ऐतिहासिकता र आधुनिकता मिश्रित धरहराको शिलान्यास

अब उमेर ढल्केका मानिसले पनि धरहराको टुप्पाबाट सुन्दर काठमाडौं हेर्न पाउने — प्रधानमन्त्री

चन्द्रमणि भट्टराई
पुस १२

DSC_9274काठमाडौं । आउँदो २ बर्षभित्र निर्माण सम्पन्न लक्ष्यसहित, बिहीबार धरहरा पुननिर्माणको शिलान्यास भएको छ । साबिकको धरहरा रहेको स्थान सुन्धारामा आयोजना गरिएको औपचारिक कार्यक्रम माझ प्रधानमन्त्री के. पि. शर्मा ओलीले भूमिपूजन, पुननिर्माण शिलान्यास र ताम्रपत्र अनावरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्व कायम रहने गरी हेर्दा उस्तै तर बलियो धरहरा निर्माण हुन लागेको बताउनुभयो । आधुनिक प्रविधिसहित निर्माण हुने भएकोले यो बलियो हुन्छ । पाको उमेरका मानिस पनि यसको टुप्पामा पुग्न सक्छन् । प्रधानमन्त्री ओलीले भन्नुभयो — त्यहाँबाट काठमाडौंको सुन्दरता हेर्न पाउने र टुप्पामा पुगेका बेला धरहरा ढलेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । धरहरा पुननिर्माणसँगै प्रधानमन्त्री ओलीले काठमाडौंको स्वच्छताका विषयलाई पनि प्राथमिकता दिनुभयो । काठमाडौंलाई सफा, सुन्दर र हरियाली बनाउन महानगरलाई नागरिक र विकास साझेदारले साथ दिनु पर्ने उहाँको भनाइ थियो ।

धरहरा पुननिर्माण गर्ने क्रममा धेरै मुद्दा मामिला छन् । यीमध्ये केही संस्थाका नाममा छन् केही व्यक्तिले खेप्नु पर्ने छन् । कार्यक्रममा कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — यसमा आफू विरुद्ध पनि मुद्दा रहेको खुलाउनुभयो । यसका बाबजुद निर्धारित समयमा निर्माण सम्पन्न गराउन महानगरले खेल्नु पर्ने भूमिकामा कमी नहुने उहाँको भनाइ थियो । काठमाडौं महानगरसँग महानगरबासीले सम्पदाको पुननिर्माणसँगै सहरी व्यवस्थापनका धेरै पक्षमा सुधारको अपेक्षा गर्नुभएको छ । मेयर शाक्यले थप्दै भन्नुभयो — हामी सहरलाई धुलोमुक्त बनाउन सडक बढार्ने र पखाल्ने काम गर्छौं । निर्माण कार्य गर्ने व्यवसायीले सडकमा धुलो पोख्दै सवारी गुडाउनुहुन्छ । यो काम धरहरा पुननिर्माणका क्रमममा देखिनु हुँदैन । यससँगै धरहरा पुननिर्माण कार्यले स्थानीय भावना, कला संस्कार र संस्कृतिमा चोट पुग्नु हँुदैन ।

DSC_9408उद्घाटन समारोहमा बोल्दै पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले — धरहरा पुननिर्माणलाई सबैले स्वीकार गर्न सक्ने बनाउने कुरामा आफू सचेत रहेको बताउनुभयो । यस क्षेत्रबाट शव यात्रा गराउने बाटो छ, त्यो कुरासमेतलाई हामी संरचनामा समेट्छौं, उहाँको भनाइ थियो ।

२०७२ फागुन ४ गतेको ’ऐतिहासिक धरोहर पुनर्निर्माणमा संकल्प’ कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गर्नुभएको थियो । नागरिकको रकमबाट धरहरा निर्माणको उद्घोेष गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब ६१ हजार ८ सय २० रुपैयाँ पुनर्निर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गर्नुभएको थियो । यसपछि विभिन्न संघसंस्था र व्यक्तिले धरहरा पुनर्निर्माण कोषमा रकम जम्मा गरेअनुसार यस अवधिमा करिब २४ करोड रुपैयाँ सङ्कलन भएको छ । तर, ३ वर्षको यो अवधिमा धरहरा पुननिर्माण शुरु हुन सकेन । अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाईमा धरहरा पुननिर्माण शुरु भएको छ । ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँ लागत भएको यो परियोजना जिआइइटीसि रमन जेभी कम्पनीले पाएको छ ।

अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर (२५७.४ फिट) अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्र भित्र २२ तला हुनेछन् । तीमध्ये २० औं तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ । लिफ्टमा चढेर २० औं तलामा पुगेपछि त्यहीबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरासम्बन्धि संग्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ ।

धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ् हुनेछ । त्यस्तै परिसरमा बगैंचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ ।

धरहराको पुननिर्माा सकिएपछि यसलाई बसन्तपुरसँग जोडेर पर्यटन व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत