जनप्रतिनिधिलाई कुटनीतिक ज्ञान र शिष्टाचारका व्यबहारिक पक्ष थाहा हुनु पर्ने

कुटनीतिज्ञहरुको जनप्रतिनिधिलाई सुझाब — कसैको प्रतिक्रिया सुन्ने बित्तिकै प्रतिक्रिया नजनाउनु

 

चन्द्रमणि भट्टराई
माघ १९

 

DSC_4590काठमाडौं । जनप्रतिनिधिलाई धेरै आँखाले पछ््याइरहेका हुन्छन् । त्यसैले जनप्रतिनिधिले बोल्ने शव्द र गर्ने आचरण शिष्ट हुनु पर्ने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — कुटनीति ज्ञान लिन र शिष्टाचारमा सचेत रहन आग्रह गर्नुभएको छ । शुक्रबार र शनिबार (माघ १८ र १९) गते महानगरले जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुका लागि गोदावरीमा आयोजना गरेको राष्ट्रिय अन्तरराष्ट्रिय शिष्टाचार र व्यवहारिक पक्ष विषयक अभिमुखीकरणका तालिमको उद्घाटन गर्दै मेयर शाक्यले यस्तो बताउनुभएको हो । राजनीति गर्नेले म जान्दिन भन्न मिल्दैन । मैले बुझेको छैन भन्न पाइँदैन । उसले भेट्नु पर्ने व्यक्ति र गर्नु पर्ने आचरणको सीमा हुँदैन त्यसैले हरेक जनप्रतिनिधिका लागि शिष्टाचार सम्बन्धि ज्ञानको खाँचो हुने उहाँको तर्क थियो । कुटनीतिक ज्ञानले समकक्षी र प्रतिक्रियात्मक पक्ष (काउन्टर पार्ट) सँगको सम्बन्ध मिलाउन काम दिन्छ । यसले राजनीतिकर्मी उचाइलाई बढाउँछ, उहाँले महानगगरका जनप्रतिनिधिलाई यस विषयका क्षमतावान बनाउन अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो ।

सोही अवसरमा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — बिकासको नेतृत्व गर्नेलाई शिष्टाचारले अङ्क बढाउने बताउँदै शिष्टाचार सबैलाई चाहिने त्यसमा पनि राजनीतिकर्मीलाई त झन चाहिने धारणा राख्नुभयो । कार्यक्रममाको उद्घाटन सत्रमा आउनु भएका गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले — कर्मचारीलाई कुटनीति बुझ्ने पर्याप्त अवसर हुने तर जनप्रतिनिधलाई त्यस प्रकारका अवसर कमै मात्र प्राप्त हुने बताउँदै महानगरले आयोजना गरेको कार्यक्रमबाट आफू पनि प्रभावित भएको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

DSC_4612जनप्रतिनिधि र कर्मचारी प्रतिस्पर्धी होइनन् । कर्मचारीले सधैं जनप्रतिनिधिको सहयोगी भएर काम गरिरेहेको प्रसङ्गलाई शिष्टाचारसँग जोड्दै महानगरका सहसचिव डा. टोकराज पाण्डेले राष्ट्रिय अन्तरराष्ट्रिय मञ्चमा सहभागी हुन जानेले देशको गरिमा बोकेर जाने भउकोले पनि शिष्टाचार जनप्रतिनिधिका लागि जरुरी भएको बताउनुभयो । तालिममा बाबुराम ढकालले — राष्ट्रिय अन्तरराष्ट्रिय कुटनीतिक बिषयका कानुनी पक्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने मधुरवण आचार्यले — वार्ता र संवाद प्रस्तुतीकरणका विषयमा र दीपक अधिकारीले शिष्टाचार र अतिथि सत्कारका सैद्धान्तिक एवं व्यवहारिक पक्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तोताहरु परराष्ट्रबिद हुनुहुन्छ ।

उहाँहरुको कार्यपत्र प्रस्तुतिपछि जनप्रतिनिधिहरुले — नागरिकसँगको दैनिक सेवा प्रवाहमा आवश्यक पर्ने कुटनीति (शिष्टाचार), अन्तर नगर, राष्ट्रिय र अन्तरराष्ट्रिय शिष्टाचारका फरकमा जिज्ञासा तथा अनुभव राख्नुभएको थियो । सो क्रममा प्रस्तोताहरुले जनप्रतिनिधिहरुलाई, नबुझी (आफ्नो हैसियतमा) हस्ताक्षर नगर्न र कसैको टिप्पणीमा तत्काल प्रतिक्रियात्मक नबन्न सुझाव दिनुभएको थियो ।

अभिमुखीकरणमा अन्तरदेशीय सम्बन्ध स्थापना र सञ्चालन, बैठक, वार्ता तथा भेटघाट गर्दा लगाउनु पर्ने पोशाक, त्यस क्रमका हिँडाइ, बसाइ, लवाइ, खवाइ, मर्यादाक्रमको पालनाजस्ता कुरामा चर्चा गरिएको थियो । त्यस्तै कार्यस्थल र कार्यालयहरुबीच पनि एक प्रकारको कुटनीतिक सम्बन्ध हुने कुरा उठाइएको थियो ।

कुटनीतिक सम्बन्ध देश—देशका बीचमा स्थापना हुने गरेको छ । यसरी दुई देशबीच हुने सम्बन्धलाई वाइलेटरल, तीनदेशका बीच हुने सम्बन्धलाई त्रिलेटरल, धेरै देशसँग हुने सम्बन्धलाई मल्टीलेटरल डिप्लोमेसी भन्ने गरिन्छ । त्यस्तै मिलिटरी डिप्लोमेसी पनि प्रयोगमा पाइन्छ । यस प्रकारको कुटनीतिक सम्बन्धमा शक्ति सन्तुलन र भू—राजनीतिक विषय प्रमुख हुन्छन् । त्यस्तै पुँजी र प्रविधिको अभाव पूरा गर्न अन्तरदेशीय सम्बन्धलाई उपयोग गरेर लगानी बढाउने कुरा पनि यसैभित्र पर्छ ।

यो कानुनी बिषय पनि हो । तर कुटनीति कानुनले मात्र चल्दैन । कुटनीति भनेको राजनीतिक बिषय पनि हो । त्यसैले कहिलेकाहीँ कुटनीतिमा कानुन सहायक मात्र पनि बन्न सक्छ । कुटनीतिको यो आधारभूत पक्ष बुझ्न सक्यो भने जनप्रतिनिधिलाई सेवा व्यवस्थापन गर्न सजिलो हुन्छ । शासन सञ्चालन पनि कुटनीति भित्रै पर्छ । यहाँ जालझेलभन्दा समकक्षीलाई चित्त बुझाएर आफ्ना मुद्दामा सहमत गराउने पक्ष प्रधान हुन्छ ।

 

यसमा तपाइको मत