छिमेकी नगरको हरियाली तथा पार्क निर्माणमा महानगरको जनही १ करोड सहयोग

उपत्यकाको एकीकृत बिकासबाट मात्र महानगरको समृद्धि सम्भव — मेयर शाक्य

 

चन्द्रमणि भट्टराई
माघ २७

 

काठमाडौं । काठमाडौं जिल्लाका सबै नगरलाई काठमार्डौं महानगरले जनही १ करोड रुपैयाँ उपलब्ध गराएको छ । पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी रकम उपलब्ध गराएको हो । आइतबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नगर प्रमुखहरुसँग साझेदारिता सम्ब्न्धि सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहयोग रकमवापत्को चेक उपलब्ध गराउनु भयो । काठमाडौंका १० वटा नगरपालिकामध्ये टोखा नगरले गएको असार २० गते रकम लगिसकेको छ । आइतबार टोखाबाहेकका नगरलाई चेक प्रदान गरिएको हो । चेक बुझ्न सबै नगरका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो भने समारोहमा संघीय तथा प्रदेश सभा सदस्यहरु पनि सहभागी हुनुहुन्थ्यो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै संघीय संसद सदस्यकृष्ण गोपाल श्रेष्ठले, उपत्यकाको एकीकृत बिकासका लागि महानगरले गरेको नेतृत्वको प्रशंशा गर्नुभयो । मैले आफ्नो राजनीतिक यात्राका क्रममा यस प्रकारको साझेदारिता पहिलो पटक महसुस गर्न पाएँ । मेरो क्षेत्रका नगर प्रमुखहरुले महानगरलाई बुझाएको योजनाबाट म आफू पनि प्रभावित छु । सफा मुलबाट आएको पानी स्वच्छ हुन्छ । महानगरको समृद्धिका लागि छिमेकी नगरको बिकासको प्रसङ्ग उल्लेख गर्दै उहाँले, महानगरले उपलब्ध गराएको सहयोग सही ठाउँमा उपयोग हुने कुरामा आश्बस्त पार्नुभयो । बिकासलाई राजनीतिक चस्माभन्दा माथि राखेर हेर्नुपर्छ अनि मात्र समृद्धि प्राप्त हुन्छ । संसद सदस्य श्रेष्ठको भनाइ थियो ।

कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो — उपत्यकाको एकीकृत बिकासका लागि नगरपालिकाबीच एउटै मत छ । हुन त महानगरभित्र पनि गर्नु पर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौं । तर, छिमेकी नगर समृद्ध नभइ महानगर एक्लै समृद्ध हुन सक्दैन । त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेको हौं । कामको प्रगति र योजनाको गहनाता हेरेर यो रकम थप पनि हुन सक्छ । मेयर शाक्यले स्पष्ट पार्नुभयो । छिमेकीसँग मिलेर गर्नु पर्ने धेरै काम छन् । तीमध्ये नाकाबाट महानगरमा भित्रिने सवारी साधन धोइपखाली गरेर मात्र महानगरमा प्रवेश गराउने बिषयमा छिटै नै ठोस काम हुनेछ । यसमा सबै नगरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु, मेयर शाक्यले आगामी कार्यक्रम पनि खुलाउनुभयो । सोही सन्दर्भमा महानगरले अघि सारेका कामको प्रसङ्ग उल्लेख गर्दै उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले, संघीयतालाई दरिलो बनाउन महसुस योग्य काम गर्नु पर्ने बताउनु भयो । ती उदाहरणीय काममध्ये नगर—नगर साझेदारि कार्यक्रम पनि एक हुन सक्छ, उहाँको विश्वाश थियो ।

चेक बुझिसकेपछि सहयोग प्राप्त गर्ने नगरकातर्फबाट बोल्दै गोकर्णेश्वर नगरका प्रमुख सन्तोष चालिसेले भन्नुभयो — साँखुको धुलो पाङ्ग्रामा बोकेर सबारी काठमाडौं आउञ्जेल, महानगर धुँवा धुलोमुक्त हुँदैंन । काठमाडौंलाई स्वच्छ बनाउन पनि महानगरले छिमेकी नगरको समृद्धिमा सहयोग गर्न जरुरी छ । यसै प्रसङ्गलाई थप गर्दै शंखरापुर नगरका प्रमुख सुवर्ण श्रेष्ठले — उपत्यकाको दिगो बिकासमा महानगरले गरेको नेतृत्वको प्रशंशा गर्दै, साझेदारितालाई लाभमा रुपान्तरण आफू पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो ।

महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्राबधानबमोजिम खर्च गर्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरले जुन योजना पेश गरेर रकम प्राप्त गरेको हो, त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ । यदि यसो नभए, नगरले प्राप्त गरेको रकम महानगरलाई व्याजसहित फिर्ता गर्नु पर्नेछ । महानगरका सूचना अधिकारी बसन्त आचार्यका अनुसार — काठमाडौंका १० वटा नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्धनका लागि खर्च गर्ने योजना महानगरमा पेश गरेका छन् भने २ वटाले धाम निर्माण गर्ने योजना अघि सारेका छन् ।

कुन नगरले के योजना पठाएका छन्?

कीर्तिपुर नगरपालिका

कीतिपुर नगरले वडा नं.१, २ र १० क्षेत्र समेट्ने गरी युद्ध स्मारक पार्क निर्माण गर्ने योजना पेश गरेको छ । करिब ५५ रोपनी क्षेत्रफलमा निर्माण गरिने यस पार्कमा घेरा पर्खाल, हरियो उद्यानसहितका संरचना हुनेछन् ।

शंखरापुर नगरपालिका

महानगरबाट प्राप्त सहयोगबाट शंखरापुर नगरपालिकाले वडा नं.९ बज्रयोगिनी मन्दिर क्षेत्रमा हरित उद्यान निर्माण गर्ने भएको छ । यस परियोजनामा मन्दिर क्षेत्रमा उद्यान, सार्वजनिक शौचालय, सिँढी, घेरा पर्खाल, वनभोज क्षेत्रमा छहारी, सवारी साधन पार्किङ्ग स्थल हुनेछ । यो परियोजना मन्दिरको पूर्वतर्फ बाटो, पश्चिमतर्फ मन्दिर र जङ्गल, उत्तरतर्फ बाटो र जङ्गल, पश्चिम तर्फ बाटो गरी करिब १०० रोपनी सार्वजनिक जग्गामा बिकास गरिनेछ ।

कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी नगरपालिकाको वडा नं.१ मा रहेको प्रसिद्ध कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटेर प्रसिद्ध कागेश्वरी धाम निर्माण गर्ने कागेश्वरी नगरपालिकाको योजनामा उल्लेख छ । परियोजनाका लागि उत्तरमा सहिद पार्क, दक्षिणमा अड्डा पाटी, पूर्वमा गागल फेदी र पश्चिममा ढकाल गाउँको सीमा भित्रको करीब ५५ रोपनी जग्गालाई लिइनेछ ।

गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिका र राष्ट्रिय सहिद तथा शान्ति पार्क निर्माण तथा व्यवस्थापन समिति बीच मिति २०७५ माघ ८ गते भएको सम्झौता अनुसार वडा न.९ जगडोल स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क निर्माण गरिनेछ । यसभित्र ज्येष्ठ नागरिक आराम कक्ष, रेलिङ सहितको अपाङ्गतामैत्री पदमार्ग, बालबालिका मनोरञ्जन क्षेत्र, एम्पिथिएटर, चिन्तन मनन बगैंचा, फूल बगैंचा, जगिङ्ग ट्रायल, अन्तरक्रिया कक्ष, सेवा कक्ष, गार्ड कक्ष, बगैंचाको सामानहरुको भण्डारण कक्ष, शौचालय र खाजा÷खाना खाने क्षेत्र र जनावरको पार्क भित्र प्रवेश रोक्नको लागि वरपर हरियो झाडीको छेकबार सहितको संरचना निर्माण गरिनेछ ।

बूढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठ नगरको वडा नं.८ हात्तीगौडामा बुढानीलकण्ठ पार्क निर्माण गर्ने नगरको योजना छ । यस पार्कको पूर्वमा जगन्नाथ देवल पार्क, पश्चिममा नेपाल टेलिकम, भद्रकाली शाखा कार्यालय, उत्तरमा सि.जि. हिलको आवास क्षेत्र र दक्षिण तर्फ मार्कसिष्ट गुरुकुल पार्कको चार किल्ला हुनेछ । यो पार्क करीब १४ रोपनी जग्गाभित्र निर्माण हुनेछ । पार्कमा सबै प्रदेशका अलग अलग डिजिटल बोर्ड रहने छन् । जसमा सम्बन्धित प्रदेश अन्तर्गतका जिल्लाहरु, स्थानीय तहहरु समेतको सीमाना, नाम, क्षेत्रफल, प्रशासनिक ईकाइ र ती क्षेत्रहरुको मुख्य मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरु उल्लेख गरिएको सूचना सहितको डिजिटल नक्सा हुनेछ । त्यस्तै हिमाल, पहाड र तराईको झल्को दिने खालको भौगोलिक स्वरुपको संरचना पनि निर्माण गरिनेछ ।


तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकाले वडा नं.३ धाम क्षेत्रमा तारकेश्वर धाम निर्माण गर्नेछ । चारैतिर सार्वजनिक जङ्गल रहेको भूमागको बीचमा करिब १० रोपनी सार्वजनिक जग्गामा निर्माण हुने यस धाममा महादेव, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, धामसम्म आवत जावत गर्ने बाटा, सिँढीहरु तथा वरपर हरियाली क्षेत्र बिकास हुनेछ ।


नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाले वडा नं.६ डाँडापौवामा गणेशमान स्मृति पार्क निर्माण गर्ने प्रस्ताव महानगरमा पेश गरेको छ । पूर्वमा निजी जग्गा, पश्चिममा श्यामेश्वर गणेशमान सामुदायिक बन, उत्तरमा निजी आवास क्षेत्र र दक्षिण बाटो चार किल्ला भित्र करिब १७ रोपनी सार्वजनिक जग्गामा पार्कको प्रस्ताव गरिएको हो । आधुनिक तथा मौलिक पार्कमा नागार्जुन नगरपालिकाको वडा १ देखि १० मा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक, प्राकृतिक बिशेषताहरु झल्कने आकृतिहरु तयार गरिनेछन् । त्यस्तै गणेशमान सिंहद्वारा बृक्षारोपण भएको यस क्षेत्रको उचित संरक्षण गरी गणेशमान सिंहको शालिक स्थापना गर्ने तथा उहाँको जीवनीका मूलभूत अवस्थाहरु उल्लेख हुनेछन् । यसका अतिरिक्त पृथ्वीनारायण शाहले उपत्यका बिजय गर्दा प्रवेश मार्गको रुपमा प्रयोग गरेको स्थानका रुपमा झल्कने आवश्यक व्यक्तित्वहरुका पहिचान, घटस्थापनामा गोर्खाबाट हनुमानढोकामा फूलपाती ल्याउने मार्ग बारे यथोचित सूचना सम्प्रेषण गर्ने तथा अनुसन्धानमूलकमा सहयोग पु¥याउने रमणीय स्थान बनाइनेछ ।

चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरले वडा न. १३, कंकाली मन्दिर परिभ्रमण क्षेत्रमा पर्या–पर्यटन एवम् ऐतिहासिक साँस्कृतिक पर्यटन क्षेत्र तयार पार्नेछ । पूर्वतर्फ दण्डा गाउँ, पश्चिमतर्फ इन्द्रधारा सडक, उत्तरतर्फ नागार्जुन नगरपालिकाको सिमाना र दक्षिणतर्फ लम्साल गाउँभित्र यो क्षेत्र रहनेछ । यसको क्षेत्रफल करीब २६ रोपनी हुनेछ ।


दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिका वडा न. ५ मा रहेको गोरखनाथ मन्दिरबाट करिब ३०० मिटर माथिसम्म परम्परागत सिँढी, गोलाई आकारको अवलोकन स्तम्भ, बहुउद्देश्यीय उद्यान, झरना, बाल उद्यान, प्राचीन दक्षिणकाली मन्दिरसम्म परम्परागत सिँढी र सम्पूर्ण क्षेत्रमा पर्खालसहितको संरचनालाई यस नगरले प्रस्तावका रुपमा महानगरमा पठाएको छ ।

यसमा तपाइको मत