कुकुरमाथि छुरा प्रहार, प्रहरीमा जाहेरी, घाइते कुकुरको उपचार हुँदै

पशु अधिकारकर्मीले पीडकको घर घेरे


चन्द्रमणि भट्टराई
कार्तिक २७

Police
घटनाको भोलिपल्ट मुचुल्का उठाइँदै

काठमाडौंं । काठमाडौं महानगरको वडा नंं ११ बबरमहल गणेश स्थान नजिक एक स्थानीयले सडकमा रहेको कुकुरलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सडकमा बस्ने कुकुरले आफ्नो घर नजिक आएर दिशा पिसाब गरेपछि आक्रोशित बनेका उनले कुकुरलाई खेदी खेदी चक्कु प्रहार गरे । प्रत्यक्षदर्शी २ जना स्थानीयलाई उधृत गर्दै पशुअधिकारका लागि काम गरिरहेको आथा नेपालकी कार्यक्रम संयोजक शोभा श्री भन्छिन् — कुकुर मन नपरेपछि उनले यस्तो हर्कत गरेका हुन् ।

उनले आइतबार बिहान साढे ६ बजेतिर कुकुरमाथि हतियार प्रहार गरेका हुन् । यो कुरा स्थानीयले देखिरहेका थिए । हतियार प्रहार भएपछि यो खवर वडाध्यक्ष हीरालाल तण्डुकारकोमा पुग्यो । खबर पाएपछि वडाध्यक्षले — आथा नेपालकी कार्यक्रम संयोजक शोभा श्रीलाई फोन गरेर तत्काल उपचार गर्न आग्रह गर्नुभयो । आथा नेपाल, सद्गुरु सेवा कुटुम्बको पशु अधिकार हेर्ने कार्यक्रम हो । यससँग काठमाडौं महानगरपालिकाले पशु जोखिम व्यवस्थापनमा काम गर्न सम्झौता गरेको छ ।

एकछिनमा पशुचिकित्सकसहितको टोली बबरमहल पुग्यो । त्यहाँ कुकुरको अवस्था सडकमा राखेर उपचार गर्न सकिने खालको थिएन । पेटदेखि खुट्टासम्म लामो काटिएको चोट थियो । त्यसपछि कुकुरलाई थप उपचारका लागि काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर बुढानिलकण्ठ लगियो । अहिले कुकुरको त्यहीँ उपचार भएरहेको छ ।

कुकुरमाथि स्थानीयबाट भएको यो व्यवहार ज्यादतीपूर्ण भएको जनाउँदै सोमबार ३५ जना पशु अधिकारकर्मीले ३ घण्टा पीडकको घर घेराउ गरे । यस क्रममा घरबाट कोही पनि बाहिर निस्किएनन् । त्यस क्रममा पुगेकी आथा नेपालकी कार्यक्रम संयोजक शोभाश्री भन्छिन् — वडाको रोहवरमा हामीले मुचुल्का उठाएका छौं । दोषीमाथि कारवाही गर्न महानगरीय प्रहरी वृत्त अनामनगरमा जाहेरी दिएका छौं । पीडकलाई कारवाही नहुञ्जेल दबाबका कार्यक्रम गरिरहन्छौं ।

यसमा तपाइको मत