राम्राबीचको अझ राम्रो छनौट नै स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा — मेयर शाक्य



सहरका जीवन्त समस्या समाधानका लागि प्रविधिमा आधारित समाधान खोज्ने प्रयासमा १४२ समूह



चन्द्रमणि भट्टराई
माघ २४



DSC_5807काठमाडौं । काठमाडौंको सहरी व्यवस्थापनमा महानगर जिम्मेवार ढङ्गले काम गरिरहेको बताउँदै मेयर बिद्यासुन्दर शाक्यले — यस प्रकारको जिम्मेवारीमा प्रबिधिलाई जोड्न खोजिएको बताउनु भएको छ । बिहीबार राष्ट्रिय सभा गृहमा स्मार्ट सहरी प्रतिस्पर्धामा छनौटमा परेका १४२ समूहका लागि आयोजना गरिएको प्रतिस्पर्धा परिचात्मक कार्यक्रममा बोल्दै मेयर शाक्यले — सहरका समस्या समाधानमा युवाहरुको सोच आकर्षण गराउनु प्रतिस्पर्धाको लक्ष्य रहेको बताउनुभयो । ‘‘एकातिर धेरै युवाहरु नेपालमा सम्भावना छैन, भन्दै विदेशिनुहुन्छ । अर्कोतिर कतिपय बिदेशीहरु काठमाडौंमै बसेर मनग्गे आम्दानी गरिरहनु भएको छ ।” मेयर शाक्यले थप्नुभयो — “अरुले आय आर्जन गर्न सक्ने ठाउँमा आफ्नै देशका युवालाई समस्या समाधानका उपाय खोजेर उद्यमी बन्न सक्ने बनाउन चाहन्छौ ।”

प्रतिस्पर्धाका बिषयमा बोल्दै सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले — प्रतिस्पर्धामा आउने सोच बिज्ञानको प्रयोगशालामा सिद्ध गरेर ल्याउनेभन्दा प्रयोगमा आएका अभ्यासलाई स्थानीयकरण गर्न सकिने बताउनुभयो । सहरलाई सुधार्ने अरु पनि काम हुँदैछन्, ती कामलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई जोड्न खोजेका हौं । उहाँको भनाइ थियो ।

प्रतिस्पर्धामा आउने सोच, स्थानीयबासीको आचरण अनुकुल, बिक्री योग्य, लगानी थोरै भए पनि प्रतिफल लामो समयसम्म दिइरहने, जनताले दिनदिनै भोगिरहेका समस्यालाई समाधान गर्न सक्ने क्षमताका हुनुपर्नेमा जोड दिँदै सामाजिक उद्यमी अनिल चित्रकारले — गाईलाई प्रतीकका रुपमा चित्रित गर्नुभएको थियो । घाँस खाएर दूध दिने गाई यसको उदाहरण हो । १५ मिनेट चार्ज गरेर २ दिन चल्ने मोबाइल अर्को उदाहरण हो । साइकल चलाएर बिजुली बल्दा, चलाउञ्जेल चल्ने, नत्र निभ्ने सोच पुराना हुन् । चित्रकारको भनाइ थियो । कार्यक्रमका अर्का बक्ता इन्टरप्रेनर्स फर नेपालका संस्थापकमध्येका एक आशुतोष तिवारीले — एक पटकको हारमा आत्तिनु नहुने र ज्ञानभन्दा आत्मबिश्वाश धेरै हुनु पर्ने सुझाव दिनुभयो । धेरै जिज्ञासाले समाधान खोज्न सजिलो हुन्छ, त्यसैले जिज्ञासु बन्नोस्, प्रतिस्पर्धीलाई उहाँको सुझाव थियो ।

त्यस अवसरमा योङ् इनोभेसन्सका प्रमुख कार्यकारी बिभुषण बिष्टले — प्रतिस्पर्धाका चरण, ची चरणमा महानगरबाट प्राप्त हुने सहयोग, महानगरको जिम्मेवारीमा नपर्ने दायित्व, लगानीका सम्भावनाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

विद्यमान सहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौं महानगरले गएको मंसिर २६ गते एक औपचारिक कार्यक्रम आयोजना गरेर “स्मार्ट अर्बन टेक्नोलोजी च्यालेन्ज २०१८— स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” का लागि सोच आव्हान गरेको थियो । समुदाय तथा वातावरण, सहरी पूर्वाधार बिकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी ४ क्षेत्रलाई प्रतिस्पर्धाका मुख्य विषय राखेर गरिएको आव्हानबाट ४५२ समूहले सोच दर्ता गराएका थिए । तीमध्ये १४२ वटा सोच छनौटमा परेका छन् । अवसरको अभावका स्वरोजगार बन्न बिकल्प सोचेर बसिरहेका युवा लक्षित यो कार्यक्रम उद्यमशीलता प्रबद्र्धन गर्न सक्ने सामुहिक प्लेटफर्मका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ । त्यस्तै प्रतिस्पर्धाबाट साधारण तर नौला र केही जटिल तर सम्भब हुने गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएको छ । यस प्रतिस्पर्धामा योङ् इनोभेसन्स, नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, दायित्व, अन्तर प्रेरणा, ग्लोवल इन्टरप्रेनरसिप नेटवर्क, कारखाना र किन्स कलेज नोलेज पार्टनरका रुपमा सहभागी छन् ।

६ महिनासम्म चल्ने यस प्रतिस्पर्धामा गएको पुष ३० गतेसम्म सोच दर्ता गर्ने समय दिइउको थियो ।


प्रतिस्पर्धाका चरण


प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुनेछ । महानगरले प्रतिस्पर्धाबाट यसप्रकारका प्रतिफलको अपेक्षा गरेको छ । त्यस्तै महानगरपालिकाले प्रदान गर्ने सेवामा चुस्तता एवं पारदर्शिता कायम हुने र सामाजिक न्यायमा आधारित सुविधा वितरणमा सहयोग पुग्ने आशा गरिएको छ ।

प्रतिस्पर्धाका मूख्य ४ विषय र त्यसभित्र पर्ने २८ क्षेत्रमा प्रतिस्पर्धीले नविन सोच प्रस्तुत गर्नेछन् । ६ चरणमा सम्पन्न हुने प्रतिस्पर्धामा सोच छनौट गर्दा बिषयको महत्व, उत्पादन क्षमता, ब्यवसायिक नमूना, बिस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारलाई सूचक मानिएको छ । तोकिएको मापदण्ड अनुसार मुल्यांकन गरी कुल अंकमध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने समूह बिजेता बन्नेछ ।

छनौटमा परेका समूहलाई बिज्ञ समूहबाट करिब ३ महिना नियमित तालिम दिइनेछ । तीमध्ये ४ विषयका २४ समूह प्रतिस्पर्धी अन्तिम चरणमा पुग्नेछन् । उनीहरुलाई प्रदान गरिने विशिष्ट प्रकारको तालिमबाट सोचमा निखार ल्याइनेछ ।

पुरस्कार
उत्कृष्ट सोचलाई अर्थात् च्यालेन्जको विजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो । त्यस्तै प्रतिस्पर्धाका ४ वटा विषयगत विजेतालाई प्रति समूह २ लाख रुपैयाँ र उपबिजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

 

यसमा तपाइको मत