भगिनी सहर सम्मेलनमा भाग लिन मेयर उपमेयर चीन प्रस्थानः कार्यवाहक मेयरको जिम्मेवारीमा भरतलाल श्रेष्ठ

काठमाडौं महानगर “आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिफ सिटि आफ टिवेट अटोनोमस अवार्ड” का लागि मनोनित

चन्द्रमणि भट्टराई
कार्तिक २६

DSC_0070
भ्रमणमा निस्कनु अघि विमानस्थलको विशिष्ट कक्षमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी पत्र दिँदै मेयर शाक्य

काठमाडौंं । चीनको हुआन सहरमा १४ देखि १६ नोभेम्बर (कार्तिक २८—३०) सम्म आयोजना हुने “चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज कन्फरेन्स २०१८” मा भाग लिन महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी सोमबार चीन प्रस्थान गर्नुभएको छ । “विकासका अवसर र आपसी साझा जीत — सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन” विषयमा केन्द्रीत सम्मेलनमा चीनका सहरहरुसँग भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगर र संघ संस्थाबाट प्रतिनिधित्व हुँदैछ । चाइनीज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले सम्मेलनको आयोजना गरेका हुन् भने युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट (युसिएलजि) का सदस्यहरुसमेत सम्मेलनमा भाग लिँदैछन् । आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो ।यस सम्मेलनमा ल्हासा नगरले काठमाडौं महानगरलाई “आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिफ सिटि आफ टिवेट अटोनोमस अवार्ड” का लागि मनोनयन गरेको छ ।  

महानगरलाई सम्मेलनमा भाग लिन ल्हासा नगरले निमन्त्रणा गरेको हो ।

कार्यक्रम तालिका अनुसार मेयर शाक्य नेतृत्वको प्रतिनिधि मण्डल आज छेन्दु पुग्नेछ । भोलि ल्हासा नगरका उपप्रमुखसँग छेन्दुमा भेट गरी दुवै नगरका प्रतिनिधि मण्डल हुआन प्रस्थान गर्नेछन् ।

बुधबार, विहीबार र शुक्रबार सम्मेलनमा सहभागी भएर मेयरसहितको टोली शनिबार स्वदेश फर्कनेछ । यस अवधिमा महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ । उहाँलाई उमेरको जेष्ठताका आधारमा कार्यवाहक दिइएको हो ।

 

यसमा तपाइको मत