शौचालयको कुरो पुगेन

दिशा पिसाब गर्ने ठाउँ र त्याग गरिएको दिशा पिसाब व्यवस्थापनको कुरा एकै पटक गर्नुपर्छ

चन्द्रमणि भट्टराई
कार्तिक २६

DSC_9914काठमाडौं । नेपालका शौचालयको उपलब्धता र प्रयोगसँग सम्बन्धित विषयमा चर्चा कम भएको सरोकारवालाले बताउन थालेका छन् । विश्वले सन् २०३० सम्ममा पूरा गर्नु पर्ने दिगो विकास लक्ष्य र स्थानीय स्तरमा गर्नु पर्ने पूर्ण सरसफाइका लागि शौचालयको कुरा नगरी हुँदैन । शिक्षा र चेतना, विकास र व्यवस्थापन, सेवासँग नागरिक सम्बन्ध, संस्कार र संस्कृतिजन्य क्रियाकलाप तथा वातावरण र सामाजिक सभ्यता जस्ता पक्षसँग सोझो सम्बन्ध भएको शौचालयको प्रयोग गर्ने बानीमा सुधार गर्न एकातिर शौचालय उपलब्ध हुन जरुरी छ भने अर्कोतिर यसका अन्तरपक्षसँगको विषयमा पनि कुरा गरिनुपर्छ । यो आवश्यकता छ तर त्यसलाई पूरा गर्न राजनीतिक प्रतिवद्धता, प्रशासनिक व्यवस्थापन र नागरिक तहमा सचेतना यी सबै पक्ष कमजोर छन् । उनीहरुको विश्लेषण छ ।

विश्व शौचालय दिवस २०१८ मनाउने विषयमा आयोजना गरिएको तयारी बैठकमा, पूर्व वातावरण मन्त्री गणेश शाहले कुरा सुनाउनै गाह्रो परिरहेको टिप्पणी गर्नुभयो । यो सबैलाई चाहिने कुरा हो, यो नभइ हुँदैन तर, कुरा गर्न मान्दैनन् । वास्तविकता यही हो ।

शौचालय मानवीय आधारभूत आवश्यकता भएको कुरा व्यक्तिगत तहमा महसुस गराउन हरेक बर्षको नोभेम्बर १९ तारिखका दिन विश्व शौचालय दिवस मनाउने गरिएको छ । यस बर्ष आउँदो मंसिर ३ गते यो दिवस परेको छ । यो दिवसलाई अभियानका रुपमा अघि बढाउनु पर्छ, सरकारका पूर्व सचिव भीम उपाध्याय नेपाल सफाइ अभियानको खाँचो देख्नुहुन्छ भने नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठानका प्रविधि संकायका प्रमुख डा रविन्द्र प्रसाद ढकाल शौचालयको उपयोग सुधार ल्याउन प्रविधिको प्रयोग बढ्नु जरुरी भएको बताउनुहुन्छ ।

विश्वमा शौचालय व्यवस्थापनका सम्भावना र चुनौतीका विषयमा खुलेर कुरा हुन थालेका छन् । यसैका विषयमा सम्मेलनमा पनि हुन्छन् । तर नेपालमा यो विषय प्राथमिकतामा परेको छैन, चिन्ताको विषय हो, शौचालय दिवस मनाउने तयारी गर्न भेला भएकाहरुको साझा चिन्ता हो ।



यसमा तपाइको मत