महानगरको ३१ वडामा ६१ करोडको काम हुँदै, थप समृद्धिका लागि बिज्ञ समूह गठन

चुनावमा राजनीति दलको झण्डा बोके पनि अन्य समयमा विकासको झण्डा बोकौं — मेयर शाक्य


चन्द्रमणि भट्टराई
मंसिर १५

DSC_3254 (1)काठमाडौंं । काठमाडौं महानगरको वडा ३१ एउटै वडामा चालु आर्थिक बर्षमा करीव ६१ करोड रुपैयाँमा पूर्वाधार निर्माणको काम भइरहेको छ । यसमा संघ सरकारको ४८ करोड, प्रदेश सरकारको १० करोड र महानगरको ३ करोड रुपैयाँ बजेट छ । शुक्रबार वडा विकासको बार्षिक समीक्षा, रणनीतिक कार्ययोजना तथा बिज्ञसमूह गठन सम्बन्धि कार्यक्रममा वडाको पूर्वाधार निर्माणको एकीकृत योजनाका विषयमा प्रदेश सभा संसद गणेश दुलालले यस्तो जानकारी दिनुभएको हो ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले सहरी व्यवस्थापनका लागि सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउँदै लगेको र समृद्धिका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । यो बर्ष महानगरको पूर्वाधार बर्ष हो । हामी गुणस्तरीय पूर्वाधारबाट समृद्धि र जीवनयापन पद्धतिमा सुधार गरिरहेका छौं तर केहीले अल्मल्याउन खोजिरहनु भएको छ । यसमा सचेत भएर अघि बढिरहेका छौं । मेयर शाक्यले, राजधानी सहर व्यवस्थापन गर्न आफूसँग योजना पनि भएको, पैसा पनि भएको बताउँदै सबै मिलेर काम गर्ने संस्कृति नभएकोले असजिलो व्यहार्नुपरेको अनुभव सुनाउनुभयो । म महानगरबासीको शिर झुक्ने काम गर्दिन, त्यसैले आलोचनालाई पनि सुझावका रुपमा लिएको छु, मेयर शाक्यको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य गणेश दुलालले वडाभित्र रहेको ५५ रोपनी साविक ट्रलीबस सञ्चालन भएको जमिनलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुपर्ने बताउँदै अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र आसपासका क्षेत्रको सवारी आवागमन व्यवस्थापनलाई दृष्टिगत गरेर नगर विकास कोषसँगको सहकार्यमा लिफ्ट पार्किङ्को डिपिआरको काम भइरहेको बताउनुभयो । बाग्मती कोरिडोर खोल्न सकुम्बासी समस्या समाधान गर्नु पर्ने प्रसङ्ग उल्लेख गर्दै उहाँले — बडा भएर बग्ने बाग्मती नदी किनारामा ४७५ घर रहेको, तीमध्ये ११५ घर बनाउने धनी आफ्नै घरमा बसेर त्यहाँ अरुलाई भाडामा दिएको, ८६ घरधुरी निर्माण गरेर १५ लाख रुपैयाँसम्मा विक्री भएको तथ्याङ्क उल्लेख गर्दै वास्तविक सकुम्बासी ५ प्रतिशत भएको र तिनलाई महानगरकै प्रयासमा व्यवस्थापन गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ्ले — नागरिकबाट आएका सवाल र जिज्ञासाको जवाफ दिएर भन्दा विकास गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गरेर अगाडि बढ्ने बताउनुभयो । समस्या साझा हुन्, तिनलाई साझा सोचबाट व्यवस्थापन गरौं, उहाँको भनाइ थियो ।

DSC_3214कार्यक्रममा वडाध्यक्ष नारायण भण्डारीले — आउँदो असारमसान्तपछि कोही पनि नागरिकले हिलो धुलो कुल्चिएर घरमा प्रवेश गर्नु नपर्ने गरी सडकमा कालोपत्रे गर्ने र ढुङ्गा छाप्ने काम भइरहेको बताउनुभयो । फोहोरमैला व्यवस्थापनलगायत जनताको सहभागिता हुने केही कार्यक्रम छन् त्यसका लागि आफूले पूर्वाधार तयार गरी नसकेकोले प्रस्ताव ल्याउन सकिएको छैन । पूर्वाधार तयार भएपछि अभियान सञ्चालन प्रस्ताव अघि सार्ने वडाध्यक्ष भण्डारीको भनाइ थियो । समीक्षा कार्यक्रममा वडा सचिव सुरेश साहुले गएको बर्ष र चालु आर्थिक बर्षको सम्पन्न अवधिमा भौतिक पूर्वाधार तथा विकास, राजस्व संकलनलगायतका क्षेत्रमा भएका कामको प्रगति प्रस्तुत गर्नुभएको थियो ।

महानगरको ३१ वडा, प्रदेश निर्वाचन क्षेत्रका दृष्टिले नेपालकै एक वडा एक निर्वाचन क्षेत्र भएको वडा हो । उच्च जनघनत्व भएको यस वडाको सिमाना पूर्वमा बागमती नदी, पश्चिममा देवकोटा सडक, उत्तरमा बाबुराम आचार्य सडक र दक्षिणमा ललितपुर महानगरपालिका पर्छ । २३२.१ हेक्टर जमिन क्षेत्रफलमा फैलिएको वडामा करीब १ लाखभन्दा बढी जनसंख्या छ भने १५ हजार घरधुरी छन् । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र नेपालकै एक मात्र निजामति सेवा अस्पताल यसै वडामा हुनुले वडाको गरिमा बढाएको छ ।

वडामा जनप्रतिनिधि आइसकेपछि अहिलेसम्ममा पूर्वाधारतर्फ ५० वटा योजना सम्पन्न भइसकेका छन् । गएको बर्ष ६ करोड ६ लाख ५ ह्ज्ँर २६८ रुपैयाँ नौ पैसा राजस्व संकलन गरेको वडाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ३ करोड ६० लाख ४३ हजार २९ रुपैयाँ ८० पैसा राजस्व संकलन गरिसकेको छ ।

वडाको विज्ञ समूह

आफ्नो क्षेत्रको भौतिक तथा सामाजिक समृद्धिका लागि वडा ३१ ले पछि आउने नाम समेट्ने गरी ७ जना विज्ञको नाम प्रस्ताव गरेको छ । प्रस्तावित बिज्ञहरुमा प्रा. डा. जीवेन्द्रदेव गिरी, तेजबहादुर ढकाल, केशव घिमिरे, गोबिन्द गौत्तम, धनराज सापकोटा, जीवनाथ पोख्रेल र केदार कोइराला हुनुहुन्छ ।

वडाको स्वास्थ्य सेवा, शिक्षा र शैक्षिक अवस्था सुधार, खानेपानी व्यवस्थापन, व्यक्तिको प्रतिव्यक्ति आय वृद्धि, वातावरणीय सुधार, शुशासन सेवा, युवा परिचालन, बालबिकास लगायत भौतिक र सामाजिक क्षेत्रमा आवश्यकता पहिचान गर्ने, योजना निर्माण गर्ने तथा बहुलाभका पक्ष पहिचान गर्ने काम विज्ञ समूहको हुनेछ । वडा अन्तर्गत रहेका बौद्धिक समूहसँग व्यापक छलफल गरि रणनीतिक योजना तर्जुमा गर्न बौद्धिक समूह गठन गर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ मा उल्लेख छ ।

DSC_3222वडाका बिशिष्टहरुको सुझाव

वडाले बौद्धिक समूह गठन आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रबाट सेवा निवृत्त पदाधिकारी, टोलसुधार समिति, उपभोक्ता समितिलगायत क्षेत्रगत रुपमा प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रम तालिका अनुसार दर्शकदीर्घामा रहनुहुने व्यक्तिलाई बोल्न दिने कार्यक्रम थिएन । जब वडाध्यक्ष नारायण भण्डारीले सम्पन्न कामको चर्चा गरेर बौद्धिक समूहको प्रस्तावित नाम उल्लेख गर्नुभयो त्यसपछि दर्शकबाट बोल्न पाउनु पर्ने माग आयो । पूर्वविशिष्टहरुसमेत रहेको दर्शकदीर्घाबाट माग आएपछि वडाध्यक्षले संक्षिप्तमा बोल्न आग्रह गर्दै अनुमति दिनुभयो ।

त्यसपछि पूर्व सहसचिव उद्धव तिमिल्सिना, महानगरका पूर्व प्रमुख तथा कार्यकारी अधिकृत सूर्यशरण रेग्मी, खुल्ला विश्वविद्यालयका डीन इन्द्र कार्कीलगायत १ दर्जन बढी व्यक्तिले वडाको समृद्धिका आवश्यकता र आफ्नो भूमिकाका विषयमा दृष्टिकोण राख्नुभयो । यस क्रममा कुकरको जमातले रातभरि सुत्न नदिएको, कुकरको दिशाले वातावरण प्रदुषित भएको, रुख विरुवाको अवस्थामा एकरुपता नभएको, जमिन किनेर त्यत्तिकै छोड्नाले अपराध बढेको, नागरिक दायित्व बढाउने काममा कमी भएको, राजनीतिक दलले सुकुम्बासी बस्तीलाई भोट बैङ्कका रुपमा जोगाएको जस्ता गुनासा राख्नुभएको थियो भने सबै मिलेर काम गरे समृद्धिमा पुग्न दिन नलाग्ने सम्भावना पनि देखाउनुभएको थियो ।

 

 

 

 

यसमा तपाइको मत