माघ १६
काठमाडौं । सहिद दिवसका दिन मंगलबार काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ् जली अर्पण गर्दै सहिदको सम्झना गरियो । यस अवसरमा प्रधानमन्त्री, सरकारका मन्त्रीहरु, सचिव, प्रधान सेनापतिसहित सुरक्षा निकायका प्रमुखहरु, महानगर कार्यपालिकाका सदस्यहरु, जनप्रतिनिधिहरुसँगै सर्वसाधारणको सहभागिता रहेको थियो ।
राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेवीच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।
माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।
वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताह विगत बर्षभन्दा यस बर्ष केही फरक रह्यो । सहिद सप्ताहका कार्यक्रममा जनप्रतिनिधिको सहभागिताले यस बर्षको कार्यक्रम फरक बनेको हो । यससँगै यस बर्ष श्रद्धाञ्जली सभाबाहेक विद्यालयस्तरीय निवन्ध लेखन प्रतियोगिता र स्वास्थ्य शिविर पनि सञ्चालन गरियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत महानगरको शिक्षा विभागले निबन्ध लेखन प्रतियोगिता र जनस्वास्थ्य महाशाखाले स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
Follow Our Author
No social network is added for the current author