मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना तयार गर्न सम्झौता

नेपाली सन्दर्भमा मोनोरेल नयाँ प्रयोग हो, काम अघि बढिसक्यो, समयमा नै काम सकिन्छ — मेयर शाक्य

चन्द्रमणि भट्टराई
पुष ४

DSC_8161काठमाडौंं । काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न चीनको चाइना रेल वे २५ औं व्युरो ग्रुप कम्पनीसँग बुधबार सम्झौता भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक कार्यक्रमबीच महानगरका प्रमुख विद्यासुन्दर शाक्य र रेल वे कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङ्बिङ्बीच सम्झौता भएको हो । विस्तृत परियोजना प्रतिवेदनमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मुल्याङ्कन (इआइए) गर्ने, मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनका चरण र लाभ विश्लेषण हुनेछ । विस्तृत परियोजना प्रतिवेदनमा प्राप्त भएको विवरण पूर्ण वा आंशिक स्वीकार गर्ने अधिकार काठमाडौं महानगरको हुनेछ । डिपिआर तयार पार्दाको लागत सिसिआरसिले नै व्यहार्नेछ ।

सम्झौता पत्रमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो — मोनोरेल सञ्चालन गर्नु हाम्रा लागि नौलो कुरा हो । हामीले चुनावी घोषणा पत्रमा मोनोरेल सञ्चालनका विषयमा जे भनेका थियौं, त्यसै बमोजिम नै काम गरिरहेका छौं । अहिलेसम्म यो विषय जान्ने प्राबिधिक जनशक्तिको अभाव थियो । त्यसैले भनेको समयमा परिणाम देखाउन नपाइएको हो । तर काम रोकिएको छैन । उहाँले लागत सहभागिताको सन्दर्भ उठाउँदै भन्नुभयो — विस्तृत परियोजना प्रतिवेदन तयार पार्दा लाग्ने खर्च सिसिआरसिले नै व्यहोर्ने छ । यसमा महानगर वा सरकार कसैको पनि लागत सहयोग छैन । समारोहमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले — सोचेकोभन्दा छिटो र आफ्नै कार्यकालमा मोनोरेल सञ्चालन हुने आशा व्यक्त गर्नुभयो । काठमाडौंमा मोनोरेल चलाउने हाम्रो प्रतिवद्धता हो, त्यसलाई पूरा गर्छौ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भाग लिने क्रममा सहरी यातायात सुधारका लागि मोनोरेल चलाउने प्रतिवद्धता अब पूरा हुन्छ, कार्यक्रमलाई सम्बोधन गर्दै महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — मोनोरेल चलाउने बिषयमा सबैबीच साझा मत रहेको धारणा राख्नुभयो ।

हामी तोकेको समयभन्दा अगावै र सोचेकोभन्दा गुणस्तरीय ढङ्गबाट जिम्मेवारी पूरा गर्छौ । कार्यक्रममा बोल्दै रेल वे कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झ्यु ग्वाङ्बिङ्ले — सम्भाव्यता अध्ययन कार्य पनि तोकेको समय अगावै सम्पन्न गरेको विगत सुनाउनुभयो ।

काठमाडौंमो मोनोरेल सञ्चालनका लागि यस अघि सिसिआरसिले नै सम्भाव्यता अध्ययन गरेको हो । आर्थिक, प्राविधिक तथा सहरी यातायात व्यवस्थापनको दिगोपना जस्ता पक्षमा गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन गएको भदौ २८ गते महानगरलाई बुझाएको थियो । मोनोरेल निर्माण, सञ्चालन, व्यवस्थापन अध्ययनका आधार थिए । सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्म सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथमा पैदल मार्गभित्रको दोश्रो लाइनमा मोनो रेल चलाउन सक्ने देखाएको छ । विस्तृत परियोजना प्रतिवेदन पनि यसैका आधारमा तयार हुनेछ ।

सम्भाव्यता अध्ययनका लागि २०७५ बैशाख २० गते आशय पत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो । सम्झौताबमोजिम अध्ययन गर्न ६ महिनाको समय दिइएको थियो तर कम्पनीले तोकिएको समयभन्दा ३ महिना अघि नै अध्ययन सम्पन्न गरेको हो । साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगर क्षेत्रमा करीव १० किलोमिटर सडक पर्छ । चक्रपथ अहिलेको अवस्था आँकलन गरि ३ चरणमा निर्माणका काम गर्दा उपयुक्त हुने सम्भाव्यता अध्ययनले देखाएको छ । भर्खरै चक्रपथ सुधार एवम विस्तार भएको कोटेश्वरदेखि कलंकी खण्डमा पहिलो चरणमा, कलंकीदेखि महाराजगञ्जसम्म दोश्रो चरणमा र महाराजगञ्जदेखि कोटेश्वरसम्म तेश्रो चरणमा काम गर्दा उपयुक्त हुन्छ । त्यस अध्ययनले देखाएको लागत अनुमान करीब १ खर्ब १६ अर्ब रुपैयाँ हो ।

महानगरका प्रमुख शाक्यका अनुसार यो परियोजना लगानी, इञ्जिनियरिङ्, निर्माण, सञ्चालन व्यवस्थापन र हस्तान्तरण मोडेलमा अघि बढाइएको परियोजना हो । यसमा निर्माण पक्षले नै लगानी गर्ने, ढाँचा तयार पार्ने, निर्माण गर्ने, सञ्चालन व्यवस्थापन गर्ने काम गर्छ र निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्छ ।

 

यसमा तपाइको मत