नदी सफाइमा एकीकृत कार्यक्रमको खोजी

काठमाडौं । शनिवार माघ २७ गते धोवी खोला (रुद्रमती नदी) सरसफाइको २०० औं सृङ्खलाका कार्यक्रम सम्पन्न गरिए । यस अवसरमा धोवी खोलाको शिरदेखि तीरसम्म विभिन्न १० वटा खण्डमा भेला भएर सरसफाइ गरिएको थियो ।

सरसफाइ समापन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले — उपत्यका नदीको खण्डीकृत सरसफाइले ठोस परिणाम आउन नसक्ने भएको बताउँदै योजना परिमार्जन गर्नु पर्ने खाँचो देखाउनु भयो । नेपालमा अगाडि गर्नु पर्ने काम पछाडि र पछाडि गर्नु पर्ने काम अगाडि गरिन्छ । नदी सफाइमा यस्तै भएको छ, उहाँको भनाइ थियो ।

२०० औं हप्ताको सरसफाइ शुभारम्भ गर्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपत्यकाको संस्कृति, प्राकृतिक सम्पदा र मानवीय सभ्यताको वचाउकालागि नदी बचाउन सवैको योगदानको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा बोल्दै महानगरको वडा नं. ३० का वडाध्यक्ष दलबहादुर कार्कीले १०५ फिटसम्मको चौडा नदीलाई ३५ फिटमा खुम्च्याएर पर्खाल लगाउनु गलत भएको बताउँदै एकीकृत योजनाको पहल गरिने बताउनु भयो । सोही अवसरमा वडा नंं ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले नदीमा जलचरको जीवन सम्भव नभएसम्म सफाइलाई निरन्तरता दिइने बताउनुभयो ।

नदी सफाइमा प्राप्त उपलब्धीमा समुदायको भूमिकामा चर्चा गर्दै रुद्रमती नदी सरसफाइ समन्वय समितिका सदस्य सचिव रोहित गिरीले यसको दिगोपनाका लागि नागरिक सहभागिता प्रोत्साहन गरिनुपर्ने खाँचो देखाउनु भयो ।

सफाइ तालिका अनुसार बुढानिलकण्ठको नीलो पुलमा जम्मा भएको समूहले नैलिननाथदेखि भंगालसम्मको खण्ड सफाइ गरेको थियो भने निखिलेश्वरमा भेला भएको समूहले भंगालदेखि बालुवाखानी पुलसम्मको नदी खण्ड सफाइ गरेको थियो । त्यस्तै कपनको नीलो पुलमा भेला भएको समूहले बालुवाखानीदेखि कपनको नीलो पुलसम्म, गोपीकृष्ण पुलमा भेला हुने समूहमध्ये एउटा समूहले चुकुन्दादेखि गोपीकृष्ण पुलसम्म र अर्को समूहले गोपीकृष्ण पुलदेखि भत्केको पुलसम्मको नदी सफाइ गरेको थियो । भत्केको पहेंलो पुलमा जम्मा भएको समूहले भत्केको पुलदेखि कालो पुलसम्म सम्म, देवीनगरमा भेला भएको समूहले सिम्रिक पुलसम्म र सिम्रिक पुलमा भेला भएको समूहले बाग्मती दोभानसम्मको खण्डमा सफाइ गरेको थियो ।

सरसफाइबाट महानगर क्षेत्रबाट महानगरले २० मेट्रिक टन फोहोर र १० खण्डबाट निजी क्षेत्रले ८ मेट्रिक टन फोहोर संकलन गरे । नदी किनारामा निर्माण कार्य भइरहेकोले यति धेरै फोहोर निस्किएको समन्वय समितिका सदस्य सचिव गिरीको भनाइ छ ।

चन्द्रमणि भट्टराई

Follow Our Author

No social network is added for the current author

यसमा तपाइको मत