महानगरमा महिला बिकासका कार्यक्रम शुरु

महिला ‘उप’ पदमा बसेर ‘यस पर्सन’ बन्न नहुने — कार्यवाहक मेयर श्रेष्ठ खड्गी

 

चन्द्रमणि भट्टराई
फागुन २२

 

DSC_0987 (1)काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि महिला बिकासका कार्यक्रम शुरु भएका छन् । वि.सं.२०३८ मा तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत ८ जना कर्मचारी सहित महिला बिकास शाखा स्थापना गरेर शुरु गरिएको कार्यक्रम ३७ बर्षपछि महानगरमा आइपुगेको हो । साबिक संरचनाबाट संघीय संरचनामा केन्द्र मातहत भएका कार्यालय तथा अधिकार स्थानीय सरकारमा आउने क्रममा महिला बिकासको कार्यक्रम महानगरमा आएको हो । यस अघि जिल्ला स्तरीय महिला तथा बालबालिका कार्यालय थियो । साबिकको कार्यालयले गर्ने काम १०९ औं अन्तरराष्ट्रिय महिला दिबसको अवसर पारेर जिल्ला समन्वय समितिको सभा कक्षमा आयोजना गरिएको कार्यक्रममा यस सम्बन्धि जानकारी दिइएको हो । कार्यक्रमका लक्षित बर्ग महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र तेस्रो लिङ्गी हुन् ।
कार्यक्रममा बोल्दै महानगरका कार्यवाहक प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — स्थानीय तहमा निर्वाचित महिला सदस्यले आफूलाई ‘यस पर्सन’ का रुपमा नसम्झन आग्रह गर्नुभयो । घर सजाउन सक्नेले देश सजाउन सक्छन्, कार्यवाहक प्रमुख श्रेष्ठ खड्गीले थप्दै भन्नुभयो — दल जुनसुकै होस्, महिला शशक्तिकरणका कुरा समान हो । अहिलेका महिला जनप्रतिनिधिले अब प्रमुख बन्नेतर्फ तयारी थाल्नुपर्छ । सोही अवसरमा बोल्दै जिल्ला समन्वय समितिकी उपप्रमुख सरिता दाहालले भन्नुभयो — ‘उप’ भन्ने बित्तिकै महिला भन्ने छाप प¥यो । महिलालाई ‘उप’ जोडिएका पदमा मात्र होइन, प्रमुख प्राप्त गर्ने नीति बनाउनुपर्छ ।

DSC_0984कार्यक्रममा नगर कार्यपालिका सदस्य हीरादेवी पोख्रेलले — २०४९, २०५४ र २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा महिला सहभागिताको तुलनात्मक विवरण प्रस्तुत गर्दै, सहभागिता बढे पनि महिलाका लागि सहज हुने काम काम गर्ने वातावरण नभएको उल्लेख गर्नुभयो ।

महानगरले समुदायबाट आएका सामाजिक क्षेत्रका कामलाई कन्जुस्याइँ नगरी अघि बढाएको सामाजिक विकास बिभागका प्रमुख सनतकुमार थापाको भनाइ थियो । महिला अधिकार र पहिचानको प्रसङ् उल्लेख गर्दै सामाजिक विकास महाशाखा प्रमुख बिमला कोइरालाले — आमाका नामबाट नागरिकता लिन बिबाद गर्नु पर्ने अबस्था कायम हुनुलाई, अझ पनि काम गर्न बाँकी छ भन्ने संकेतका रुपमा लिन सकिने बताउनुभयो ।

कार्यक्रममा महिला बिकासमा महानगरले गर्ने कार्यक्रमका बिषयमा जानकारी दिँदै, लैङ्गिक तथा समावेशी महाशाखा प्रमुख अनिता अधिकारीले — सामाजिक परिचालन, आपतकालीन संरक्षण, लैङ्गिक हिंसा निवारण, मानव बेचविखन बिरुद्ध संरक्षण सम्बन्धि काम, महिला, बालबालिका, किशोरी, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति सम्बन्धि सामाजि सुरक्षाका काम हुने जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य लक्ष्य सामाजिक, आर्थिक र राजनीतिक शशक्तिकरण गर्नु हो ।

यस बर्ष ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार — समृद्धिको आधार’ नारासहित अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै छ ।

 

 

 

यसमा तपाइको मत