बिपद व्यवस्थापन उद्धारकर्मी तयार गर्दै महानगर

वडा ६, ७ र २१ बाट स्वयमसेवकको  नाम आइसक्यो

 

चन्द्रमणि भट्टराई
माघ २५

 

DSC_5944काठमाडौं । घटनास्थलमा पहिलो प्रतिकार्य गर्नका लागि महानगरले हरेक वडामा बिपद् उद्धार तथा अग्नि नियन्त्रण स्वयम्सेवक तयार गर्ने तयारी थालेको छ । यसका लागि एउटा वडाबाट ४० जना स्वयम्सेवकलाई बिपद उद्धार तथा अग्नि नियन्त्रण सम्बन्धि ७ दिनको तालिम दिइनेछ । यसरी तालिम प्राप्त स्वयम्सेवकलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएर स्थानीय स्तरमा हुने घटनाको व्यवस्थापन गर्ने पहिलो प्रतिकार्य दस्ता बिकास गराउन थालिएको हो । यसका लागि वडा ६, ७ र २१ बाट स्वयम्सेवक गठन भई नाम आइसकेको, बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिनुभयो । हामी महानगरभित्रको विपद्मा तत्काल खटिने सक्ने १,२८० जना दक्ष उद्धारकर्मी तयार गर्ने तयारीमा लागेका छौं, संयोजक शाक्यले बताउनुभयो । यी जनशक्तिले बिपद पूर्व तयारी तथा प्रतिकार्यको काम गर्नेछन् ।

DSC_5755नागरिकको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी हो, महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगाले भन्नुहुन्छ — सबै वडाबाट नाम प्राप्त भइसकेपछि हामी तालिम शुरु गर्छौं । हामीले तयार पारेका स्वयम्सेवकमार्फत हामी हरेक घरमा पुग्ने प्रयास गर्नेछौं । महानगरले विपद् पूर्व तयारी तथा तत्काल राहत उद्धारमा काम गर्न महानगर आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिसकेको छ । राष्ट्रिय सभा गृहमा रहेको यस केन्द्रले अहिले अहिले वडा स्तरीय अग्नि नियन्त्रण सम्बन्धी सैद्धान्तिक तथा ब्यबहारिक तालिमसँगै प्राथमिक उपचार सम्बन्धी एक दिने अनुशिक्षण तालिम दिइरहेको छ । वडा बिपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समितिका पदाधिकारीहरुलाई तालिममा सहभागी गराइएको छ । अहिले सम्ममा २० वटा वडाका पदाधिकारीलाई दिइसकिएको यो तालिम सकिएपछि ४४८ जना अर्ध—दक्ष तालिम प्राप्त जनशक्ति तयार हुने, कार्य सञ्चालन केन्द्रका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार वडा ५, ६, ७, ८, ९, १२, १५, १६, १८, १९, २०, २१, २३, २४, २६, २७, २८, २९, ३० र ३२ का लागि तालिम सकिएको छ । त्यस्तै वडा ६, ७ र २१ मा बिपद उद्धार तथा अग्नि नियन्त्रक स्वयसेवक गठन भइसकेको छ ।

केन्द्रले बिपद ब्यबस्थापन अन्तर्गत पूर्व तयारीका लागि अनुशिक्षण सञ्चालन गरेको हो । केन्द्रका प्रमुख भट्टराई एक तथ्याङ्क उधृत गर्दै भन्नुहुन्छ — बिपद पूर्व एक रुपैयाँमा हुने काम बिपदको समयमा सात रुपैयाँ खर्च गर्नु पर्छ । त्यसैले हामी बिपदको समयमा नागरिकमा हुने पीडाको पूर्वानुमान गरेर क्षति र आर्थिक दायित्व कम गर्ने गरी काम गरिरहेका छौं ।

महानगरका सबै वडामा १४ सदस्यीय बिपद ब्यबस्थापन तथा नागरिक सुरक्षा समिति गठन भइसकेको छ । यस समितिमा ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्व छ ।

 

यसमा तपाइको मत