अध्ययन कार्यदलका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले यस्तो जानकारी दिनुभएको हो । ‘सहरमा कतै आवश्यकता नै नभएको ठाउँमा पनि बस स्ट््याण्ड भेटिए’ उहाँले अबलोकनबाट देखिएको अवस्था उधृत गर्दै भन्नुभयो, ‘कतै चाहिने ठाउँमा एउटा पनि छैन । यिनीहरुको आकार प्रकार र बनावट पनि मनलाग्दी छ । यसलाई अब व्यवस्थित बनाउँछौं ।’

DSC_0892अध्ययन कार्यदलले बुधबार काठमाडौंका विभिन्न ठाउँमा, बस स्ट््याण्डको अवलोकन गरेको थियो । संयोजक महर्जनका अनुसार, स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकार सम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले बिगतमा प्राप्त भएका प्रस्ताव, सहरको बिद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने? कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्यौल गर्नेछ । यात्रु तथा सार्वजनिक यातायात दुवैलाई आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो ।

महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा गठित अधिकार सम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल सदस्य हुनुहुन्छ । त्यस्तै महर्जनको संयोजकत्वमा गठित कार्यदलमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, सडक बिभाग, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि तथा महानगरको कानुन महाशाखा, नगर प्रहरी महाशाखाका प्रमुख र पूर्वाधार बिकास बिभागका इञ्जिनियर सदस्य हुनुहुन्छ । कार्यदलको सदस्य सचिवमा उपनिर्देशक गंगाधर गौत्तम हुनुहुन्छ ।

यसमा तपाइको मत