आकाशे पुलको प्रयोग बढाउन अभियान

बाहिरबाट आउनेहरुका लागि महानगरको व्यवस्था थाहा नहुन सक्छ, त्यसैले अभियान चलाउनु परेको हो — मेयर शाक्य

चन्द्रमणि भट्टराई
पुष २३

काठमाडौंं । काठमाडौं महानगरले आइतबारबाट आकाशे पुलको प्रयोग प्रवर्धन गर्न अभियान थालेको छ । आकाशे पुल हुँदा हुदै मुल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको हो ।

DSC_0428

कादम्बरी मेमोरियल कलेजका बिद्यार्र्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा चल्ने अभियानलाई आइतबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुरुवात् गर्नुभयो । रत्नपार्कबाट बागबजार जाने आकाशे पुलको मुखमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले भन्नुभयो — आकाशे पुलको प्रयोग गर्नोस् भनेर अभियान नै चलाउनु पर्ने त होइन तर काठमाडौंबाहिरबाट काठमाडौं आउने आगन्तुकलाई यहाँको व्यवस्था थाहा नहुन सक्छ । त्यसैले अभियान नै चलाउनु परेको हो । उहाँका अनुसार, जानेकोको कुरा पालना नगर्ने सहरबासीको बानीले सहरी व्यवस्थापनमा केही समस्या भएको छ । व्यस्त सडक पार गर्नु जोखिमपूर्ण छ, जान्दाजान्दै सडक पार गर्ने बानीले सडक दुर्घटनाको खतरा बढेको छ ।

कार्यक्रमपछि मेयर शाक्य, प्रवक्ता इश्वरमान डंगोल, वडा २८ का अध्यक्ष भाइराम खड्गीलगायत सहभागीहरु आकाशे पुल चढेर अवस्था हेर्नुभएको थियो । त्यस क्रममा मेयर शाक्यले, आकाशे पुलको अवस्था, समस्या र नागरिकले चाहना गरेको कुराका विषयमा पैदलयात्रुसँग कुराकानी गर्नुभएको थियो । कुराकानीका क्रममा पैदलयात्रुले, पुलमाथि बत्ती नभएकोले असुरक्षित भएको, जथाभावी फोहोर गर्ने र व्यापार गर्नेका कारण आवतजावतमा समस्या पर्ने गरेको लगायत समस्या राखेका थिए । उनीहरुले भने — साँझको बेला एक्लै यो बाटो हिँड्नेले यसको वास्तविक समस्या थाहा पाउँछन् ।

यस अभियानमा महानगरमा भएका ९ वटा आकाशे पुलका हरेक मुखमा बिद्यार्थीहरु बस्नेछन् । यसअनुसार उनीहरु २२ स्थानमा रहनेछन् । यसका लागि ५० जना बिद्यार्थी खटिनेछन् । महानगरको सहरी शुशासन बिभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यो अभियान हरेक दिन मध्यान्ह २ बजेदेखि साढे ४ बजेसम्म ७ दिन चल्नेछ ।

यसमा तपाइको मत